भारतीय वेश्यालयबाट नेपाली चेलीको उद्वार गर्नेको अनुभवः ‘ग्राहक बनेर गएँ, डेढ लाख तिरेर निकाले’

1 min read

मुम्बई, भारत: कैलालीबाट रोजगारीको शिलशीलामा म विगत धेरै समयदेखि भारतमा थिएँ। यही जेठको अन्तिम दिन रातिको १० बजे मलाई फोन आयो। ‘म अञ्जना यादव (नाम परिवर्तित), के म हिमाल साउँदसँग कुरा गर्दैछु ?’ उताबाट आवाज आयो। मैले ‘हजुर भन्नुहोस्’ भने, उहाँले आफ्नो पीडा सुनाउन थाल्नुभयो। उहाँले हजुर सामाजिक अभियन्ता होर भन्दै फेरि प्रश्न गर्नुभयो। तर मैले होइन भन्दै जवाफ फर्काए।

तर उहाँ समस्यामा भएको जस्तो मलाई लाग्यो। मैले सोधे, ‘केही समस्या छ र ?’ त्यसपछि उहाँले आफ्नो पीडा सुनाउन थाल्नुभयो। उहाँ भारतको वेश्यालयमा बेचिनुभएको रहेछ। मैले नम्बर दिने मान्छेको नाम सोधे।
एक जना नेपाली ग्राहकले मेरो नम्बर दिएका रहेछन्। मैले पहिला पनि नेपाली चेलीको उद्धार गरेकाले नेपाली ग्राहकले मेरो नम्बर दिएछन्।उहाँले भारतको वेश्यालयसम्म पुग्नुको कारण बताउनुभयो। धेरै पीडादायी कथा रहेछ। म सँग कुरा गरेपछि उहाँको मनमा पनि आशा जागेको रहेछ। मैले उहाँलाई आशा दिलाए।

तर म आधिकारीक व्यक्ति नभएको भन्दै सक्दो सहयोग गर्ने बताए। मैले उहाँ बस्दै आउनु भएको नर्कको नाम र ठेगाना मागे। तर त्यो वेश्यालयमा ग्राहक बनेर जानुपर्ने उहाँले बताउनुभयो। मैले ‘हुन्छ’ भने। भारतको वेश्यालयबाट नेपाली युवतीको उद्धार गर्नु सामान्य कुरा थिएन्। ठेगानासहितको नाम पनि दिनुभयो।

दोस्रो दिनको साँझ म एक जना भारतीय साथीको सहयोगमा वेश्यालयतिर गए। उद्धार गर्न जाँदा मलाई पनि समस्या थियो। ठाउँ देखेको थिएन। कोही चिनेका पनि थिएनन्। उहाँले भने अनुसारको ठेगानामा हामी गयाै‌।प्रवेश द्वारमा रहेका एक जनाले वेश्यालयको सेवाको बारेमा बताउने रहेछन्। हामीले ‘के–के पाउँछ’ भन्दै प्रश्न गर्यौ। उहाँले भन्नु भयो, ‘पैसा भए सबै मिल्छ।’

‘रोजेको पनि पाउँछ’ मैले प्रश्न गरे। उहाँले बढी रकम लाग्ने बताउनु भयो। मैले कति भन्दै सोधे। उहाँले एक घण्टाको २ हजार भन्नुभयो। १५ सयमा कुरा भयो। हामी २ जना भित्र गयौ। वेश्यालयमा जात्रा थियो। झण्डै ५० जोडी थिए। त्यहाँको संसार नै फरक थियो। हामी भने अञ्जनालाई खोज्दै थियौ। अञ्जनाको वास्तविक नाम बतायौ। उहाँले मलाई देख्नुभएको थिएन्। अन्य ग्राहक जस्तै कोठामा लग्न ‘हिड्नु रुममा’ भनेपछि म भावुक भएको थिए। भारतको वेश्यालयमा नेपाली चेलीको हालत देख्दा मन रुन थाल्यो।

उहाँको उमेर मेरो भन्दा कम थियो। कोठामा पुगेलगतै मैले परिचय बताए। परिचयपत्र देखाए। ‘म हिमाल साउँद, तपाईले फोन गर्नुभएको थियो नी’ मैले भने। त्यसको लगत्तै उहाँ रुन थाल्नुभयो। ‘दाई मलाई यो नर्कबाट उद्धार गर्नुहोस्’ उहाँले यति मात्रै भन्नुभयो। उहाँले भारतको वेश्यालयमा बेचिएको पीडा पनि सुनाउनुभयो। त्यो कुरा फोनमा पनि उहाँले मलाई बताउनु भएको थियो।

मैले प्रयास गर्ने आश्वासन दिए। मन बलियो बनाउन भने। केही बेरमा बाहिर आए। २ घण्टाका लागि भित्र गएको म केही बेर मात्र बस्न सके। तर उद्धार गर्ने योजना पूर्ण भएको थिएन। मनमा हजारौ प्रश्नहरु थिए। तर कसलाई बताउने। मन दह्रो बनाउदै साथी र म दुवै बाहिर आयौ। पहिले पनि मैले एक युवतीको उद्धार गरेको थिए। त्यही तरिका फेरि प्रयोग गरे। प्रत्येक दिन मलाई वेश्यालय जानु सम्भव थिएन।

नेपाली चेली उद्धारका लागि आवश्यक रकम पनि थिएन। भारतीय एक जना साथीको सहयोग मागे। उहाँले वेश्यालयमा रहेकी नेपाली चेलीको उद्धारमा सहयोग गर्नुभयो। उहाँले नेपाली चेलीलाई वेश्यालयबाट बाहिर ल्याउने उपायहरु खोज्न थाल्नुभयो। उहाँ मेरो मान्छे हो भनेर चिनाउन मैले हिमाल नाम लेखेको १० रुपैया दिएको थिए। त्यो आधारमा अञ्जनाले भारतीय साथीसँग मिलेर बाहिर आउने योजना बनाउँदै जानुभयो।

दिन बित्दै गए। मेरा मित ज्यू इन्द्रजितसँग समेत छलफल गरे। नेपाली चेलीलाई नेपाल फर्काउने अनेक उपायाहरु खोजिरहेका थियौ। अप्ठ्यारो परिस्थिती आए के गर्ने लगायतका योजनाहरु समेत हामीले तयार पार्दै थियौ।भारतीय शिव सेनासँग गाडीको सहयोग मागे। शिव सेनाले भारतीय प्रहरीको सहयोग माग्न सुझाव दियो। प्रहरीको सहयोग माग्ने मैले बताए। तर मलाई झण्डै एक लाख ५० हजार आवश्यक थियो, वेश्यालयमा बुझाउन। नेपाली चेलीलाई २० दिनका लागि भाडामा लिने बहाना जो गर्नुथियो।

नेपाली चेली २० दिनमा नेपाल पुगिसक्ने मेरो अनुमान थियो। रकम दिए फिर्ता नहुने त्रास भारतीय शिवसेनाका साथीको थियो। तर मैले विश्वास दिलाए। उहाँले आफ्नो तर्फबाट १० हजार समेत दिनुभयो। नेपाली चेलीलाई भारतको नर्कबाट बाहिर ल्याउने योजना तयार भयो। अर्काे दिन एक जनालाई वेश्यालयका सञ्चालकसँग कुरा गर्न पठायौं। नेपाली चेलीलाई भाडामा ल्याउने कुरा मिल्यो।

अञ्जनालाई दिउँसो २ बजे हामीले वेश्यालयबाट बाहिर ल्यायाै‌। वेश्यालयको माग अनुसार रकम पनि बुझायौ। अञ्जनाले आफूसँग पैसा भएको बताउनुभयो। मैले शिवसेनाबाट लिएको ऋण उहाँले फिर्ता गर्नुभयो। नेपालको लागि गाडीभाडा शिवसेनाका नेताले नै दिए। गोरखपुरको रेलसम्म साथीले पुगायो। तर म गएन। नेपाली चेलीको भारतीय वेश्यालयबाट उद्धार गरिएकाले ज्यानको समेत जोखिम थियो। उहाँ गोरखपुरबाट सुनसरीका लागि हिड्नुभएको थियो। आज उनको परिवारसँग भेट भइसकेको छ। उहाँले नै मलाई ‘म घर पुगें’ भनेर खबर गर्नुभएको छ।

Facebook Comments Box
error: Content is protected !!