अब सरकारले कसैलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न सकिन्न, घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुस् !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९)को आशंका देखिए सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले नराख्ने बताएका हुन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए। ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले मिलाउने जानकारी दिँदै उनले भने,

‘कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने छ । उनले ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्रै सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने जानकारी दिए । मंगलबार मन्त्री ढकाललाई भेटी सङ्घका संयोजक रामप्रसाद सापकोटाले सरकारलाई भाइरसको सङ्क्रमण हुन नदिन पूर्वसचेतनाका लागि आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै मन्त्री ढकालले सङ्क्रमण फैलिन नदिन सरकारले पर्याप्त तयारी गरेको बताए। उनले कोरोनाको सङ्क्रमण रोक्न पहल गरिएको जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा यथार्थ भन्दा अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेका सन्दर्भमा सरकारले तत्काल सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको सङ्क्रमणबाट जोगिने, सङ्क्रमित भइहालेमा आवश्यक उपचार गर्ने तथा अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्ने, भाइरसबाट सङ्क्रमण भइहालेमा मृ’त्युदर एकदमै कम रहेको र उपचार हुने कुरामा नागरिकलाई विश्वस्त बनाउनुपर्ने, विमानस्थल, भारतीय सीमा नाकामा स्वास्थ्य चेकचाँजको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस सङ्क्रमित मुलुकबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै सङ्क्रमण नफैलने सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।

यस्तै भाइरस सङ्क्रमित बिरामीलाई उपचार गर्ने सामग्रीको प्रर्याप्त व्यवस्था गर्नुपर्ने, राजधानी शहर काठमाडौंँलगायत उपत्यकामा कम्तीमा तीन र देशका मुख्य शहरमा रहने गरी प्रदेशस्तरमा एक÷एकवटा रुघाखोकी, ज्वरो परीक्षण र आइसोलेशन वार्डसहितको अस्थायी कोरोना फोकल अस्पताल, सम्भव भएसम्म आइसोलेशन ल्याब र नमूना सङ्कलन केन्द्र तोक्ने व्यवस्था गर्नुपर्ने माग सङ्घको छ । सङ्क्रमणको अवस्था आइहाले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नुका साथै निजी अस्पताललाई पनि सङ्क्रमणसम्बन्धी एकीकृत योजनाभित्र राखी परिचालन गर्नुपर्नेसमेत माग राखेका छन् ।

युवा सङ्घले विदेशमा रहेका नेपालीमा सङ्क्रमण भएका समाचार आइरहेका भन्दै उनीहरुको उपचारमा नेपाली दूतावासको परिचालन तथा बाँकी नेपालीका बारेमा सम्बन्धित देशमा रहेका दूतावासमार्फत नेपाली नागरिकलाई सङ्क्रमणबाट जोगिने उपाय, भइहाले उपचारको प्रबन्ध र स्वदेश फर्कन चाहनेलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी देश फर्कने अवस्था सिर्जना गर्नुपर्ने माग राखेको छ ।

नजिकैका छिमेकी दुवै मुलुक कोरोनासँग लडिरहेको यस परिवेशमा स्वास्थ्य क्षेत्रका औजार, औषधि र खाद्यान्न जस्ता सामग्रीको आवश्यक आपूर्ति नहुन सक्ने र औषधि, सेनेटाइजर तथा मास्क, खाद्यान्न र इन्धन जस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना हुन थालिसकेकाले गृह तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार व्यवस्थापन, खाद्य तथा जनस्वास्थ्य सामग्रीको आपूर्ति र कालोबजारी रोक्ने काममा प्रभावकारी कदम चाल्नुपर्ने समेत युवा सङ्घले माग गरेको छ । हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!