बंगलादेशलाई हराउँदै पुरुष फुटबलमा नेपाल फाइनल पुग्यो, स्वर्णका लागि भुटानसँग भिड्ने

1 min read

काठमाडौं, २२ मंसिर । १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालको प्रतिस्पर्धा फाइनलमा भुटानसंग हुनेछ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।

नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ । शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो । नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जितेको थियो । सन १९९९ र २०१६ मा स्वर्ण जितेको थियो ।

नागरिकतासम्बन्धी कानून तत्काल बनाउन माग
नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् । आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट नागरिकता लिन नपाएको उनीहरुको गुनासो छ ।

महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिकताबाट वञ्चित व्यक्ति र सांसदसँगको छलफल’ कार्यक्रमका वक्ताले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट पारित हुनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समाजमा अझै पनि पितृसत्तात्मक सोच र मानसिकता कायमै रहेकाले आमाको नामबाट नागरिकता लिन सर्वोच्च अदालत धाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले नागरिकतासम्बन्धी विधेयकमा भएका असहमतिलाई संसद्को पूर्ण बैठकमा छलफल गरेर भए पनि आगामी अधिवेशनबाट पारित गर्नुपर्ने धारणा व्यक्त गरे । सङ्घीय सांसद विन्दा पाण्डेले ‘बहसमा वंशीय पहिचान र राज्यविहीनता’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा नागरिकताप्राप्ति सम्बन्धमा भएका कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । उनले नागरिकताबाट वञ्चित नेपाली नागरिकको विषय महिला वा पुरुषको सवालभन्दा पनि नागरिक राज्यविहीन हुनु हुँदैन भन्ने विषयसँग सम्बन्धित रहेको बताए ।

मञ्चका अध्यक्ष मीरा दुङ्गानाले आवश्यक कानूनको अभावमा आमाले आफ्नो नामबाट नागरिकता दिन चुनौती बनेको बताउँदै नागरिकता नभएका व्यक्तिले राज्यका हरेक अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरीन् । कार्यक्रममा सुकमाया लामा, शिवराम परियार, अर्जुन साह, मोहम्मद इस्लाम, सुमन भुसाल, सुरज हजारे लगायतले आफूहरु नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित हुँदाको पीडा सुनाउँदै समस्या समाधानका लागि तत्काल नागरिकतासम्बन्धी कानून बन्नुपर्ने माग गरेका थिए ।

Facebook Comments
error: Content is protected !!