सरकारको बचाउ नगरेकाे भन्दै ओली आफ्नै सांसदसँग असन्तुष्ट

1 min read

काठमाडौं ५ असोज । प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको थियो । प्रतिपक्षी कांग्रेसलगायत पुनरुत्थानवादी शक्तिले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दीको प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरू सशक्त रूपमा नउभिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेका हुन् । संसद्को बर्खे अधिवेशन असोज २ मा सकिएको छ ।

राजधानीमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण विधेयक र प्रस्ताव आफ्नै सांसदहरूको ‘असहयोगी भूमिका’ का कारण पारित हुन नसकेको भन्दै असन्तुष्टि जनाएको एक सांसदले बताए ।प्रधान मन्त्रीले अमरिकाले अगाडि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ प्रस्ताव संसद्बाट अनुमोदन नभएकोमा गुनासो गरेको नेकपाका एक सांसदले बताए।‘अधिवेशन मूलतः उपलब्धिमूलक रह्यो।विधेयक पनि पारित भए, बजेट, नीति तथा कार्यक्रम पारित भयो । केही अवरोधका बीच पनि सदन सफल भयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती सांसदले अन्नपूर्णसँग भने, ‘तर केही विधेयक र प्रस्ताव संसद्मा आउने र पारित हुन अवस्था बनेन ।

जुन पारित हुनुपर्ने थियो । एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गर्नुपर्दथ्यो, हुन सकेन, नागरिकता, मिडियासँग सम्बन्धित विधेयक पारित हुुनपर्ने थियो, हुन सकेन । हाम्रै सांसदले सरकारलाई सहयोग गरेको देखिएन ।’मिलेनियम च्यालेन्ज कर्पाेरेसन प्रस्ताव, नागरिकता र संघीय निजामती कर्मचारी सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित हुन नसकेकोमा प्रधानमन्त्रीले आफ्नै पार्टी सांसदसँग गुनासो गरेका छन् ।नेकपाभित्र दल र पार्टीमा समेत सरकारले सदनबाट अनुमोदन गराउन चाहेको ‘एमसीसी प्रस्ताव’ मा सहमति जुट्न सकेको थिएन ।

खासगरी यो प्रस्तावभित्रका दुई विषयमा पार्टी र दलभित्र सहमति बन्न नसकेको सांसद रामकुमारी झाँक्रीले बताइन् ।‘एमसीसी अमेरिकाले अन्तरदेशीय प्रसारण लाइनको क्षेत्रमा आर्थिक सहयोग गर्ने गरी आएको प्रस्ताव हो । यो क्याबिनेटले पारित गर्दा पुग्ने विषय संसद्मा किन भन्ने प्रश्न उठ्यो । दोस्रो यसभित्रका केही सर्तमा भारतको पनि सहमति लिनुपर्ने उल्लेख भएर आयो, त्यो अलि पाच्य थिएन,’ सांसद झाँक्रीले भनिन्, ‘अमेरिकाले हामीलाई सहयोग गर्ने हो भने भारत कहाँबाट जोडिन आइपुग्यो ? सार्वभौमसत्ता मुलुकका लागि यो स्वीकार्य हुन्न भनेर हामीले आवाज उठाएका हौं ।’

नेकपाका अध्यक्षद्वय ओली र दाहाल दुवैले सरकारमाथिको भ्रम चिर्ने गरी जनतामा सांसदहरूलाई निर्देशन दिएका छन् । दसैंतिहार गायत चाडबाडमा सांसदहरु गाउँ जाने भएकाले सरकारमाथिको भ्रम चिर्ने गरी प्रस्तुत हुन दुवै अध्यक्षले निर्देशन गरेका हुन् ।‘सर कारले कतिपय राम्रा काम गरेको छ । तर, त्यसको प्रचार हुन सकेको छैन । सरकारका काममा पनि भ्रामक प्रचार भएका छन् । सरकारका राम्रा कामका बारेमा प्रचार गर्ने र जनतामा छरिएको भ्रम चिर्ने गरी तपार्इंहरू गाउँगाउँ जानुहोस्,’ प्रधानमन्त्रीले ओलीले भने ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी पुनरुत्थानवादी, प्रतिक्रियावादीहरूले टाउको उठाउन खोजेका छन्,’ प्रधानमन्त्रीलाई उद्धृत गदै सांसद हितबहादुर तामाङले अन्नपूर्णसँग भने, ‘तपाईंहरू सबै भ्रम चिर्ने गरी सशक्त ढंगले अगाडि जानुहोस्, सबै प्रकारका भ्रम चिर्न सफल हुनुहोस् ।’दाहालले पनि सांसदहरूलाई चाडपर्वको शुभकामना बोकेर गाउँ तहसम्मै सरकार र पार्टीका कामका विषयमा प्रचारमा लाग्न सांसदहरुलाई निर्देशन दिएका थिए ।बैठकमा महिला बालबालिकामन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि सवै अवयव परिचालन गर्ने तयारीमा सरकार रहेको भन्दै हिंसा न्यूनीकरणका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेकी थिइन् ।

Facebook Comments
error: Content is protected !!