प्रधानमन्त्री,ज्यू काम नलाग्ने मिर्गौला त फेर्नुभयो, तर काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ?

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदले भ्रष्टाचारविरुद्ध सवाल उठाएका छन्। शुन्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी र डिला संग्रौला पन्तले प्रधानमन्त्रीको आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए। सांसद तेजुलाल चौधरीले काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपर्ने हुन्छ भने देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई किन नफेर्ने? आशयको भनाइ राखे। उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ।

आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन?’उनले सेक्युरिटी प्रेस अडियो कान्डमा मुछिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्रीतिर संकेत गर्दै उक्त भनाइ राखेका हुन्। देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।यसैगरी डिला संग्रौला पन्तले पनि देशमा कोरोना जस्तै भ्रष्टाचारले सताएको बताइन्। उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’

उनले प्रधानमन्त्रीले रोगसँग आफ्नै दृढ विश्वासले जितेको बताइन् । तर, भ्रष्टाचारसँग जित्ने नसकेको उनका भनाइ थियो । उनले भनिन्, ‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन । सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन । कारबाही हुनैपर्छ ।’त्यस्तै नेकपा सांसद नवराज शिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अफ्रिकी नेता नेल्सन मन्डेलासँग तुलना गरेको छन् । उनले दुबैमासमानता रहेको बताए ।शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शिलवालले अस्वेत नेता नेल्सन मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएका उल्लेख गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकले चाहिरहेको र प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट छिट्टनै फर्किने पनि उनले विश्वास व्यक्त गरे ।उनले देशले प्रधानमन्त्री ओलीको नेतृत्व अझै पर्खिरहेको बताए । उनले नेपालमै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफल शल्यक्रिया भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!