कोरोना त्रास : एक वर्षको सजाय एक दिनमै भुक्तान

1 min read

जकपुरधाम। धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिमाना तिरेर उनी रिहा भएका हुन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिमाना लिएर रिहा गर्न आदेश दिएको हो । विगतमा कैदीलाई यस्तो सुविधा थिएन तर कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि ७ चैतमा सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्वतयारी तथा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो ।

त्यही परिपत्रको छैटौं बुँदामा उल्लेख छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध भइआएको र विपद्को यो विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यसंहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्न व्यवस्था गर्ने ।’

कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक वर्षसम्म कैद ठहर भएका कैदीलाई अदालतले धमाधम रिहा गर्न थालेको छ । जलेश्वर जेलका जेलर महासेठका अनुसार छोड्नका लागि २८ जनाको सूची बनाइएको छ तिनीहरूलाई क्रमशः छोडिनेछ । यो समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!