बाढीपहिरोमा मृ,त्यु हुनेको संख्या १०४ पुग्यो, ४१ जना घा,इते, त्यति नै संख्यामा बे,पत्ता”

कार्तिक ५, २०७८ शुक्रबार 24

बाढीपहिरोमा मृ,त्यु हुनेको संख्या १०४ पुग्यो, ४१ जना घा,इते, त्यति नै संख्यामा बे,पत्ता”

काठमाडौँ ; बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृ,त्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् । त्यति नै संख्यामा हराइरहेका गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ ।

इलाममा १४, पाँचथरमा २८, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १/१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ । २० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ ।

२१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । ‘विपद्‍का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन्,’ बिहीबार साँझको प्रहरी बुलेटिनमा भनिएको छ ।

प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव बिहीबार बिहान फेला परेको छ । माण्डवी गाउँपालिका–४ आँपचौरका दुई वर्षीय दिनेश कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । शव त्रिवेणीधाम बगरमा स्थानीयले फेला पारेका थिए । उनीसँगै अरङखोलाले बगाएकी २८ वर्षीया देवीसरा कार्कीको बुधबार नै मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् । स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजी भइरहेको गैरेले बताए ।

इलामको माङ्सेबुङ–६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको पनि बिहीबार शव फेला परेको छ । यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् ।

इलाम नगरपालिका–२ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ–२ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्यचौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । ‘बेपत्ताहरूको खोजीका लागि दुवै जिल्लाबाट प्रयास भइरहेको छ,’ इलाम प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले भने ।

यसअघि फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जना, सूर्योदय नगरपालिकामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यस्तै, देउमाई नगरपालिकामा १ जनालाई खोलाले बगाएर तथा माई नगरपालिकामा हुरीले रूखको हाँगा खस्दा थप एकको ज्यान गएको थियो ।

बाढीले मोटरसाइकलसहित बगाएको सुनसरीका एक पुरुषको पनि शव भेटिएको छ । सुनसरी प्रहरीका डीएसपी नगेन्द्रकुमार कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–२ शान्तिनगर बस्ने ३१ वर्षीय योगेन्द्र तिवारीको शव आँपगाछीमा बिहीबार बिहान फेला परेको हो । मंगलबार दिउँसो बाढीले तिवारीलाई तरहराको पानीपियाबाट मोटरसाइकलसहित बगाएको थियो । बाढीले बगाएका अन्दाजी ६० वर्षीय पुरुषको शव बुधबार दिउँसो आर्मी क्याम्पनजिकै फेला परेको थियो । सताही मण्डल, राजकुमार राई, रोशन बुढाथोकी र ईश्वरी पराजुली अझै बेपत्ता छन् ।

विराटनगर विमानस्थल शनिबारदेखि खुल्ने
मंगलबार रातिदेखिको वर्षाले जलमग्न बनेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । बुधबार धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो ।

मौसम खराबीसँगै उडान गर्न नसक्दा श्री एयरलाइन्स र बुद्ध एयरका दुई विमान मंगलबार साँझदेखि यहीं रोकिएका छन् । धावनमार्गमा जमेको पानी सुकेपछि बिहीबार अपराह्नतिर दुवै विमानलाई रित्तै काठमाडौं पठाएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान खुलाउन समय लागेको उनको भनाइ छ ।

‘कार्यालयभित्र अझै पनि डेढ फिटसम्म पानी जमेको छ । शुक्रबार साँझसम्म पानी सुकाएर धावनमार्ग सफा गर्ने, डुबेका उपकरणको परीक्षणपछि सबै सुरक्षित पाइएमा शनिबार बिहानदेखि उडान सुरु गर्ने तयारीमा छौं,’ उनले भने । यो विमानस्थलबाट काठमाडौंसहित पूर्वका विभिन्न पहाडी जिल्लामा दैनिक २१ वटासम्म उडान हुँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्