October 19, 2021

Nepal 1st Online News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आउने

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले आगामी महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनसक्ने बताएका छन्।भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा भारत भ्रमणबाट हालै फर्किएका सह महामन्त्री महतले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताए।

भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टिमले भाजपाका राष्ट्रिय महासचिवहरू अरुण सिंह, राजु बिष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए। सह महामन्त्री महतले भारत भ्रमणका क्रममा सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए।

उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताए।
उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए। उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए। भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा दुवै देशको हितका विषयमा चर्चा भएको बताए।

सह महामन्त्री महतले भने, ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः मैले नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौँ। ती मुद्दाहरुमा सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने,र वार्ता भन्दा अर्को विकल्प छैन। दुई देशको बहुआयामिक सम्बन्ध छ, सांस्कृतिक, सामाजिक, राजनीतिक, हरेक किसिमको जुन सम्बन्ध छ। यति धेरै बहुआयामिक सम्बन्ध भएको देशमा बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्। तर समस्या उत्पन्न भएपनि हाम्रो वार्ता, संवाद मार्फत् त्यसलाई समाधान गर्न सकिन्छ।’

उनले थपे, ‘चाहे सीमा समस्या होस्, चाहे अन्य व्यापारको समस्या होस्, मैले व्यापार घाटाको समस्या पनि उठाएको थिएँ। यी तमाम विषयमा छलफल भयो र सँगै महाकाली तुइन प्रकरणको विषयमा पनि मैले भने, हेर्दा सानो देखिन्छ। यो नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्। यी कुराहरुलाई भारत सरकारले पनि छानबिन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ भन्ने कुरा राखेँ। त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ। त्यस्तै कोभिशील्ड सप्लाइको कुरा पनि उठाएँ। त्यसलाई पनि चाँडै सप्लाई गर्न प्रतिवद्धता भएको छ। म ठ्याक्कै डेट तोक्न त सक्दिनँ। केमिकल फर्टिलाइजरको सप्लाइका कुराहरु पनि हामीले उठायौँ। नेपाल सरकारले महत्वपूर्ण उठाउनु पर्ने मुद्दाहरु उठाएका छाैँ।’

Copyright © All rights reserved. | Newsphere by AF themes.