पेट्रोलियम पाइपलाइनका नेपाललाई बहुआयमिक फाइदा

1 min read

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरसँगै मंगलबारदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण कार्य सुरु भएको १७ महिनाभित्रै निर्माण सम्पन्न भएको हो। ३० महिना लाग्ने अनुमान गरिएको यो परियोजना समयभन्दा चाँडो निर्माण सम्पन्न भएको छ। अक्सर परियोजना निर्माणमा हुने ढिलाइप्रति यसले गतिलो जवाफ दिएको छ। पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्षभन्दा कम समयमा यसको लागत उठ्नेछ। प्रतिफलका हिसाबले आकर्षक परियोजना भए पनि निर्माणको चर्चा हुन थालेको लामो समयपछि यो परियोजना निर्माण सम्भव भएको हो। पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएर ढुवानी लागतको प्राप्त लाभ उपभोक्तामा समेत हस्तान्तरण भएको सन्देश दिएको छ।

पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागत त घट्ने नै भयो। यसका अतिरिक्त ट्यांकरमार्फत ढुवानी गर्दा हुने नोक्सानी, चुहावटमा पनि उल्लेख्य कमी आउनेछ। प्रज्वलनशील पदार्थ भएकाले यसलाई ट्यांकरमार्फत ढुवानी गर्नुभन्दा सुरक्षाका दृष्टिकोणले पनि पाइपमार्फत ढुवानी गर्नु बढी सुरक्षित र भरपर्दो हो। पेट्रोलियम कारोबारी नेपाल आयल निगमका लागि मात्र होइन, आम नेपालीका लागि बहुगुणी परियोजना हो। सडकमार्गबाट जस्तो ढुवानीमा अवरोध अब हुने छैन। पाइपलाइनबाट तेल आउने भएपछि सीमानाकाका सडक मार्गमा हुने अवरोधले यसलाई प्रभाव पार्ने छैन। मधेसमा भएको शृंखलाबद्ध आन्दोलन र पछिल्लो समय भारतको अघोषित नाकाबन्दीको समयमा जस्तो आपूर्तिमा अवरोध अब नरहने अपेक्षा गर्न सकिन्छ। विभिन्न माग राखेर भारतबाट पेट्रोलियम नउठाउने, आपूर्ति असहज बनाउने ट्यांकरचालकले पनि अब पेट्रोलियमको आपूर्तिमा अवरोध गर्न सक्ने छैनन्।

यसबाहेक नेपालका प्रमुख व्यापारिक नाका बीरगञ्जमा ट्यांकरहरूको लामबद्ध हुँदा औद्योगिक कच्चा पदार्थलगायत अन्य मालवस्तु बोकेका ट्रकहरूको भन्सार जाँचपासमा ढिलाइ हुने गरेको थियो। यसले गर्दा अन्य मालवस्तुको जाँचपास सहज भई व्यापारमा सहजीकरणसमेत हुनेछ। अर्कोतर्फ उक्त रुटमा ट्यांकरको उपस्थिति कम भएसँगै सडक सुरक्षामा अभिवृद्धि हुने अपेक्षा गर्न सकिन्छ।काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको सबैभन्दा बढी उपभोग हुने गर्छ। काठमाडौंमा उपभोग हुने ७० प्रतिशत पेट्रोलियम बीरगन्ज नाका भएर आउने गरेको छ। पाइपलाइन निर्माणले काठमाडौंमा पेट्रोलियमको आपूर्तिलाई अझै सहज बनाउनेछ।

अत्यावश्यक वस्तु मानिने पेट्रोलियम पदार्थ आपूर्तिको सबैभन्दा उत्तम विकल्प पाइपलाइन नै हो। पाइपलाइनले आम नेपालीलाई ऊर्जा सुरक्षाको सामान्य हदसम्मको प्रत्याभूतिसमेत दिन सफल भएको छ। यसकारण यस्ता पाइपलाइनलाई सम्भव हुने अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ। सिलिगुढी–झापा पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन कार्य अघि नै बढिसकेको छ। अमलेखगञ्जकै पाइपलाइन विस्तार गरेर चितवनको सीमा लोथरमा भण्डारण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। ढुवानी लागत घटाउन सम्भाव्य ठाउँमा मुलुकभित्रै पेट्रोलियम पाइपलाइन विस्तार गर्नुपर्छ। पश्चिम नेपालका अन्य नाकासँग नजिक सीमावर्ती भारतका डिपोहरूबाट पाइपमार्फत पेट्रोलियम ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्छ।- अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।

Facebook Comments
error: Content is protected !!