शालीनदीमा स्वस्थानी मेला दर्शनार्थीकाे घुइँचाे- मनोकांक्षा पूरा हुने विश्वास’

1 min read

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्। एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि सम्पूर्ण तयारी सम्पन्न भइसकेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए। यस वर्ष शालीनदीमा एक सय ९७ जना व्रतालुमध्ये १ सय ८१ जना महिला र १६ जना पुरुष रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

शालीनदीको कुण्डमा नुहाइ धुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले भक्तालुहरु शालीनदी आइपुगेका हुन्। यो मेला प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ। मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। व्रत बस्नेले महिनाभरि प्रत्येकदिन नुहाइ श्रीस्वस्थानीको पूजा कथा श्रवण गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मर्त्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको भन्ने प्रसंग स्वस्थानी कथामा छ।

शुक्रबार श्रद्धालुहरुले बिहानै कठ्यांग्रिदो चिसोको परवाह नगरी स्नानका लागि शालीनदी पुगी ब्रत शुभारम्भ गरेका छन् । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ । सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानको देवी’ भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

Facebook Comments
error: Content is protected !!