खाना खेर जान नदिन साउदी अरबमा बन्यो यस्तो थाल !

काठमाण्डौ – साउदी अरबमा बर्सेनि प्रत्येक घरबाट झण्डै २ सय ५० किलो खाना खेर जान्छ ।यही खाना खेर जाने क्रमलाई रोक्न एउटा विशेष प्रकारको थालको डिजाइन गरिएको छ ।नयाँ डिजाइन गरिएको थालमा धेरै खाना देखिन्छ। थाली को बीचमा धेरै गहिराइ नभएको हुँदा थोरै खाना पस्किए पनि धेरै देखिन्छ । यसरी खाना फाल्नबाट जोगाउन सकिन्छ । यसलाई तयार गर्ने उद्यमी मशाल अल्काहरशीले नयाँ थालको मद्दतले ३० प्रतिशतसम्म खाना खेर जान रोकिएको दावी गरेका छन् । साउदी अरबमा खाना पस्किने तरिका थोरै भिन्नै छ ।

थालमा धेरै खान पस्किने गरिएको छ । उद्यमी अल्काहरशीले तयार गरेको थाल साउदी अरबको धेरै रेस्टुरेण्टमा प्रयोग गरिसकिएको छ । यो थालको मद्दतले वर्षमा झण्डै ३ हजार टन चामल खेर जानबाट जोगाउन सक्ने दावी गरिएको छ । गएको वर्ष रियादको किंग सउद विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार यहाँ सरकारी आर्थिक सहायताका कारण खाना कम मूल्यमा नै सरल तरिकाबाट पाइन्छ, जसलाई स्थानीयले गम्भीरतापूर्वक लिँदैनन् र खाना खेर जाने गर्दछ । साउदी अरबमा खानालाई पोषक तत्व नभइ सांस्कृतिक पहिचानको रुपमा लिइन्छ । मानिसहरु धेरै खाने बानी र बढ्दो शारीरिक तौललाई मध्यनजर गर्छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार साउदी अरबमा ४० प्रतिशत जनसंख्या मोटोपनाको समस्याबाट ग्रसित छन् । साउदी अरबमा तेलको मूल्यमा वृद्धि हुँदा मानिसमा तीन वटा शोख थियो– सपिङ, खानामा रमाउने र प्रार्थना गर्ने । यद्यपि यसमा समयसँगै परिवर्तन आएको छ । साउदी अरबको फूड बैंक र अन्य संस्था मिलेर होटल, विवाहको आयोजन स्थलमा बढी भएको खाना जम्मा गरेर आवश्यक ठाउँमा पुर्याउने गर्दछन् । यी संस्थाले खाना खेर फाल्नेलाई दण्डित गर्न पनि सरकारसँग माग गरिरहेका छन् । जल एवं कृषि मन्त्रालयका अनुसार साउदी अरबमा प्रत्येक वर्ष हरेक घरबाट २ सय ५० किलो खाना खेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!