November 27, 2021

Nepal 1st Online News

घरज्वाइँ बसेर भाँडा माझ्दा के बि,ग्रन्छ ?

1 min read

भर्खरै दशैं सिद्धियो । महान् चाड दशैं लगायत अन्य चाडमा ज्वाइँलाई ससुरालीमा विशेष महत्व दिने गरिन्छ । र, यो महत्वको निर्धारण दिने दक्षिणा, खुवाइने परिकार एवं गरिने आतिथ्यताले हुनेगर्छ ।नेपाली समाजमा ज्वाइँलाई उच्च दर्जाको सम्बन्धमा राखिन्छ भन्दा फरक नपर्ला । ज्वाइँहरू पनि ससुराली जाँदा सुटेडबुटेड भएर अलि भलाद्मी जस्तो देखिएर जान्छन् ।

ढलेको सिन्को समेत उठाउँदैनन् ज्वाइँहरू ससुरालीमा । र, उठाउन दिइँदैन पनि । सामान्यतः खाएको थालमा चुठ्ने अनि गफमा मस्त हुने बाहेक अरु थोक गर्दैनन् । ‘ससुराली गैरन्थे दिनका दिन, साली माग्दा सासूले लखेटिन्’ जस्ता अनेक गीतहरूले प्रष्ट हुन्छ ज्वाइँले ससुरालीमा साली जिस्काउन पाउने समेत छूट रहेछ । काम केही गर्न नलाएपछि त मानिस उपद्रो गरिहाल्छ नि ।

तर तिनै ज्वाइँहरू ‘घरज्वाइँ’ बनेर बस्नु परेको खण्डमा आफूलाई हेपिएको र तल्लोस्तरको भएको आकलन गर्ने गर्छन् । के ज्वाइँहरूको कुनै अभिभारा हुँदैनससुरालीको टेको बनेर बस्न ? वा दुई दिनको पाहुना बन्न मात्र जन्मिएको हुन्छ यो सम्बन्ध ? चिरफार गरौं ।मेरो छिमेकी दाइ-भाउजूका दुईजना छोरी–छोरी छन् । दुवैको बिहे भइसक्यो । अहिले ज्वाइँको आडभरोसाले नै घर चलेको कथा सुनाउँछिन् भाउजू ।

पहिला दुवैजना छोरीछोरी हुँदा तेस्रो सन्तानका रूपमा छोरा पाउन दाजुले भाउजूसँग कर पनि गरेका थिए रे ।
अन्य नातागोता र सासूससुराले त झन् कर नगर्ने कुरै भएन । तर भाउजूले अर्को सन्तान पनि छोरी भएमा के गर्ने भनेर प्रश्न फिजारिसकेपछि सबैजना चूप भएका थिए रे । आज आएर ज्वाइँहरू छोरा जस्तै हुँदा वंश धान्न छोरा नै चाहिने रहेनछ भनेर दाजुभाउजू चित्त बुझाउनुहुन्छ । यो कथा घरघरको कथा हुन पनि सक्छ । तर ज्वाइँहरू सबै यस्तै हुन्छन् भन्ने पनि छैन ।

अर्को उदाहरण, मेरा एक जना नाता नै पर्ने अङ्कल अन्टीका दुई जना छोरा नै अहिले बुहारी सहित अष्ट्रेलिया र अमेरिकामा सेटल भइसके । उहाँहरूको छोरी थिएन । अब विदेशमा भएका छोराहरू फर्केर आउने कुनै नामनिशान छैन । अनि बुढेसकालका अङ्कल अन्टीहरू बेसहारा बन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

अन्टी आजकल एकजना छोरी भइदिएको भए बरु छोरीज्वाइँको आडले अलि बढी बाँचिन्थ्यो कि भन्दै गुनासो पोख्नुहुन्छ । छोरीको भ्रूण हत्या गरी गरी छोरा जन्माउनकै लागि प्रयासरत रहने नेपाली ग्रामीण समाजलाई यो उदाहरण, पाठ बन्न सक्छ । छोरी जन्मिंदा टेन्सन थपिने, बिहे गरेर अर्कैको घर जाने जातलाई पढाइदिनुपर्ने, दाइजो दिनुपर्दा सम्पत्ति सिद्धिने जस्ता अनेक कुतर्कनाले गर्दा समाज बिग्रिएको छ । दुःख पाइएको छ ।

छोरी पाएकै कारण सराप र धारे हात खेपेका अनेक आमाहरूले पछि त्यही छोरीज्वाइँकै कारण विश्व भ्रमण गरेका र सुखसयलमा जीवन बाँचेका उदाहरण गाउँशहरमा प्रशस्त छन् । नौलो परिवर्तित समाजमा ज्वाइँहरू पनि छोरा जस्तै हुन्छन् र हुनु पनि पर्छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.