लिपुलेकसम्म पुग्न क’डा चट्टान फोडेर धमाधम सडक निर्माण गर्दै भारत !

1 min read

दार्चुला । नेपाली भूमि लिपुलेकसम्म पुग्न भारतले सडक निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ। दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई भारतले सन् २०२० सम्म पूरा गर्ने लक्ष्य लिएको छ। सीमा सडक संगठन (बिआरओ) ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक सन् २०१४ मै पूरा हुनुपर्ने भए पनि कडा चट्टानी भूभागका कारण २७ किलोमिटर क्षेत्रमा सडक बन्न सकेको छैन।

भारत सरकारले प्राथमिकतामा राखेको उक्त सडकको भारततिरको भूभाग मात्रै सडक बन्न नसकेको हो भने कालापानी क्षेत्रमा १० किलोमिटर (नाबिढाङसम्म) सडक निर्माण गरिसकेको छ। नाबिढाङबाट ९ किलोमिटर उत्तरतिर लिपुपाससम्म सडक निर्माण गर्ने कार्य जारी राखेको छ। भारतीय क्षेत्र छियालेकदेखि कालापानीसम्म (करिब ३९ किलोमिटर) भारतले सडक निर्माण गरी नियमित गाडीमा गस्तीसमेत गर्ने गरेको छ। नदी किनारामा भारतले बनाउँदै गरेको सडक।

भारतीय क्षेत्रमा धारचुलाबाट उत्तरतिर महाकाली नदी किनारै किनार ३८ किलोमिटर (गर्बाधारभन्दा उत्तरतिर) सम्म सडक निर्माण गरेको छ भने सो क्षेत्रबाट करिब २७ किलोमिटर (छियालेकसम्म) सडक निर्माण कार्य जारी राखेको छ। यो क्षेत्रको बीचमा पर्ने मालपा, लमारी क्षेत्रमा बीचबीचमा सडक निर्माण गर्ने कार्य जारी राखेकोले २७ किलोमिटरमध्ये पनि आधाभन्दा बढी भूभागमा सडक निर्माण भइसकेको र केही चट्टानी भूभागमा मात्रै सडक बन्न बाँकी रहेको छ।

नेपालको सडक ४० किलोमिटर मात्रै भारतले आफ्नो भूमि हुँदै लिपुलेकसम्मको सडक निर्माण कार्यलाई तीव्रता दिइरहँदा नेपालतिर चीनसँग जोड्ने सीमा सडक ४० किलोमिटरमै खुम्चिएको छ। आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण सुरु गरिएको दार्चुला तिंकर सडकमा हालसम्म आइपुग्दा १ अर्ब ३३ करोड खर्च गरेर ४० किलोमिटर मात्रै ट्रयाक खोल्न सकेको छ।

यद्यपि दुई वर्ष अगाडिबाट महाकाली करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाको दक्षिणी क्षेत्रमा पनि यो कार्यक्रमअन्तर्गत सडक निर्माण गर्ने काम भई रहेको दार्चुला तिंकर सडक योजनाका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। ‘४० किलोमिटर त सुन्सेरासम्म मात्रै हो, बैतडी, डडेल्धुरा र दार्चुलाको दक्षिणतिर निर्माण भएको सडकको ट्रयाक जोड्ने हो भने अहिलेसम्म ६० किलोमिटरभन्दा बढी सडक निर्माण भएको छ’ सूचना अधिकारी रैखोलाले भने। थाहाखबरबाट ।

लिपुलेक बारे-(उचाइ ५,२०० मिटर (१७,१०० फिट)) नेपाल र तिब्बत, चीनको सिमानामा रहेको भञ्ज्याङ हो। यो नेपालको भूमि भए तापनि यसको नियन्त्रण भारतले गरिरहेको छ । प्राचीन समयदेखि व्यापारी र भक्तजनहरू तिब्बत यात्राको लागि यो बाटो हुँदै यात्रा गर्छन् । मानसरोवर जाने भक्तजनले यो मार्ग प्रयोग गर्छन् । नेपालको सहमतिबेगर सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला यस भञ्ज्याङलाई व्यापारवृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो ।

विवाद-लिपुलेक नेपालको भूभाग हो । कीर्तिनिधि विष्ट नेपालका प्रधानमन्त्री छँदा नेपालको उत्तरी सीमाहरूमा रहेका भारतीय सुरक्षा फौजका पोस्ट हटाइदिएका थिए । तिनैमध्येको एक टुकडीलाई भारतले लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणमा रहेको तिल्सी उपत्यकामा राखेको छ । त्यही ठाउँमा उत्पत्ति हुने एउटा सानो खोलालाई महाकालीको मुहान, त्यहीँ बनाएको एउटा मन्दिरलाई काली माताको मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यहीँसम्म हो भनेर देखाइरहेको छ । यसलाई नेपाली पक्षले आफ्नो भूमिमाथिको अतिक्रमण भनेको छ । रासस

Facebook Comments
error: Content is protected !!