काठमाडौं : तेस्रो साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिको दाबेदार टोलीको रूपमा हेरिएको नेपालले भुटानसँग लज्जास्पद हार खेपेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको समूहको दोस्रो खेलमा नेपाल भुटानसँग ३–० गोलले पराजित भयो। पछिल्लो समय घरेलु फुटबलमा आमूल परिवर्तन गरेको भुटानले खेलभर नेपाललाई बलियो टक्कर दिएको थियो। खेलमा चारवटा उत्कृष्ट गोल गर्ने अवसर बनाएको भुटानको तीनवटा प्रहार गोल भएको थियो।
पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा दुई गोल थपेको थियो। ३७औं मिनेटमा भुटानका यशी दोर्जीले नेपालको रक्षापंक्तिको कमजोरीमा पहिलो गोल गरेका थिए। त्यसपछि भुटानले ८६औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो। नेपालका विशाल बस्नेतले भुटानका केल्जाङ जिग्मीलाई डीबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई जिग्मी आफैंले सदुपयोग गरेका थिए। ९०औं मिनेटमा कर्मा सोनामले डीबक्स बाहिरबाट एक प्रयासमा अर्को गोल थप्दै भुटानलाई सहज जित दिलाए।
हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ। समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो। पहिलो जितसँगै भुटानले तीन अंक बनाएको छ। माल्दिभ्स र नेपालको समान एकएक अंक छ। भुटान सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुग्ने झिनो गणितीय सम्भावना बाँकी राखेको नेपालको भाग्य भुटानको हातमा छ।
समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएमा नेपाल अघिल्लो चरणमा पुग्नेछ। अन्यथा नेपालको यात्रा समूह चरणमै सकिनेछ। ६ टोली सहभागी च्याम्पियनसिपको समूह ‘बी’मा बंगलादेश, भारत र श्रीलंका छन्। शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।