हुम्लामा खच्चडबाट ग्याँस ढुवानी, एक सिलिण्डर ग्याँसको मूल्य १२ हजार ५ सय पर्छ”

1 min read

हुम्ला। जनकबहादुर शाही – राष्ट्रिय सडक सञ्जालले नजोडिएको हुम्ला सदरमुकाम सिमकोटमा खाना पकाउने ग्याँस सिलिण्डर १२ हजार ५ सय रुपैयाँमा किनबेच हुने गरेको छ । खच्चडबाट ग्याँस आयात गरिएको एक सिलिण्डर ग्याँसको १२ हजार ५ सय रुपैयाँ पर्ने गरेको हो । यस बर्ष हुम्लामा लामो समयको हिमपातपछि दाउराको अभाव भएका कारण जिल्ला सदरमुकाम सिमकोटका बासिन्दाले चर्को मूल्य तिरेर ग्याँसको प्रयोग गर्न बाध्य भएका छन् ।

सडक सञ्जालसँग जोडिएको जिल्ला मुगुको गमगढीमा एक सिलिण्डर ग्याँसको ४ हजारमा किनेर गमगडीदेखि सदरमुकाम सिमकोटमा खच्चरबाट ढुवानी गरी ल्याएको ग्याँसप्रति सिलिण्डरको १२ हजार ५ सय रुपैयाँमा किनेर खाना पकाउनु पर्ने बाध्यता रहेको सिमकोटकी स्थानीय मधु शाहीको गुनासो छ । यसअघि अत्यावश्यक परेको बेला मात्र ग्याँस चुल्हो प्रयोग गर्ने गरेको भए पनि हिमपातपछि दाउराको समस्या हुँदा ग्याँसको प्रयोग गर्ने गरेका शाहीले बताउनुभयो ।

हुम्लाको सिमिकोट बजारका आधा दर्जन घरमा ग्याँस चुल्हो बल्ने भएपनि हिमपातको कारण यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको स्थानीय ब्यापारी लोकेन्द्र शाही बताउनु हुन्छ । अहिले सिमकोट बजारमा बस्ने सरकारी कर्मचारी, होटेल र केही स्थानीयका घरमा ग्यास चुलो प्रयोग हुन थालेपछि ग्यासको माग बढ्न थालेको छ ।

सकिएको ग्याँस भर्न खच्चडबाट मुगु हुँदै नेपालगञ्ज पठाउने गरेको व्यापारी शाहीले बताउनुभयो । नेपालगञ्ज जान चार दिन र आउन चार दिन गरी एउटा ग्यास सिलिण्डर भर्न आठ दिन लाग्छ । ग्याँस भरेर ल्याउन समय लाग्ने र समस्या हुने हुँदा पनि ग्याँसमा खाना पकाउनेको संख्यामा बृद्धि भएपछि ग्याँस सिलिण्डरको आयात बढाउने तयारी भइरहेको पनि शाहीले बताउनुभयो । NEWS24बाट

Facebook Comments
error: Content is protected !!