त्यो दिन श्रीमती अमृतालाई फोन गरे तर के थाहा त्यो नै अन्तिम बिदाइ बन्नेछ…

कार्तिक ४, २०७८ बिहिबार 25

त्यो दिन श्रीमती अमृतालाई फोन गरे तर के थाहा त्यो नै अन्तिम बिदाइ बन्नेछ…

काठमाडौँ । लालबहादुर राना दुबई गएको १५ दिन भएको थियो। एउटा कम्पनीमा जागिरको लागि अन्तर्वार्ता दिएका थिए तर काम सुरु भएको थिएन। फुर्सदमा दैनिक जसो परिवारसँग भिडियो कल हुन्थ्यो। गत असोज २५ गते सोमवार पनि उनले श्रीमती अमृतालाई फोन गरेका थिए।

उनी बर्दियास्थित घरदेखि मुगुस्थित माइती जाने तयारीको चटारोमा थिइन्। त्यसैले पाँच वर्षीय छोरा आयुषलाई फोन थमाउँदै भनेकी थिइन्, ‘बाबासँग कुरा गर।’ ‘छोरा पनि मामाघर जाने कुराले दङ्ग थियो। मैले दुबईबाटै प्लेन टिकट काटिदिन्छु भनेको थिएँ। तर फूलपातीसम्मको टिकट पाइएन,’ राना बोल्दाबोल्दै रोकिए। अनि थपे,’आमाबुवा भएको ठाउँमा पुग्न हतार थियो होला।

त्यसैले बसमै जान्छु, पुगेर खबर गर्छ भनेकी थिइन्।’ उनी छोराले पनि बाबा चाँडै आउनु टाटा भन्दै हात हल्लाएको सम्झन्छन्। तर उनले सोचेका पनि थिएनन् त्यो नै अन्तिम बिदाइ बन्नेछ। भोलिपल्ट ढिलासम्म श्रीमतीले फोन नगरेपछि फेसबुक चहार्दै थिए। अचानक मुगु छायाँनाथ रारा नगरपालिकाको भीरबाट बस खसेको खबर देखे। झस्किए।

रानाले भने, ‘मेरी श्रीमती, छोरा र सालो पनि त्यसैमा होलान् भन्ने कल्पना समेत गरेको थिइनँ।’ पाँच वर्षीय छोरा, २६ वर्षीय श्रीमती र १८ वर्षीय सालो महेन्द्र शाही त्यसैमा सवार थिए। उनीहरूको घट’नास्थलमै मृत्यु भयो। खबर फैलन समय लागेन। ‘श्रीमतीले चाहेको खान लाउन पाओस्, छोराको भविष्य बनोस् भनेर बिदेसिएको थिएँ।

उनीहरू नै रहेनन्। मैले केही नसोची नेपाल फर्कने टिकट काटेँ,’ रानाले सुनाए। हाल उनी किरिया बसेका छन्। श्रीमती र छोरा सम्झेर छिनछिनमा भक्कानो फुट्ने सुनाउँछन्। उनी भन्छन्,’उनीहरू त गए। उपचार गराइरहेकाहरू बाँचून् भनेर कामना गरिरहेको छु।बिबिसी नेपाली

प्रतिकृया दिनुहोस्