October 18, 2021

Nepal 1st Online News

यिनै हुन् नेपालमा पहिलो पटक महिला गभर्नर हुने निलम ढुंगाना तिम्सिना !

काठमाडौ । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् ।

दसैंको मुखमा चुनौतीको सामना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।गभर्नर महाप्रसाद अधिकारी संक्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन । निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ ।

असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ ।बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन ।

तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको निधनपछि १३ दिनसम्म झापामा धार्मिक परम्पराबमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जसमा गभर्नरले बैंकको काम सुचारुरुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.