October 27, 2021

Nepal 1st Online News

प्रहरीको जागिर छोडेर कपडा पसल गरे, आगोले केहीक्षणमै खरानी बनाइदियो

झापा बिर्तामोडको मुक्ति चोककै छेउमा रहेको थापा मार्केटमा शुक्रबार साँझ एक्कासी धुवाँ निस्केको केही स्थानीयबासीले देखे।प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको टोली आएर हेर्दा एउटा कपडा पसलको सटरबाट धुवाँ निस्किरहेको थियो।उक्त कपडा पसल हो पाथिभरा वेयर कलेक्सन। जुन आठ वर्ष अघि नेपाल प्रहरीको जागिर छोडेर व्यापारमा लागेका सूर्य अधिकारीको पसल हो।

लामो समय प्रहरीको जागिरको आय आर्जनले परिवार पाल्ने जोहो गर्न कठिन भएपछि अधिकारीले व्यापार गर्ने सोच बनाएका हुन्। जागिर छोड्ने बितिक्कै उनले सोही पसल सञ्चालन गर्दै आएका थिए।झापामा निषेधाज्ञा जारी रहेकाले उनले पसल नखोलेको धेरै समय भएको थियो। आफ्नै पसलबाट धुवाँ निस्केको खबर प्रहरीले उनलाई गरेपछि आत्तिँदै उनी आएर पसलको सटर खोलेर हेर्दा पसलका कपडा सबै डढिसकेको उनले पाए।

अधिकारीले भने, ‘लगानी निकै गरेको थिएँ। भएभरका कपडा ल्याएर त्यहीँ राखेको थिएँ। अधिकांश डढ्यो।’
शुक्रबार बेलुका ७ बजेतिर भएको आगलागी बिर्तामोड, मेचीनगर नगरपालिकाका बारुण यन्त्र तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।अधिकारीले जलेको आफ्नो १ करोड ५० लाख रुपैयाँ लगानी रहेको बताएका छन्। विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण भने आइसकेको छैन।

Copyright © All rights reserved. | Newsphere by AF themes.