भदौ १, २०७६ डडेल्धुरा : सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ हुने भएको छ। विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो। गौरा महोत्वस यहीँ भदौ ९ गतेदेखि १२ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ। महोत्सवमा प्रतिस्प्रधात्मक गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइच्म्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए। ‘महोत्सवमा पनि हामी संस्कृतिको ख्याल गर्दै परम्परा अनुसार नै मनाउने छौं’”
उनले भने, ‘कला संस्कृतिलाई प्रतिस्पर्धात्मक रुपमा प्रतियोगिता राखी उत्कृष्ट लाई सम्मानस्वरुप नगद, कदर पत्रसहित पुरस्कृत विगतका वर्षमा पनि गर्दै आएका छौं। यस वर्ष पनि गर्दैछौँ। जसले गर्दा यहाँको स्थानीय कला संस्कृतिको सम्मान पनि होस् र युवापिँढीमा हस्तान्तरण पनि होस् भन्ने हाम्रो उद्देश्य छ।’ सुदूपश्चिमको मुख्य संस्कृतिका रुपमा भगवान तथा राजा महाराजा, शक्तिशाली ठानिएका चर्चित व्यक्तिका गाथा भन्दै चैत धुमारीमा स्थानीय बाजागाँजा ढोल, डमरु, दमाह, रुइसिंग, बिनै, बाँसुरीको धुनमा रमाउने परम्परा युवा पुस्तामा भने छाउन नसकेकोप्रति स्थानीय अगुवा तथा वृद्ध निरास छन्। महोत्सव रमाइलोका लागि भन्दा पनि चैत धुमारी जस्ता संस्कृति युवा माँझमा हस्तान्तरण गर्न अभिप्रेरित गर्नु पर्ने स्थानीय संस्कुतिका जानकारहरू बताउँछन्। राष्ट्रिय गौरा महोत्सवमा डडेल्धुरासहित बैतडी, डोटीका साथै तराइका जिल्ला कैलाली, कञ्चनपुरबाट समेतका डेउडीयाको सहभागिता रहने आयोजकले जनाएको छ।