October 27, 2021

Nepal 1st Online News

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो रायमाझी

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् ।सूत्रन्यूजसँगको अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए ।

‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् ।

उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो । उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने । शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए । घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो । 

Copyright © All rights reserved. | Newsphere by AF themes.