टीकापुर पस्यो कर्णाली नदीको भंगालो

कार्तिक ३, २०७८ बुधबार 185

टीकापुर पस्यो कर्णाली नदीको भंगालो

धनगढी : कर्णाली नदीको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा समेत पसेको छ। टीकापुर नगरपालिका वडा नं. १ का ब्लक नं. ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा बाढी पसेको छ।

टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको बताए। ‘कर्णाली नदीको भंगालो नै आएर डुबान भएको छ, हामी उद्धारमा खटिएका छौं,’ उनले भने। यस्तै वडा नं. २ को विजगनगर क्षेत्रबाट कर्णाली नदी गाउँ पस्दा विजयनगर, शक्तिनगर लगायतका सुकुम्बासी बस्ती डुबानमा परेका छन्। 

यता, कर्णाली नदीको शाहीपुर क्षेत्रमा भएको कटानले वडा नं. ५ को शाहीपुर, बसन्ता, वडा नं. ६ को लक्षिनापुर, वडा नं. ७ को सत्ती, पदमपुर, वडा नं. ८ को पुरै क्षेत्र डुबानमा परेको छ। कटानले हुलाकी राजमार्ग अन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ। 

उता, जानकी गाउँपालिकाको मूर्तिया, धनवाफाँटा, कुन्ती, लायकपुर शिविर, जगतपुर लगायत झण्डै हजार बढी घर डुबानमा परेका छन्। मंगलबार कर्णाली नदीको शाहीपुरबाट कटान गरेर गाउँ पसेको कर्णाली नदी राति पथरैया क्षेत्रबाट कटान गरेर गाउँ पसेको थियो। पथरैयामा भएको कटानले कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश भूभाग जलमग्न भएका छन्। 
 

प्रतिकृया दिनुहोस्