October 26, 2021

Nepal 1st Online News

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्माले अनलाइन खबरसँग बताए ।उनले भने–‘मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।

’ गीत सार्वजनिक भएको लामो समयसम्म जानकारी नपाएको र जानकारी पाउनासाथ विरोध जनाएको उनले बताए । उनले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताए । यस गीतलाई नेत्र अर्यालले लेखेका हुन् । उनले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताए । उनले गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बताउँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आएकोमा आश्चर्य प्रकट गरे ।

उनले भने–‘हामीले केवल विम्बका रुपमा ‘तोरी खायो मौरीले’ प्रयोग गरेका हौं । त्यसमा कसैको उत्पादनमा न्यूनिकरण गर्ने, ह्रास् ल्याउने किसिमका शब्द प्रयोग गरेका छैनौं । यो त सिधै सिर्जनामा बन्देज लगाउन खोजेजस्तो कुरा भयो ।’उनले अगाडि भने–‘तिमी जून जस्ती छौं भन्दा यूवतीको अनुहार गोलो परेको हुन्छ र ?’

उनले गीतसंगीतमा यसरी विज्ञप्ती आउँदै जाने हो भने सर्जकले गीत लेख्ने समयमा प्रत्येक संघसंस्थामा धाउनुपर्ने अवस्था आउन सक्ने गुनासो गरे ।उनले अगाडि भने–‘मौरीले मिहिनेत गरेर आएर गुलियो मह बनाउँछ । साना नानीहरुलाई तिमीहरुले पनि मिहिनेत गरेर पढ्नुपर्छ भन्ने हिसावले विम्बका रुपमा तोरी र मौरीलाई प्रस्तुत गरिएको हो । अब उहाँहरुलाई कसरी हानी गर्यो ? उहाँहरुले नै बताउनुहोला ?’

Copyright © All rights reserved. | Newsphere by AF themes.