अनन्त : मिलेर कोरोनाविरूद्ध लड्न चीन-अमेरिका तयार, ट्रम्पले गरे चीनको प्रशंसा

1 min read

काठमाडाैँ, १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग काेराेना भाइरसबारे विस्तृतमा संवाद गरेको बताएका छन् । कोरोना भाइरसबाट संक्रमितकाे संख्या चीनमा भन्दा अमेरिकामा बढी देखिन थालेपछि ट्रम्प नरम भएर चीनसँग सहयोग माग्न तयार भएका हुन् । ‘भर्खरै चीनका राष्ट्रपति सीसँग धेरै राम्रो कुराकानी भयो,’

ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभाइरसका बारेमा विस्तृत छलफल गरियो, जसको प्रकोपले हाम्रो ग्रहका विशाल भागहरू नष्ट गर्दैछ ।’ ट्रम्पले काेराेना भाइरस नियन्त्रणका लागि चीनले धेरै राम्रो प्रयास गरिरहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘चीनले कोरोना भाइरसबारे धेरै राम्रोसँग बुझेको छ । अब हामी सँगसँगै काम गर्छौं । धेरै आदर !’

हिजोअस्तिसम्म राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाइ ‘चिनियाँ भाइरस’ भन्दै आक्रोश व्यक्त गर्ने गरेका थिए । उनले चीनले आफूहरुलाई यसबारे प्रशस्त सूचना र जानकारी नदिएको, वास्तविक डाटा समेत लुकाएको आरोप लगाउँदै आएका थिए । तर कोरोना भाइरस महामारी विश्वभर तीव्ररूपले फैलिन थालेपछि आपसी मतभेद बिर्सेर दुई शक्तिशाली राष्ट्र चीन र अमेरिका सहकार्य गर्न तयार भएका हुन् । समाचार एजेन्सीहरुका अनुसार दुवै देशका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको र मिलेर अघि बढ्ने सहमति भएको छ ।

बिहीबार भएको जी-२० मुलुकहरूको भिडियाे कन्फरेन्सपछि शुक्रबार ट्रम्प र चिनफिङबीच सो टेलिफोन कुराकानी भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । द गार्जियनका अनुसार राष्ट्रपति चिनफिङले संवादका क्रममा भने, ‘सँगै काम गर्दा दुबै पक्षको फाइदा हुन्छ, झगडाले पीडा दिन्छ । आपसी सहयोग नै एक उत्तम विकल्प हाे ।’ अमेरिकाले चीनसँगको सम्बन्ध सुधार गर्न “ठोस कदम चाल्ने” अपेक्षा आफूले गरेकाे पनि चिनफिङले बताएका छन् ।

जी-२० राष्ट्रहरूको भिडियो कन्फरेन्समा चिनियाँ राष्ट्रपति सीले कोरोना महामारी नियन्त्रणका लागि विश्वव्यापी सहकार्यको खाँचो रहेको बताएका थिए । उनले अर्थतन्त्रलाई गति दिन साझा कार्यक्रमहरु ल्याउनुपर्ने र अमेरिकाले भाइरससँग जोडेर चीनलाई बदनाम गर्ने काम रोक्नुपर्ने लगायत कुरामा जाेड दिएका थिए ।

चिनियाँ पक्षले अमेरिकी राष्ट्रपतिकाे टेलिफाेन वार्ता सकारात्मक रहेकाे र नि:शर्त अमेरिकासँग जानकारी र अनुभव प्रदान गर्दै सहकार्य गर्नको लागि इच्छुक रहेकाे टिप्पणी गरेकाे सीनबीसीले जनाएकाे छ । पछिल्ला केही वर्षदेखि चीन-अमेरिकाबीच व्यापार युद्ध उत्कर्षकमा रह्याे । काेराेना भाइरस समेत अमेरिकाले चीनकाे अर्थतन्त्र धराशायी पार्न फैलाएकाे हुनसक्ने हल्ला समेत चलाइएकाे थियाे ।

Facebook Comments
error: Content is protected !!