यस कारण मैले एसपीबाट दिएँ राजीनामा

मैले २४ वर्षे प्रहरी सेवाको जागिरे जीवनबाट राजीनामा दिई बिदा लिएको घटना आमचासोको विषय बन्न पुग्यो । प्रहरी सेवाको आकर्षक पद एसपीमा लामो अवधि र अवसर बाँकी रहँदारहँदै त्याग गर्ने अवस्था कसरी सिर्जना हुन पुग्यो भने विषयमा चासो राख्ने स म्पूर्ण शुभचिन्तकलाई यथार्थ जानकारी गराउनु मेरो कर्तव्य हो ।प्रहरी सेवामा मेरो प्रवेश प्रहरी निरीक्षक पदबाट २०५१ साल चैत ५ गते भएको हो । त्यस समयमा अहिलेको जस्तो विविध क्षेत्रमा जागिरको अवसर थिएन । सरकारका विभिन्न अंगमा सेवा गर्ने अवसर पाइन्थ्यो । सरकारका विभिन्न सेवामध्ये अन्यायविरुद्ध लड्ने,न्याय दिलाउने, अपराध रोकथाम गर्ने र नियन्त्रण गर्ने सत्य,सेवा, सुरक्षणम्को मूल मन्त्र बोकेको संगठनमा रहेर काम गर्ने आकर्षणले मलाई डोर्‍यायो । कडा मेहनत र परिश्रमले नेपाल प्रहरी सेवामा प्रवेश पाएँ। सेवा प्रवेशपछिको समग्र रुपमा संगठनका सपना नै मेरा सपना थिए ।

त्यसरी नै संगठनले समेत मेरो कर्तव्यपालन, निष्ठा, इमानदारी, व्यवसायिकता र मैले सके गरेको योगदानहरुको सुरक्षा र मूल्यांकन गर्ला भन्ने भरोसा गर्दै अनवरत रूपमा विभिन्न परिस्थितिमा समेत सक्रिय रहँदै २४ वर्ष संगठन र देशको सेवा गरेँ । अपराध नियन्त्रण, अनुसन्धान र राज्यको आन्तरिक सुरक्षा कायम राख्ने मूल जिम्मेवारी पूर्ण, निष्ठा,इमानदारी, निष्पक्ष र तटस्थताका साथ सम्पन्न गरी संगठनलाई सहयोग गर्ने मेरा अभीप्सा थिए ।गत माघ २६ गते शनिबारका दिन सदाझैं नियमित अफिस गएर काम सकी साँझ डेरामा आई करिब १० बजे सुती भुसुक्कै निदाएछु । मैले त्यो रात नराम्रो सपना देखेँ । सपनामा मेरो एक सुन्दर फर्म हाउसको मालिकसँग भेट हुन पुगेछ । मालिक हेर्दा सुन्दर र खाइलाग्दा थिए । फर्म हाउसमा लहलह मकै फलेको थियो । मालिक ले मलाई जागिरको अफर गरे, मकैबारीको सुरक्षा गर्ने ।

राम्रो सेवा, सुविधा, आकर्षक तलब, लत्ताकपडा, युनिफर्म, पि क्याप, जुत्ता, क्याप, काँधभरि फुली दिने लोभ देखाए । मालिकको सर्त थियो, बाँदरहरु लाग्छन्, ड्युटी गरी मकैबारीलाई सुरक्षित गर्ने ।मालिकको अर्को पनि कडा सर्त थियो । त्यो के भने दिइए का युनिफर्म, फुली, जुत्ता, पि क्याप दुरुस्त लगाई बारीका माझमा बसी हलचल नगरी, कतै नहिँडी पूर्ण सतर्क रुपमा पोजिसनमा बसी ड्युटी गर्नुपर्ने सर्त थियो । मालिक देखावटी रुपमा खाइलाग्दा आकर्षक अनुहारका भएकाले भरोसा गरी सबै सर्त मन्जुर गरी ड्युटीमा बसेँ । भोलिपल्ट मालिकका क्वार्टरमा ठूला पाहुना आएकाले मलाई डुयुटीमा राखी आफू क्वार्टरतिर लागेँ । ड्युटीमा बसेको केही क्षणपछि बारीछेउमा केही बाँदरहरुलाई हेर्दै बसेको देखेँ । मैले एकपटक त बाँदरहरु भगाएँ । एकछिनपछि पुनः साना, मझौला र अजंगका बाँदरहरुको हुल बारीको चारैतर्फबाट आएको देखेँ ।

बाँदरको बथानले मलाई चारैतर्फबाट बारीका डिलमा बसी जिस्काउन पो थाल्यो । केही आँखा झिम्काउँथे, केही ङिच्च हाँस्थे त केही चिच्याउँथे ।म एक्लो थिएँ । मैले त मालिकको सर्तबमोजिम कर्तव्य पालन गर्ने भएकाले सकेको सुरक्षा प्रयास गर्दे थिएँ । मालिकका क्वार्टरतिर हेरेँ, क्वार्टर बाँदरहरुले घेरेको देखेँ । सोही समयमा एकाएक बाँदरहरुको हुलले मैमाथि आक्रमण गर्‍यो । मेरा युनिफर्म च्यातियो । फुली र टोपी बाँदरले लग्यो । छिनभरमै लहलह मकै बारी र म स्वयंलाई सखाप पारी बाँदरको बथान हिँड्यो ।म बबुराको एक्लो प्रयास बाँदरहरुको हुलको अगाडि के नै लाग्थ्यो र ? बाँदरहरु हिँडेपछि मलाई मालिकको सर्तको याद आयो । दिइएको कडा निर्देशन र सर्तमा दुरुस्त ड्य्टी बसेपछि मकैबारी र तिम्रो पनि सुरक्षा हुन्छ भनेको त सबै सर्वाङ्ग नाङ्गो बनाएर पो बाँदर हिँडे । बिहान झिसमिस उज्यालो हुँदै थियो।

आफ्नो रुप र मकैबारीको हालत देखेर आफैंलाई लाज लाग्यो, हीनताबोध भयो । भएका सबै घटना मालिकलाई दर्शाउन क्वार्टर गएको त क्वार्टरमा शनिबार २६ गते भेट्न आएका ठूला पाहुनासँग राति अबेरसम्म खानपिन र ना चगानसमेत गरी मस्त निद्रामा रहेछन् । उज्यालो भएपछि बाँदरहरुले बनाएको मेरो सर्वाङ्ग रूप छरछिमेकीले समेत देखे र थाहा पाए । सबै छिमेकी भेला भई जिस्काउन पो थाले । लाजले पानी पानी भएँ, चिटचिट पसिना आयो । त्यति नै बेला मेरो मोबाइलको घन्टी बज्यो, सपनाबाट ब्युँझिएँ । फोनकर्ताले माघ २६ गते मध्यरातमा प्रोमोसन निस्किएको र मेरो नभएको दुःखद खबर सुनाएर सहानुभूति दिए । मलाई अयोग्य ठहर गरिएछ । म राम्ररी ब्युझिएँ ।प्रमोसनको लिस्ट हेरें, मैले संगठनको नेतृत्व तहबारे समय समयमा दिइएको ब्रिफिङ सम्झिएँ । नेता कहाँ धाउने, अनावश्यक चलखेल गर्ने,संगठनमा विश्वास नगर्ने, बाह्य दबाब दिनेहरुलाई दण्डित गर्ने, प्रमोसनमा ती व्यक्तिहरु छुट्ने भनी सबैका सामु मुख्यालयमा दिएका भाषण सम्झिएँ ।

ती त सबै बकवास नाटक पो रहेछन् । मैले देखेको खराब सपनाका मालि कका सर्त र आश्वासनभन्दा फरक थिएनन् । जसरी बाँदरहरुले आक्रमण गर्दा म निरीह भएँ त्यस्तै हालत उच्च नेतृत्वको भएको मलाई आभास भयो । प्रमोसनका अधिकांश अनुहार शक्ति केन्द्र धाउनेहरु नै थिए । त्यसमध्ये एकजना त विगतको चुनावमा मतपत्र सुरक्षा गर्न नसकी देशभर संगठन र सरकारकै बेइज्जत भएको घटनाका मुख्य व्यक्ति थिए । मतपत्र च्यातेको विषयलाइ उत्कृष्ट काम भन्दै रातारात प्रहरी नियमावली नै संशोधन गराई (नियमावली संशोधन नहुँदा प्रमोसनको प्रक्रियामै नपर्ने कनिष्ठ व्यक्ति) भएको उत्कृष्टमध्ये अति उत्कृष्ट प्रमोसन त नेपाल प्रहरी को इतिहासमै नमुनाका रुपमा भविष्यमा मार्ग दर्शकका लागि संग्रह गरी राख्ने खालको छ । मैले कोही व्यक्तिको विरोध गरेको पनि होइन । मैले विद्यमान भ्रष्ट प्रणाली र प्रवृत्तिको विषय उजागर मात्र गरेको हुँ । मैले परिस्थिति विश्लेषण गरी अन्तरआत्मालाई पटकपटक सोधें ।

आफन्त, शुभचिन्तकहरु, अग्रजहरुसँग परामर्श लिएँ । मैले २४ वर्ष राष्ट्र सेवा मा बिताएका कठिन र चुनौतीपूर्ण क्षणहरु एकाएक मनमा ताजा बनेर आए । सेवामा रहँदै मेरो नामै लिई संगठन प्रमुखले राम्रो काम गर्ने अधिकृत भनी समग्र उपत्यकाका अधिकृतहरुलाई गरेको ब्रिफिङ सम्झिएँ । सेवामा रहँदा मैले देखेका विभेद, अन्याय, अ त्याचार, स्वच्छेचारिता र बेलाबेलामा मौसम हेरी मञ्चन हुने नाटकहरु सम्झिएँ । आफ्नो कुर्सी/पद सुरक्षार्थ उच्च तहले छाडिदिएका अडान सम्झिए । विगतमा अन्याय गरिएका थुप्रै अग्रज, निर्दोष अनुहार र सहकर्मीहरु सम्झिएँ । सम्मानित सर्वोच्च अदालतबाट न्यायका लागि भएका फैसला कार्यान्वयन सम्झिएँ । न्यायपश्चात् उच्च अधिकारीहलाई मन्त्रालयमा हाजिर गराई बेइज्जत गरिएको, न्याय माग्न जानेहरूलाई नै जेल हाल्न खोजिएको, तिनका परिवार र छोराछोरीलाई समेत दुव्र्यवहार गरिएको, लुकेर बस्न बाध्य पारिएको जस्ता थुप्रै घटना मनमा ताजा बनेर आए ।

न्यायको मन्दिरबाट ढिलो गरी पाउने न्याय र न्यायपछि संगठनमा काम गर्ने वातावरण र पीडितको अवस्थाको राम्रो जानकारी र अनुभव हामीले विगतमा गरेकै थियाैं । म सेवा प्रवेश गरेपछि तत्कालीन माओवादी समस्या, विभिन्न सानाठूला आन्दोलन,पटकपटकका चुनाव मधेस आन्दोलन गम्भीर र संगठित अपराध र त्यसको गम्भीर अनुसन्धानजस्ता अनेकौं जोखिम भएको अवस्थामा समेत विचलित नभएको मेरो स्वाभिमानी सेवा,जा लझेल अन्याय चाकडीचाप्लुसी, पर्दा पछाडिको सेटिङ, रुचाइएका निकटहरु मौसम हेरी रंग बदल्नेहरु र गणेशभक्ति जस्ता चलनचल्तीका गुणहरु ग्रहण गर्न नसक्ने वा स्वंय सामेल हुन नसकी अन्यायमा पर्ने र अन्याय सहँदै संगठनमा हीनताबोध गरी बस्नु भन्दा स्वतन्त्र भई समाजसेवामै लाग्ने अठोट गर्दै दुःखका साथ भारी मन लिएर प्रहरी सेवाबाट राजीनामा दिएर पदत्याग गर्ने निर्णय गरेँ ।

संगठन सुधारका लागि संगठनमा भएका विकृति, विसंगति र अन्यायको जानकारी जनतामा हुनुपर्छ भनी सार्वजनिक गरिदिएँ । मैले राजीनामा दिएपछि सर्वत्र चासो व्यक्त भयो । चासोको कारण मलाई परेको अन्याय मात्र नभएर हाल देखिएका सुरक्षाप्रतिको असन्तु ष्टि, कमजोर नेतृत्व संगठनभित्र व्याप्त जालझेल, छलछाम र चाकडी गर्दै पद प्राप्त गर्ने र पदमा टिकिरहने प्रवृत्ति संगठनमा लादिएको नाङ्गो हस्तक्षेप र अन्यायका सिकार बनाइएका सम्पूर्ण राष्ट्रसेवकहरूको सहानुभूति स्वरूप हो जस्तो मलाई लाग्छ । अन्त्यमा, म सेवामा रहँदा ५ प्रकारका प्रहरी कर्मचारी देखेँ । क्षमतावान् अर्थात् आफ्नै ल्याकतले खाने, दोस्रो गुलामी गरेरै जागिर खाने र आफ्नो स्वार्थ पूरा गर्ने, तेस्रो अरुलाई मारेर वा अन्यायमा पारेर खाने, चौथो अरूलाई लडाएर वा जुधाएर खाने र पाँचौं अर्थात् भाग्यले दिएको खाने । प्रहरी संगठनमा गुलामी गरेर खाने अरुलाई मारेर खाने, लडाएर खानेहरुको बिगबिगी भएको र सोही संस्कार बोकेकाहरू नै

संगठनमा पुरस्कृत हुने देखिएकाले क्षमतावान र व्यवसायिकतामा अब्बल संगठनमा बेलाबेलामा पिसिएका र उच्च तहले बहाना बनाई ढाकछोप गर्दै गर्दा रहे भएका र खाली हुने पदमा मभन्दा क्षमतावान्, योग्य, असल, नैतिकवान्, सदाचारी र व्यावसायिक प्रहरी कर्मचारीहरुको बढुवा र पदस्थापन गरिदिएमा म धन्य हुने थिएँ । मैले भन्नेपर्छ, मोलमोलैया गरी पद बेच्ने गलत तत्त्व बजारभरि छन् । होटल लजमा बडिगार्डसहित बास बनाएर बसेका छन् ।खाली पदहरूको मोलतोल हुँदै होला, लोभीपापीहरु योग्य भन्दै तिनका वरिपरि धाउँदै होलान् । राम्रालाई पछि पार्दै हाम्रा, निकटका र रुचाइएकाहरू गणेशभक्ति गाउँदै अघि सर्दै होलान् । म निवेदन गर्छु, यसलाई अबका दिनमा सरकार र प्रहरी संगठनले अवश्य नै ध्यान दिनेछ । मैले जुन परिवेश र संस्कारका कारण दुःखी हुँदै सेवाबाट अलग हुने निर्णय गर्नुपर्‍यो त्यस्तो अवस्था अरुका लागि नआओस् । नेपाल प्रहरी मेरो प्यारो संगठन हो र यो संगठन अन्यायी, अत्याचारी र लोभीपापीहरुको थलो नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!