देशमा सिर्जना भएको रोजगारीबाट त अरुले नै पो लाभ लिइरहेका रहेछन्

मिडियाकर्मीहरु समाजको ऐना हो, आँखा हो । तर, आँखा नै बन्ने कि चस्मामात्रै बन्ने त्यो तपाईंहरुकै हातमा छ । हो, तपाईंहरु आँखा बन्नुभयो भने जे छ सत्य त्यही देखिन्छ । चस्मा बन्नुभयो भने जस्तोले लगायो, त्यस्तै देखिन्छ ।
मेरो अनुरोध छ कि तपाईंहरु आँखा हुनुस्, चस्मामात्रै नबन्नुस् । – यहाँ व्यावसायिक रुपमा काम गर्दैगर्दा मिडिया हाउसहरुका लागि काम गर्नुपर्छ र उहाँहरुकै चस्मा लगाईदिनुपर्ने हुन्छ । अनि त्यो चस्मा लगाउँदिन भन्दा तपाईंहरुको सेवा असुरक्षित बनिदिन्छ । त्यसकारण चस्मा लगाईदिनेले पनि सोच्नुपर्छ कि पत्रकारितामा व्यावसायिकता भनेको सरकारले मात्रै हुँदैन । तर, सरकारले तपाईंहरुलाई रोजगारी पनि दिएको छैन ।

रोजगारी दिने र तपाईंहरुलाई आवद्ध गर्नेहरु जो आफैं स्वरोजगार हुनुहुन्छ, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ । तर तपाईंहरु कसैको मिडिया हाउसमा आवद्ध हुनुहुन्छ । त्यसैले तपाईंहरुले आफ्नो विवेक, न्यायिक मन र व्यावसायिक धर्म पालना गरेर पत्रकारिता गर्नुस् । यसो गरे मलाई लाग्छ आजको जोखिमपूर्ण पत्रकारिता नै त्यहि हुनेछ । भीडमा गएर फोटो खिच्ने अथवा हुलदंगाको न्युज ल्याउने भन्दा आफ्नो ब्रह्मले देखेको कुरा निर्भिक भएर लेख्न सक्ने पत्रकारितालाई मैले जोखिमपूर्ण पत्रकारिता भन्छु । कुनै पनि पेशा व्यवसाय अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ ।

आर्थिक वृद्धि भएन भने रोजगारी, राजस्व, राज्यले दिने सामाजिक सुरक्षा र पत्रकारहरुले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्छ । आज देशमा त्यहि आर्थिक वृद्धि सकारात्मक भैरहेको छ । ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । सरकारले बढी बोल्यो भन्ने हो भने विश्व बैंकको रिपोर्टमा पनि त्यहि कुरा लेखिएको छ । यत्रो आर्थिक वृद्धि भैरहँदा पनि यो भएन, त्यो भएन भन्ने कुरा के हो ? हामीले त्यहाँ भित्र केहि कुरा मिलेका छैनन् भने मिलाउने कुरा हो ।

तर, समग्रमा मुलुकको क्षमता बढेको छ । आर्थिक वृद्धि दर बढेको छ । त्यो आर्थिक वृद्धिसँगै राज्यले थप काम गर्ने क्षमता बढेको छ । व्यावसायिक वातावरण त्यसकै जगमा बन्ने हो । भारतमा ७ बाट झरेर ५ प्रतिशत आर्थिक वृद्धि हुने भयो भन्दा नेपालमा धेरै रुवाबासी चलेको छ, त्यो किन भैरहेको छ, मैले बुझ्न सकिरहेको छैन । हाम्रै आर्थिक वृद्धिदरका बारेमा अलि बढी चिन्ता गरौं न ।

त्यसको केहि हदसम्म हामीलाई असर पर्न सक्छ । त्यो हामीले हेर्छाैं, सरकारलाई सचेत पनि गराउनुस् ।
विदेशमा हेर्नुस् त युरोपियन र अमेरिकी मुलुकहरुले ५ प्रतिशतको आर्थिक वृद्धि नदेखेको दशकौं भयो । ३ देखि ३.५ प्रतिशतको वृद्धि हुँदा अर्थतन्त्र ‘बुम’ भयो भन्छन् उनीहरु । एसियाली देशले २ दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर हाम्रो बानी बिगारिदिए । ८ देखि १० प्रतिशतको वृद्धि दुई दशकसम्म हासिल गरिदिनुभयो । त्यसलाई त म मिराकल भन्छु । त्यो मिराकल धेरै दिन टिक्दैन ।

उच्चदरको आर्थिक वृद्धि निश्चित समयमसम्म मात्रै हुन्छ, सधै हुँदैन । विश्वव्यापी प्रकाशनहरुले पनि अविकसित अवस्थाबाट विकासशिल देश बन्छ, तब त्यो आयको ट्र्यापमा आफैं पर्छ । यसलाई मिडल इनकम ट्र्याप भन्छ । किनभने यसले ज्याला बढाउँछ, मानिसले श्रम र विश्राममध्ये विश्राम रोज्छन् । श्रमभन्दा विश्रामलाई ध्यान दिएर बढी ज्याला नपाएसम्म मान्छेले काम गर्दैन । मान्छेले धेरै आराम खोज्न थालेपछि उत्पादन घट्छ । अनि मुलुकको प्रतिस्पर्धात्मक क्षमता घट्छ ।

प्रतिस्पर्धात्मक क्षमता घटेपछि मुलुकको निर्यात पनि घट्छ । आफ्ना उत्पादन भनेजति प्रतिस्पर्धी नभएपछि अािर्थक वृद्धिमा अलिकति असर गर्छ । अहिले भारतमा पनि भएको त्यति मात्रै हो । अहिले विश्व व्यापारमा देखिएको तनावले निर्यातलाई अलि बढी नै आर्थिक वृद्धिमा योगदान गरिरहेका मुलुकहरुको आर्थिक वृद्धिमा केहि समस्या देखिइरहेका छन् । तर यी समस्या क्रमशः हल हुँदै जानेछन् । विश्व आर्थिक र व्यापारिक रुपमा खुला नीतिबाट पछाडि जान सक्दैन । हामीजस्ता साना मुलुकहहरुले भन्ने पनि यहि नै हो । अर्काे कुरा मुलुकभित्र आर्थिक वृद्धि त हुन्छ तर त्यसले रोजगारी सिर्जना गरेन र असमान भयो भने के हुन्छ ? तपाईंहरुले उठाउनुपर्ने कुरा चाहिँ यो हो ।

हाम्रो आर्थिक वृद्धिले कति रोजगारी सिर्जना गर्यो ? किन गरेन ? ५ लाखभन्दा बढी रोजगारी चाहिन्छ भनिएको थियो, कति सिर्जना भयो त ? यसलाई छलफलको विषय बनाउनुपर्छ । हामीले रोजगारी सिर्जना भएन कि भन्दा त अरुका लागि पो रोजगारी सिर्जना भइरहेका रहेछन् । प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ । भारतका र देशै नचिन्नेहरुले रोजगारी पाइरहेका छन् । नागरिकतै छैन, प्यान लिन सकिन्न भन्दै आइरहेका छन् । अहिले बुझियो, देशमा सिर्जना भएको रोजगारीबाट त अरुले नै पो लाभ लिइरहेका रहेछन् ।

कुराहरु उदागिँदै आएको छ, हामीले सिर्जना गरेको रोजगारीको अवसर नेपालीलाई दिन सकिएन, वा नेपालीहरुले काम गर्नै चाहेनन् वा अरु यस्तै केहि भयो । त्यसमा हामीले छलफल गर्नुपर्छ । पत्रकारहरुले अनुसन्धानमूलक कलम चलाइदिनु पर्नेछ । अर्काे कुरा, हामीले आर्थिक वृद्धि त गर्यौं तर त्यो कसको कारणले भयो ? त्यसमा कुन कुन क्षेत्रको योगदान बढी देखियो ? कुनै एक–दुईवटा उद्योगहरुले धेरै आम्दानी गरेर पो आर्थिक वृद्धि भएको हो कि ? वित्तिय क्षेत्र वा उद्योग वा कृषि वा व्यापारमात्रै बढेर हो की ? भन्नेबारे छलफल गर्नुपर्छ ।

म तपाईंहरुलाई एउटा कुरा स्पष्टसाथ भन्न चाहन्छु– गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान छ ।
कृषि क्षेत्रको वृद्धि ५ प्रतिशत भन्दा माथिको छ । अरु केहि क्षेत्रको वृद्धि ८ प्रतिशत भन्दा बढी छ । र समग्र आर्थिक क्षेत्रको वृद्धि ७.१ प्रतिशत माथि छ । कृषि बाहेक सबै क्षेत्रको योगदान ५ प्रतिशत भन्दा माथि रहेपछि ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको हो । यसैगरी सबै क्षेत्रका अर्थिक क्रियाकलाप सन्तुलित ढंगले हासिल भएको तथ्यांकले देखाउँछ । यो राजधानी, काठमाडौं, तराई क्षेत्रको मात्रै आर्थिक वृद्धिले मात्रै सफलता पाएको होइन । सबै प्रदेशहरुको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत छ ।

प्रदेश र स्थानीय तहमा साधन र श्रोत समन्यायिक ढंगले वितरण हुन थालेपछि त्यसले अर्थतन्त्रको विकासमा ठूलो भूमिका खेलिरहेको छ । जगबाट नै आर्थिक वृद्धिको आधार खडा भैरहेको छ । संघीयताको सन्दर्भमा यस्तो तथ्यांकको विश्लेषण गरिनुपर्छ । त्यसमा तथ्यांकको अभाव हुन सक्छ । कहिलेकाहीँ हामीलाई भ्रम पनि हुन सक्छ । अहिले ७ सय ६१ वटा सरकार छन् । तिनको राजस्व र बजेट छुट्टाछुट्टै छन् । साझा अधिकारका कुरा पनि छन् । अब वित्तिय संघीयता कार्यान्वयनका सवालमा प्रदेश र स्थानीय तहबाटै वित्तीय अनुशासन कायम होस्, लगानीको प्रतिफल नागरिकले पाउन् भन्ने हाम्रो शुभेच्छा हो । राज्यले उठाएको श्रोतको दुरुपयोग रोक्न पनि कलम चलाउनुस्, हामी स्वागत गर्छाैं ।

मुलुक रुपान्तरित हुँदै गर्दा हामी आफू पनि रुपान्तरण हुनुपर्छ । मिडिया हाउसको प्रदेशमा पहुँच, सोही अनुसारको सामग्री उत्पादनमा पनि ध्यान दिनुपर्छ । अब मिडियाहरु पनि स्थानीयदेखि प्रदेशसम्म संरचना बनाइनुपर्छ । तपाईंहरुले आफ्नो संगठनलाई प्रदेश तहसम्म पुर्याउनु भएको रहेछ, त्यो मलाई पनि खुसी लाग्यो । हामीले कतिपय वित्तिय संस्था र सेवाहरुलाई पनि प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्नेछ । त्यो अर्थमा पुँजी बजारलाई पनि त्यही पुर्याउने हो । त्यसको पहिलो आधार भनेको वित्तिय क्षेत्र नै हो । २ वर्षमा बैंकका शाखा ५० प्रतिशतले बढेका छन् । डेढ वर्षको अवधिमा साढे ६ हजारबाट साढे ८ हजार पुगेछन् ।

मन्त्री हुनुभन्दा अघि मैले बीमाको पहुँच ५ प्रतिशत भन्दा माथि पुग्यो भन्नै पाइनँ । राष्ट्र बैंकको गभर्नर हुँदा निक्षेपको बीमा गर्ने व्यवस्था गरेपछि कयौं खाता निक्षेप बीमाको दायरामा आएका छन् । त्यसमा लघु बीमा तथा निर्जीवन बीमाको हिस्सा पनि निकै कम छ । बीमाको पहुँच १० प्रतिशत भयो भन्ने सुन्दा निकै हर्षित हुनुपर्ने अवस्था थियो मै अर्थमन्त्री हुँदा । अघिल्लो आर्थिक वर्षको १९ प्रतिशत नागरिक बीमाको दायरामा आएको भन्ने सुनेको थिएँ । अहिले सुन्दैछु, त्यो २५ प्रतिशत पुग्यो रे । यो खुसीको कुरा हो । पाँच वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बीमाको दायरामा आएको कुुुरा सानो प्रगति होइन ।

वित्तिय क्षेत्र पनि ३६५ स्थानीय तहबाट ७ सय ३५ स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् ।
बैंकहरुको नाफा बढेको छ, बीमाको पहुँच पनि बढेको छ । त्यति धेरै बीमा कम्पनीहरु थपिँदा बजारले स्वीकार्न सक्ला त भन्ने थियो । ती कम्पनी पनि पहिलो वर्षदेखि नै नाफामा गएका छन् । बैंकिङ क्षेत्र नाफामा, बीमा क्षेत्र नाफामा, उद्योगहरुको क्षमतामा अभिवृद्धि, औद्योगीक उत्पादनमा बढोत्तरी भएकै छ । सेवा क्षेत्रका अरु व्यवसाय पनि विस्तार भएकै छ । अनि तिनै क्षेत्रको प्रतिनिधित्व हुने सेयर बजारमा लगानीकर्ताको गुनासा सुन्नु परिरहेको छ ।

करका विषयहरु होलान् भन्ने सुनियो । भ्याटको कुरा अर्थमन्त्री हुुनु भन्दा अघि नै नलगाउनु भनेको थिएँ । पुँजीगत लाभकर गणनाका विषयमा केहि दुविधा छन् । नेप्सेका सीईओ पनि यहीँ हुनुहुन्छ, उहाँलाई मैले स्पष्टसँग भनिदिएको छु । धितोपत्र बोर्डलाई पनि भनिदिएको छु । नेपाल राष्ट्र बैंकका हकमा पनि मैले स्पष्टसँग भनेको छु कि तपाईंहरु नियामक हो, त्यहि अनुसार काम गर्नुस् । अर्थ मन्त्रालयलाई नियामकको पनि नियामक बनाउने मौका नदिनुस् ।

तपाईंहरुले काम गरुञ्जेल हामी केही गर्दैनौं । आफ्नो काम जिम्मेवारीपूर्वक गर्नुुस् । हामी तपाईंलाई स्याबासी दिन्छौं । हस्तक्षेप गर्ने अवसर हामीलाई नदिनुस् । हामी आरोपित हुन चाहँदैनौं । आफ्नो काम ढंगसँग गरुञ्जेल हामी छुँदैनौं । तपाईंहरुले बल पास गर्ने काम नगर्नुस् । अंग्रेजीमा एउटा उखान छ ‘यु क्यान टेक हर्स टु द वाटर बट यु क्यान नट मेक इट ड्रिङ्क’ (तपाईं घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी तपाईं खुवाउन सक्नुहुन्न । पिउने काम घोडाको हो) मलाई लाग्छ, हाम्रो घोडा सक्षम छ, पानी पिउँछ, काम पनि गर्छ ।

अर्थतन्त्रका बारे केही कुरा गरौं । तपाईंहरुलाई सेयर बजार मात्र उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठूलो चिन्ता लिएर हिँड्नुपर्छ, सोच्नुपर्छ । त्यसैले तपाईंहरुसँग सधै संवाद र छलफल गर्ने समय मसँग हुन्न । समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी बोकेर हिँडिरहँदा अरु त्यसकै अंग हुन् भन्ने मेरो बुझाइ हो । ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई के के गर्नुपर्छ, त्यो हामीलाई थाहा छ । कति लगानी गर्नुपर्छ, कति पुँजीगत खर्च गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।

हामी पुँजी बजारबाट पैसा उठाउनैपर्छ भन्ने निष्कर्षमा छौं । आईपीओ, एफपीओ वा दोश्रो बजार नै किन भन्नुस्, सबै ढंगले धितोपत्र बजारको भूमिका अपरिहार्य हुन्छ । त्यसका लागि सुदृढ पुँजी बजार चाहिन्छ भन्ने सरकारको निकर्ष हो । तर सेयर निष्काशन गर्दा सेयर बिकेन भने त्यसलार्ई चाहिँ राम्रो मान्न सकिन्न । मेरो एउटा अनुरोध छ, बजारलाई खेलौना नबनाउनुस् । खेलौना कहिलेकाहीँ आगो बन्न सक्छ । आगोलाई खेलाउन थाल्दा कहिलेकाहीँ आफै जल्ने अवस्था आउँछ ।
बजेट भाषणपछि म २–३ महिना खुल्ला कार्यक्रममा आइनँ । त्यो अवधिमा चामल बेच्नेहरु आएनन् भनेर पिठो बेच्नेहरुले हैरान पारे । चामल बेच्नेहरु त कामै नलाग्ने हुन् भन्न थालियो । चामल बेच्नुपर्ने रहेछ भनेर म यहाँ आएको हुँ ।

विद्धानहरु सहनशील हुन्छन् भन्ने सुनियो, तर गालैमा चड्कन हानिरह्यो भने पनि सहेर बसिरहनु पर्ने हो र ? विद्धता पनि अचम्मको हुने रहेछ, महात्मा गान्धी एउटा गालामा थप्पड हान्यो भने पनि अर्काे गाला थाप्नुहुन्थ्यो रे । हामीले चाहिँ त्यस्तो गर्न सकेनौं अब । दुईचार चड्कन हानिसक्नु भयो, अब हाम्रा कुरा सुन्नुस् । हामी चड्कनचाअिँ हान्दैनौं । कहाँ अर्थतन्त्र बिग्रिएको छ, छलफल गरौं । गलत सूचना नदिनुस् । तपाईंको चड्कनले तपाईंलाई नै पीडा होला । तपाईंको करिअर बिग्रेला । तर, चस्मै दोषी भएपछि के गर्ने ? म पनि प्रोफेसनल करिअरबाट आएको मान्छे हुँ । हिजो पनि तपाईंहरुसँगै थिएँ र भोलि पनि हुनेछु ।तपाईंहरुले भोलि पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यहि गर्नेछु । म हिजो सत्य बोल्थेँ, आज सत्य बोल्छु र भोलि पनि सत्य नै बोलिरहने छु । तपाईंहरुले पनि त्यसै गर्नुहोला ।

हाम्रो चामललाई कनिका नभन्नुस् । मक्किएको छ नभन्नुस्, जे देख्नु भएको छ त्यहि भन्नुस् ।
हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यससपालिलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उद्देश्य पूरा हुँदैन । निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्नेछ । विदेशी लगानी पनि भित्र्याउनुपर्नेछ । त्यसको वातावरण बनाउने तपाईं पत्रकारहरुले हो । त्यसका लागि सकारात्मक भूमिका खेलिदिनुस् ।सरकारले गरेको राम्रो काम बताईदिने र नराम्रो काम गरेको छ भने झकझकाईदिने कामलाई निरन्तरता दिनुस् । हामीले गरेका सुधारका प्रयासहरुले राम्रो नतिजा दिनेवाला छ । म आजै यो वर्ष यस्तो यस्तो हुनेछ भन्दिन, त्यो ज्योतिष जस्तो हुन्छ । तर हरेक ढंगले गत वर्ष भन्दा यो वर्ष राम्रो हुनेछ । सरकारी खर्च र निजी क्षेत्र तथा वैदेशिक लगानीकै सन्दर्भमा पनि राम्रो हुनेछ ।

यहाँ कसैकसैले पिठो बेच्ने प्रयास गरिरहेका छन् । दाताहरुले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर । अघिल्लो आर्थिक वर्षमा ५५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा गत वर्ष ५७.५ अर्बको प्रतिवद्धता आएको देखियो । हामीले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने सकेका छैनौं । लगानीको प्रतिवद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरक फरक चरण हुन् । कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको छ । त्यसलाई सुल्झाउन एकद्वार प्रणाली पनि कार्यान्वयनमा ल्याएका छौं । कानुनहरु पनि संशोधन गरिसकेका छौं । अब विदेशी लगानी पनि बढ्छ ।

दाताहरुले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेकै छ । १३ खर्ब रुपैयाँ दाताहरुले दिन्छु भनेका छन् तर हामी जम्मा २ खर्ब खर्च गरेर बसिरहेका छौं । यति धेरै श्रोत छ, तर सरकारले खर्च गर्न सकेन । यसपाली हामीलाई खर्च नगर्ने छुट छैन । बजेटमै सहयोग गर्ने क्रम पनि बढिरहेकै छन् । सरकारको वित्तीय अनुशासनप्रतिको विश्वसनियता हो । तर पनि दाताले पत्याएनन् भन्न पनि भ्याउँछन मान्छेहरु । त्यसकारण पनि म पिठो बेच्नुपर्ने रहेछ भनिरहेको छु र सार्वजनिक कार्यक्रमहरुको उपयोग गरिरहेको छु ।कुन मुलुकमा लगानीको वातावरण कस्तो छ भनेर हेर्दा कानुनदेखि नियमन, सुशासन, प्रशासकीय व्यवस्था, गोदाम घर, कुरियर, यातायात सेवासम्म जोडिन्छन् । यसमा ५ नम्बर ल्याउने देशलाई राम्रो मानिने रहेछ । हाम्रो देशले २.५ अंक ल्याएको रहेछ । आगामी वर्ष हामीले ३ अंक ल्याउने सोच बनाएका छौं ।

डुइङ बिजनेसमा पनि त्यही नै हो । कतिपय अवस्थामा देशकै बारेमा पनि गलत तथ्य रिपोर्टिङ भैरहेको पायौं । नेपाल सरकारले दिएको तथ्यांक गलत छ भनेर लबिङ भैरहेको छ । आफ्नै देश र अर्थतन्त्रबारे गलत ब्रिफिङ भैरहेको छ । अजम्बरीको बुटी लिएर को नै आएको छ र लाइफ ज्याकेट नै लगाएको रहेछ भने सँगै डुबाउने हो अब । देशकै विरुद्ध लबिङ नगर्नुस्, देशको साख गिराउने काम नगर्नुस् । हामी एउटै डुंगाका यात्री हौं । सरकार आइरहन्छ, गैरहन्छ । अर्थतन्त्र एउटै हो, त्यसलाई डुबाउने काम नगरौं । तपाईंहरुका कुरा बुझ्न म पनि तयार छु, तपाईंहरु पनि तयार हुनुहोस्, सहकार्य गरौं । अर्थतन्त्रमा विश्वास जगाउने अभियानमा तपाईंहरुको कलम चलोस् । सबै कुरा हाम्रो हातमा हुन्न तर धेरै कुरा हाम्रो हातमा हुन्छ । हामीसँगै मिलेर देश बनाउने अभियानमा लागौं ।(अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को दशौं वार्षिकोत्सव तथा साधारणसभामा राखेको मन्तव्य) (१२खरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!