October 26, 2021

Nepal 1st Online News

घरकी एकमात्र बुहारी म बिहेपछिको दसैं त कहिल्यै रमाइलो लागेन!

1 min read

‘छ्या दसैं पनि आयो है’ ल्यापटप झोलामा राख्दै प्रियाले भन्छे। ‘लौ किन छ्या नि? दसैं आउँदा खुसी लाग्या छैन तँलाई?’ अचम्म मान्दै सोध्छु।मतिर हेर्दै नहेरी झोलाबाट मोबाइल निकालेर समय हेर्छे अनि प्रिया बोल्छे- जति खुसी हुनु बिहे नहुञ्जेल भइयो, बिहेपछिको दसैं त कहिल्यै रमाइलो लागेन मलाई। हामी उसको अफिसबाट बाहिर निस्कियौं।प्रिया एक निजी संस्थामा जागिर गर्छे। उसको आजबाट दसैं बिदा भएको थियो। अफिस बिदा भएपछि दसैंको किनमेल गर्न सँगै जाने सल्लाह भएको थियो हाम्रो। त्यसैले म उसलाई लिन त्यहाँ गएकी थिएँ। उसको कुरा अनि निराश अनुहार देखेर किनमेल गर्न जाने मनस्थिति नै बनेन। 

‘हिँड् जाऊँ त्यहाँ मिठ्ठो चटपटे पाउँछ, पहिले चटपटे खाऊँ अनि बजार जाउँला’ मैले उसको मुड फ्रेस बनाउने जमर्को गर्छु। हुन त म खासै चटपटेको पारखी होइन तर सच्चसाथीको कर्तव्य निर्वाह गर्नु थियो।’दाइ, ६० को चटपटे बनाउनु ल, पिरो कम अमिलो ट्वाक्क’ मैले कुर्सी मिलाउँदै चटपटे अर्डर गर्छु। प्रियाले बल्ल मेरो आँखामा हेरेर बोल्न सुरू गर्छे-कहिलेकाहीँ त अफिसबाट छुट्टि भएपछि पनि यहीँ अफिसमै बसिरहुँ जस्तो लाग्छ। घरकाले त हामी अफिस आराम गर्न गएको जस्तो सोच्छन् कि क्याहो! अझ चाडवाड आएपछि त मेरो हालत के हुन्छ तँलाई थाहै होला। 

उसको कुरामा सहमति जनाउँदै टाउको हल्लाउँछु। 
त्यसपछि उसले आफ्नो दुःखहरूको पोको बिस्तारै खोल्दै जान्छे। ‘मेरो घरको भव्य दसैं’, संयुक्त परिवारकी एकमात्र बुहारी म। घरमा जमघट हुन थालिसक्यो। काठमाडौंबाट कान्छो सासू-ससुरा छोराछोरीसहित आइसक्नुभएको छ, आफ्नो घरमा आउनै पर्‍यो दसैंमा। 
घरमा रमझम सुरू भएको छ। सासूले हजुरआमा(बुढी सासू)को स्याहार गर्दा अरु काम गर्न भ्याउनु हुँदैन। कान्छी सासू पाहुना पल्टेर यो ल्याऊ त बुहारी, त्यो गर त बुहारी भन्दा ठिक्क, ससुराहरू र श्रीमान ज्यूको म्यारिजको पत्ति जम्न सुरू भइसकेको छ, साथीभाइ बोलाएर। छोराछोरीको टिम मोबाइल र ल्यापटपमा व्यस्त, खाना खान पनि बोलाँउदा समयमा आइदिन्नन्। हजुरआमालाई छुट्टै चोखो खाना बनाएर खुवाएपछि सासूले भान्साको जिम्मा मलाई दिनुहुन्छ। म्यारिज टिमहरूलाई छिनछिनमा चियापानीको व्यवस्था, बैठक कोठामै खाना अनि बेलुका स्न्याक्स तयार गरिदिनुपर्छ। 

बेला-बेला उहाँहरूको अगाडि वेटर झैं हाजिर भइरहनु पर्छ।धन्न ट्वाइलेटसम्म आफैं जानुपर्ने बाध्यता छ, यो पनि अरूले गरिदिएर हुने थियो भने टोली त्यहाँबाट के डग्ने थियो।मोबाइलमा २०,२२ वटा मिस्डकल हुन्छन् सुत्ने बेलामा देखिन्छ। फोन उठाउने फुर्सद दसैंकी बुहारीलाईं हुँदो हो त! दसैंको दिन बिहानदेखि हात खाली हुँदैन हामी सासू- बुहारीको। कुनै परिकार त अघिल्लो दिन नै पकाएर राख्नुपर्छ नत्र भ्याइँदैन।दसैंको दिनको कुरा सुन।कान्छी सासू बिहानैदेखि म्यासेन्जरमा दसैंको शुभकामना आदानप्रदानमा व्यस्त। पुरूष सदस्यहरू कतिबेला ‘चिया खाऊँ न एकलट अझै, कतिबेला ‘खोई अझै तयार भा’छैनौ?’ यति भन्नमात्र अगाडि पर्छन्। 

साइतमा टीका थाप्नलाई यस्सो कपाल समेट्यो, सारी नमिले नमिलोस् भनेर यस्सो बेर्यो। तयार हुन नभ्याउँदै एकलट पाहुनाको आगमन भइसक्छ। यस्सो फेसबुक हेर्यो उता लण्डनमा बहिनीले सोह्र श्रृंगार गरेर ‘ह्याप्पी दसैं’ भन्दै फोटो पोस्टिइसकेकी हुन्छे। ‘तेरा ह्याप्पी दसैं’ भन्दै मुख बिगारेर फेसबुक बन्द गर्छु र पाहुनालाई खाना सर्भ गर्न थाल्छु। 

उता माइतीमा बुढ्यौली राष्ट्रिय रोगहरू सुगर प्रेसरको औषधि खाइरहने बाबुआमा छोरी ज्वाइँलाई टीका नलगाइदिई खादैनौं भन्दै भोकै बस्छन्। आफू भने कतिबेला घरको चटारोबाट निस्कने भन्ने पत्तो हुँदैन। माइती पुग्दा साँझ हुन्छ। यस्सो थकाइ मेटेर हलुका भएर टीका लगायो, खाना खायो अनि थकित आमालाई एक्लै भान्सामा देखेर केको थकाइ मार्न मन मान्थ्यो। सहयोग गर्न मन लाग्छ, फेरि भान्सातिरकै चटारो। 

हो यस्तै भव्य दसैं हुन्छ साथी मेरो त, त्यसैले ‘आइ हेट दसैं’ भनेर दु:खको पोको रित्याउँछे। चटपटे दाइलाई पिरो कम है भनेर त भनियो तर उसको कहानीले पो पूरै अमिलो पिरो बनाउँछ मलाई। साँझ घर गइसकेपछि प्रियाको भव्य दसैंको समाधानबारे धेरै बेर सोचिरहें। बिहेपछि पनि महिलाहरूलाई दसैं रमाइलो बन्न सक्ने सभ्य दसैंबारे केही उपायहरू कल्पना गरें। 

यस्तो थियो त्यो सभ्य दसैं- प्रियाको दसैं बिदा हुन्छ,ऊ मसँग होइन आफ्नो श्रीमानसँग किनमेलको लागि जान्छे। घरको लागि चाहिने आवश्यक सामान, नयाँ लुगा, आफ्नो हैसियत अनुसार किनमेल गर्छन्। घर पुग्दा टेबलमा खाना तयार हुन्छ। आजको भान्से ससुरा बुवाहरू हुनुहुन्छ। स-परिवार बसेर सँगै हाँस्दै खाना खान्छन्। भोलिको लागि कामको बाँडफाँट गरिन्छ। भान्साको काम ससुराहरूको,लुगा पट्याउने,घर सफा गर्ने काम प्रियाको, कान्छी सासूलाई पूजा सामग्री मिलाउने र पूजा कोठा सरसफाइको काम। भाँडा माझ्ने काम प्रियाका श्रीमानको।  

बेलुका स-परिवार बसेर जुटपत्ति खेल्छन्। म्यारिज खेल्न लेडिज ग्रुपलाई आउँदैन, बानी छैन नि! दसैंको दिन पनि स-परिवार मिलेर काम गर्दा कति सहज,रमाइलो र छिटो काम सकिन्छ। टीका लगाउने बेलामा प्रियाकी नन्दको फोनआउँछ,’हामी त घरबाट हिँडिसक्यौ,दाइ भाउजुलाई पनि नरोक्नु ल, हामी त पछि पनि भेट भइहाल्छौं। उता भाउजुको आमाबुवा भोकै बस्नुहुन्छ छिटो गरेर पठाइहाल्नु’ भनेर आमालाई सिकाउँछिन्। 

प्रिया र उनका श्रीमान समयमै माइत पुग्छन्। उता प्रियाका भाइ बुहारी पनि ठिक्क ससुराली हिँड्न लागेका हुन्छन्। ‘ल ल गइहाल, हामी आमाबुवासँगै टीका लगाइहाल्छौं’ भनेर प्रियाले भाइ बुहारीलाई बिदा गर्छे। 
यता पनि बाबुआमाले समयमै खाना खान पाउँछन्। सबै जना खाना खाएर पारिपट्टि बुढा हजुरबुवाकोमा टीका थाप्न जान्छन्। हजुरबुवाले बृद्धभत्ताको थैलीबाट दक्षिणा निकाल्दै खाममा राख्न लागेको देखेर प्रियाका श्रीमानले भन्छन्,’हजुरबुवा दक्षिणा होइन आशीर्वाद टन्न दिनुस्,जमरा र टीका लगाइदिनुस् यही नै हाम्रो लागि दक्षिणाभन्दा अमूल्य रहनेछ।’ सबैले हो मा हो मिलाउँछन्।

हजुरबाले नातिनीको निधारमा टीका टाँस्दै मन्त्र पढ्न थाल्नुहुन्छ, ‘जयन्ती मंगला काली भद्रकाली कपालिनी ……….’ यसरी असत्यमाथि सत्यको विजय भए जसरी भव्य दसैंलाई सभ्य दसैंले पराजित गर्छ। 
यो लेख लेखिरहँदा धेरै लाइक र धेरै शेयरको भन्दा पनि पंक्तिकारलाई एउटा कुराको आश लागेको छ। त्यो हो- आफूले दसैंलाई भव्य बनाइरहँदा,आफू रमाइलो गरिरहँदा घरका अन्य सदस्यलाई कामको लोडमात्र थपिइरहेको त छैन भन्ने ख्याल सबैलाई होस्। हरेक पुरूष र हरेक महिलालाई पनि बिहेभन्दा अगाडिजस्तै बिहेपछि पनि दसैं रमाइलो गरी मनाउने अवस्था रहोस्। भव्यभन्दा पनि दसैं सभ्य होस्।

Copyright © All rights reserved. | Newsphere by AF themes.