कोरोना भाइरसको ड’रले हेल्थ डेस्क छाडेर ‘भागे’ स्वास्थ्यकर्मी

1 min read

वीरगन्ज। छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९)का तीन दर्जनभन्दा बढि संक्रमित भेटिसकेको अवस्थामा नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जमा भने चरम लापरवाही गरिएको छ। भारतको बिहारसँग खुल्ला सीमा जोडिएको वीरगन्जको नाका हुँदै भारतबाट दैनिक १० हजार भन्दा बढि मानिस पैदल र सवारी साधनमा आउजाउ गर्छन्। नेपाल प्रवेश गर्ने हरेक नाकामा उच्च सतर्कता अपनाउन सरकारले निर्देशन पनि दिएको छ। तर नेपालकै मुख्य प्रवेशद्धार वीरगन्जको इनर्वा नाकामा भने सुरक्षा सतर्कतामा लापरवाही गरिएको छ।

वीरगन्जको इनर्वा नाका हुँदै भारतीय र विदेशी नागरिकहरु बिना चेकजाँच निर्वाध रुपमा आउजाउ गरिरहेका छन्। कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाले इनर्वा नाकामा माघ अन्तिम सातादेखि हेल्थ डेस्क स्थापना त गरेको छ। तर उक्त हेल्थ डेस्क दुई दिन यतादेखि खाली छ। इनर्वा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य चेकजाच र शरिरको तापक्रम नाप्न हेल्थ डेस्क स्थापना गरि तीन जना हेल्थ असिस्टेण्ट खटाइएको दाबी महानगरपालिकाको छ।

तर आइतबारदेखि हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी नै हेल्थ डेक्स छाडेर हिँडेकाले भारतबाट इनर्वा नाका हुँदै भारतीय र अन्य मुलुकका गरि दैनिक हजारौं विदेशी नागरिक बिना चेकजाच निर्वाध रुपमा प्रवेश गरिरहेका छन्। शनिबारसम्म इनर्वाको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले नेपाल प्रवेश गर्ने तेश्रो मुलुकका विदेशीलाई रोकेर डिजिल थर्मामिटरले तापक्रम चेकजाच गर्ने गरेका थिए। तर आइबारदेखि भने हेल्थ डेस्क नै स्वास्थ्यकर्मी बिहिन बनेको इनर्वा नाकामा रहेको प्रहरी चौकीका एक प्रहरीले बताए। सोमबार बिहान ११ बजेतिर हेल्थ डेस्क स्थापना गरिएको इनर्वा नाकामा पुग्दा पनि हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थिएनन्।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी डरले हेल्थ डेस्क छाडेर हिँडेको हुन सक्ने बताए। डेस्कमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपकरण वा साधनश्रोत महानगरपालिकासँग नभएको भन्दै नगर प्रमुख सरावगीले भने ,‘सरकारले निर्देशन मात्रै दिएको छ तर हेल्थ डेस्कमा आवश्यक उपकरण र साधनश्रोत भने नदिएका कारण समस्या भएको छ। महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महत्तोले भने हेल्थ डेस्कमा दिनमा एक र रातिमा दुई गरि तीन जना स्वास्थ्यकर्मी खटाइएको दाबी गरे।

होली सकिए लगत्तै हेल्थ डेस्कमा थप चार जना स्वास्थ्यकर्मी खटाइने जानकारी दिँदै उनले भने ,‘ अहिले तेश्रो मुलुकका विदेशी नागरिकलाई मात्र चेकजाच गरेर प्रवेश गर्न दिइएको छ , होली पछि भने वीरगन्ज प्रवेश गर्ने भारतीय नागरिकको पनि चेकजाच गर्ने प्रबन्ध मिलाइन्छ। नाकाको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मी हेल्थ डेस्क नै छाडेर हिँडेको भन्ने विषयमा आफुलाई कुनै खबर नभएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए। उनले भने ‘अब खबर पाए, यसबारेमा बुझेर महानगरपालिकाका जिम्मेवार शाखाका कर्मचारीलाई तत्कालै हेल्थ डेस्कमा स्वास्थ्यकर्मीलाई खटाउन निर्देशन दिन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!