कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?

कार्तिक ३, २०७८ बुधबार 11

कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?

खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन् । धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ । कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ । कात्तिकमा बाढी ? धेरै मानिसलाई यसले अचम्ममा पारेको छ ।

विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्‍याएको छ ।यो वर्षको मनसुन नेपालबाट बिदा भइसकेको छ । भीषण वर्षाका कारण धेरै ठुला प्राकृतिक प्रकोपका घटना पनि घटे । मनसुन बिदा भएपछि भने मौसम राम्ररी खुलेको थियो । तर, अचानक झरी पर्‍यो ।

नेपालीहरूको ठुलो चाड दसैँलाई स्वागत गरिरहेको मौसम एक्कासि बदलियो । दसैँको टीकाको दिनभर खुलेको आकाशमा साँझदेखि बादल फैलिन सुरु ग–यो । त्यसको भोलिपल्टबाट देशका विभिन्न भागमा पानी पर्न सुरु ग–यो । सोमबार सुदूर पश्चिममा परेको अत्यधिक वर्षाले धेरै बस्ती तथा धानवाली डुबानमा पा–यो । दसैँ मनाएर धानबाली भित्राउन प्रतीक्षा गरिरहेका किसानका खेत पानीमा डुब्यो ।

यतिबेला नेपालमा मनसुन प्रणाली सकिएको छ । मनसुनपछि विकास भएको  पानी पार्ने छुट्टै प्रणालीका कारण अहिले वर्षा भइरहेको मौसमविदको भनाइ छ । 
नेपालमा पानी पार्ने मुख्य दुई प्रणाली छन् । पहिलो बंगालको खाडीमा विकास भएर नेपालतर्फ आउने पानी पार्ने प्रणाली । अर्को, अरेवियन सागरमा विकास भएर नेपाल प्रवेश गर्ने वायु । अहिले नेपालमा भइरहेको वर्षातको कारण भने यी दुवैतर्फबाट विकास भएर नेपाली आकाशमा आइपुगेका जलवाष्पयुक्त वायुको टक्कर रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीलाई जानकारी दिइन् ।

अहिले वर्षा हुनुको कारणबारे उनले भनिन्– ‘बंगालको खाडीमा र मध्य भारतबाट उत्तरतिर सर्दै गएको न्यून चापीय प्रणाली छ । यस्तै पश्चिमी वायुको पनि प्रभाव परेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।’

अहिले मनसुन सकिएकाले यो मनसुनी वायुको प्रभावले वर्षा नभएको उनले बताइन् । जाडो महिनामा पश्चिमी वायुको प्रभावले वर्षा हुने र अहिले भएको वर्षाको पनि त्यही प्रभाव रहेको उनको भनाइ छ । साथै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको बहावका कारण पनि अहिलेको वर्षा भएको हो ।

उनले भनिन्– ‘यस्तो कहिल्यै नहुने भन्ने चाँहि हैन, अक्टोवर, नोभेम्वर, मार्च, अप्रिल र मे महिनामा ट्रपिकल साइक्लोन हुने अवस्था हो । यो मनसुनका बेलामा हुँदैन, अगाडि र पछाडिको समयमा हुने गर्छ । यो बेला मेघ गर्जन, हावा–हुरी, चट्याङसहितको वर्षा हुन्छ । त्यही प्रणालीअन्तर्गत एउटा प्रणाली आएर अहिले वर्षा भएको हो ।

अहिले भएको वर्षा अप्रत्याशित र नौलो भने हैन । विगतका वर्षहरूमा पनि यस प्रकारको वर्षा हुने गर्थ्यो । जुन मनसुनमा धेरै वर्षा हुन्छ, त्यो वर्ष चक्रपातहरुको पनि सिर्जना हुने धेरै सम्भावना हुन्छ । गत वर्ष सात–आठ महिना वर्षा नभएर गाह्रो भएको थियो । तर, यसपालि वर्षा नहुने सम्भावना कम नै हुन्छ ।’

कि बंगालको खाडीमा र कि अरेवियन समुन्द्रमा उत्पन्न भएको प्रणालीको कारण नेपालमा वर्षा हुने गर्छ । अहिले ती दुवै क्षेत्रबाट पानी पार्ने प्रणाली विकास भई दुवै नेपालको पूर्वी भूभागमा बंगालको खाडीबाट उत्पन्न भएको जलवास्पयुक्त वायुका कारण र पश्चिमी वायुका कारण सुदूरपश्चिम क्षेत्रमा बढी मात्रामा वर्षा भइरहेको वरिष्ठ मौसमविद् मानन्धरको भनाइ छ ।

प्रतिकृया दिनुहोस्