जनताका सक्तिबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका छन् : अध्यक्ष प्रचण्ड

1 min read

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका बताएका छन् ।समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्ने बताएका हुन् । जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको प्रचण्डले स्वीकार गरे । उनले संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताए । उनले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गरे ।कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्टी्भित्रै पहिलोपटक समावेशिता लागु गरेको बताए । उनले लोकसेवा आयोगको आरक्षणसमेत खोजेको भन्दै आपत्ति जनाए ।पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।

Facebook Comments
error: Content is protected !!