एकपछि अर्को विवादमा फस्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

1 min read

काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल एक पछि अर्को विवादमा फसेका छन् । कोरोना सङ्क्रमण बढ्दै गैरहेका बेला पत्रकारले प्रश्न गर्न खोज्दा घरमा पाहुना आएको भन्दै तर्किएका स्वास्थ्यमन्त्री ढकाल निकै विवादित बनेका थिए । यसको सर्वत्र निन्दा भैरहेका बेला उनले कोरोना संक्रमित पहिलो बिरामीको बारेमा जानकारी गराउन मन्त्रालयमा गरेको पत्रकार सम्मेलन पछिल्लो समय चर्चा र विवादको बिषय बनेको थियो ।

उनले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनको फोटो सामाजिक संजालमा निकै भाइरल बनेको थियो । सरकारले भिडभाड नगर्न दिएको निर्देशन भन्दा ठ्याक्कै उल्टोगरी गरिएको भिडभाड निकै लज्जास्पद थियो । त्यसपछि उनि बुधबार नेपालमा देखिएका कोरोनाभाइरसको तेस्रो बिरामीको सुचनामा चिप्लिएका कारण विवादमा छन् । बिरामी कतारबाट आएको भनी स्वास्थ्यमन्त्री ढकालले नै गलत सूचना प्रवाह गरेपछि उनको सर्वत्र निन्दा भैरहेको छ ।

विभिन्न सञ्चारमाध्यममा दुवईबाट आएका एक नेपालीलाई कोरोनाभाइरसको संक्रमण देखिएको समाचार सार्वजनिक भए पनि मन्त्री ढकालले नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै कतारबाट आएका नेपाली नागरिकलाई कोरोना देखिएको बताएका थिए । तर स्वास्थ्य मन्त्रालयले नै बेलुका विज्ञप्तिमार्फत उक्त भनाइ सच्याएको थियो । दुबई सारजाहबाट नेपाल आएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अहिले सामाजिक संजालमा उनका विवादबारे बहस भैरहेको छ ।

मुख्य अस्पतालमै छैन पीपीई
बुधबारको पत्रकार सम्मेलनमा मन्त्री ढकालले बढीमा तीन दिनभित्र सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्री विदेशबाट आउने जनाए। उनले यस्तो जानकारी दिए पनि सरकारले खरिदका लागि आह्वान गरेको बोलपत्रमा भने कसैले इच्छा प्रकट नगरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारले कोभिड–१९ को उपचारका लागि प्रमुख रूपमा तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीपीई नै छैन भने हुन्छ।

अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले हालसम्म जेनतेन बिरामी जाँच गरिरहेका भए पनि संक्रमितको संख्या बढे गम्भीर समस्या निम्तिने अवस्था छ। पीपीईबिना डाक्टरहरू कोरोना संक्रमितको उपचारमा संलग्न हुन सम्भव हुन्न। अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा प्रयोग गर्ने हो भने अहिले मौज्दात पीपीईले दुई/तीन दिन धान्न पनि मुस्किल छ।

‘अहिले त खासमा चिकित्सकहरूले मात्रै प्रयोग गरिरहेका छौं। भोलि बिरामी बढेको खण्डमा अरू स्टाफहरूका लागि पनि पीपीई चाहिन्छ, त्यस्तोमा कसरी व्यवस्था हुन्छ भनेर चिन्तित छौं,’ उनले भने। स्वास्थ्यमन्त्री ढकालले भने पीपीई मन्त्रालयमा रहेको बताए। ‘हामीसँग मन्त्रालयमा अझै पनि स्टक छ। त्यो अपुग होला, तर हामीले थप व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘आउनेबित्तिकै आवश्यक सबै स्थानमा पठाउँछौं।’

पीपीईलगायत सामग्री आपूर्ति नहुँदै संक्रमितको संख्या बढे सीमित सरकारी तथा निजी अस्पतालले केही दिन सेवा दिए पनि त्यसलाई निरन्तरता दिन मुस्किल पर्ने चिकित्सक बताउँछन्। सरकारले लकडाउन गरेर स्थिति नियन्त्रण गर्न खोजे पनि कतारलगायत विश्वका विभिन्न कुनाबाट स्वदेश भित्रिएका नेपालीले होम क्वारेन्टाइनको नियम नमानेकाले संक्रमितहरूको संख्या बढ्न सक्ने उनीहरूले बताए।

अझै पनि अपर्याप्त परीक्षण
जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ। हालसम्म प्रयोगशालाले ६ सय ८७ नमुना परीक्षण गरेको छ, तीमध्ये तीन जनामा संक्रमण रहेको पुष्टि भएको हो।

स्वास्थ्यमन्त्री ढकालले लकडाउनका कारण नमुनाहरू काठमाडौं ल्याइपुर्‍याउन मुस्किल भएकाले छिट्टै पूर्वमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण गरिने जानकारी दिएका छन्। पश्चिमबाट भने नेपालगन्जमा नमुना संकलन गरेर बेलुका विमानबाट ल्याइने बताएका छन्। काठमाडौंबाट तीन/चार घण्टाको दूरीमा रहेको स्थानबाट एम्बुलेन्समा नमुना ल्याइने उनले जनाए। उनले परीक्षणको दायरा किन नबढाइएको हो भन्ने विषयमा भने केही बोलेनन्।

Facebook Comments Box
error: Content is protected !!