श्रीमान एमालेबाट मन्त्री : श्रीमती माओवादीबाट मन्त्री !

कार्तिक १२, २०७८ शुक्रबार 291

श्रीमान एमालेबाट मन्त्री : श्रीमती माओवादीबाट मन्त्री !

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेसहित ४ प्रदेश सांसदले बिहीबार दिउँसो मन्त्रीको शपथ लिँदै छन्। बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा,

एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिँदा एकीकृत समाजवादीकै कृष्ण खनाल,

माओवादी केन्द्रकी कुमारी मोक्तान र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले मन्त्रीको शपथ लिने भएका हुन्। मोक्तान एमाले नेता दावा लामाकी श्रीमती हुन् । लामा नेकपा विभाजन हुँदा रामबहादुर थापासंगै एमालेमा लागेर ६ महिने मन्त्री बनेका थिए । दावा र कुमारी माओवादी जनयुद्धकै बेला प्रेम विवाह गरेका जोडी हुन् ।

सिन्धुपाल्चोकका दावा र मकवानपुरकी कुमारी यसबीचमा माओवादी विभाजन हुँदा पनि मोहन वैद्य र रामवहादुर थापा बादल समूहमा सँगै लागेका थिए । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री बनेका लामा अहिले एमालेको राजनीतिमा सक्रिय छन् । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद बसन्त मानन्धरले जानकारी दिए।

जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य छन्। बिहीबार दिउँसो ३ः१५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बिहीबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्