October 19, 2021

Nepal 1st Online News

धनुषामा निस्कियो भैंसी जुलुस, घाँटीमा छन् यस्ता प्लेकार्ड

काठमाडौ । धनुषाका आइतवार अनौठो जुलुस निस्केको छ । स्थानिय बासीन्दा घर घरवाट भैसी लिएर जुलुसमा निस्केका छन् । भैंसीको घाँटीमा प्लेकार्ड झुण्ड्याइएको छ । जसमा कर्मचारी र मेयर भनेर उल्लेख गरिएको छ । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै स्थानियले आइतवार यस्तो जुलुस निकालेका हुन् ।

सडकमा भैंसीको लस्कर निस्केपछि स्थानिय पनि छक्क परेका हेरेका थिए । स्थानिय तहमा हुने काम आर्थिक वर्षको बजेट र योजनाको बारेमा जानकारी माग गर्दा नदिएपछि आइतवार भैँसी जुलुस निकालिएको छ । संयुक्त संघर्ष समितिका पदाधिकारीले नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस निकालेका हुन् ।

पालिकाले सूचना दिन आलटाल गरेको भन्दै उनीहरू रिले अनशनमा छन् । त्यसकै समर्थनमा १४औँ दिनमा भैँसी जुलुस निकालिएको समितिका संयोजक सुरेश यादवले बताए ।

यही असोज ४ गतेदेखि नगरपालिकाको कार्यालयअगाडि समितिका पदाधिकारीहरू रिले अनशन बसिरहेका छन् । समितिले गएको जेठ २३ गते हुलाकमार्फत पालिकासँग विभिन्न सूचना माग गरेको थियो । त्यसअघि पनि लिखित र मौखिक रूपमा सूचना माग गर्दा नदिइएको समितिका महासचिव मेथल साहको भनाइ छ ।

समितिले हुलाकमार्फत दर्ता गराएको निवेदनमा चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टिन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरिएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.