मजदुरी गरेर चार सन्तान एक्लै हुर्काइरहेकी ३२ वर्षीय निरु

1 min read

कञ्चनपुरकी निरु (नाम परिवर्तन) १४ वर्षकी हुँदा उनका बुबाले बिहेको तयारी गरेका थिए। सारी लगाउने, गहना लगाउन पाउने भनेर निरु पनि हौसिएकी थिइन्। त्यही बेला भारतमा काम गर्ने आफ्नै गाँउका केटाले निरुसँग प्रेम प्रस्ताव राखे। निरुको मन बदलियो। बुबाले खोजेको नचिनेको केटासँग बिहे गर्नभन्दा गाँउकै चिनेजानेको लाहुरे केटासँग बिहे गर्नु ठिक सोचेर उनै केटासँग भागेर बिहे गरिन्। गाउँ छोडेर उनीहरू भारतको दिल्ली पुगे।

केही महिनापछि गाउँ फर्किदा निरु दुई जिउकी भइसकेकी थिइन्। निरुका श्रीमान् दिल्लीमा कपडा कारखानामा काम गर्थे। श्रीमान बेला-बेला घर आइरहन्थे। निरु भने सासु ससुरासँग घरमै बस्न थालिन्। ‘१५ वर्षको उमेरमा मैले पहिलो छोरी पाएँ,’, निरुले भनिन्, ‘अब छोरा पाउनु पर्ने दबाब आउन थाल्यो।’ 

छोरी जन्मेको एकवर्षमै उनी दोस्रो पटक गर्भवती भइन्। सासु ससुराको चाहना अनुसार यो पटक छोरा नै जन्मियो। परिवारमा सबैजना खुशी थिए तर त्यो खुसी केही समय मात्र टिक्यो। तीन महिनाको हुँदा निरुको छोरा निकै बिरामी परे। थला परेको बच्चालाई घर नजिकका सबै अस्पताल लैजाँदा पनि सन्चो भएन। निरुका श्रीमानले उनीहरूलाई दिल्ली बोलाए। 

दिल्लीको ठूलो अस्पतालमा बच्चालाई निमोनिया भएको थाहा भयो। रोग बल्झिसकेपछि पुगेकोले उपचारमा समस्या भयो। श्रीमानले छोरा प्रति देखाएको माया र उपचारमा गरेको मिहेनत निरुलाई अहिले पनि झल्झली याद आउँछ। निरु र उसको श्रीमानले निकै परिश्रम गरि लामो समय अस्पतालमै बिताएर छोराको रोग सन्चो बनाए। छोरालाइ सन्चो त भयो तर उपचारमा उनको श्रीमानलाई एकलाख बढी ऋण थपियो। सामान्य मजदुरी गर्ने उनका लागि यो रकम पहाड उठाउनुजस्तै थियो।

अस्पतालबाट फर्कने बेला डाक्टरले सुनाए बच्चा भविष्यमा बौद्धिक अपांग हुन सक्ने खतरा रहेको कुराले उनको मनमा चिसो पस्यो। निरु र उनका श्रीमानले त्यो कुरा पत्याउनै सकेनन्। उनीहरुलाई आफ्नो बच्चा सामान्य लाग्थ्यो। तर डाक्टरले बच्चाको टाउकोमा समस्या देखिएको बताएका थिए। डाक्टरले सम्झाएपछि निरुलाई ती महिनाको हुँदा छोरा खाटबाट लडेर टाउको ठोकिएको कुरा याद आयो। डाक्टरले विशेष ध्यान दिनुपर्ने भन्दै घर पठाए। 

निरु बच्चा लिएर गाँउ फर्कंदा, उनको बच्चाको समस्याबारे गाउँमा हल्ला फैलिसकेको थियो। धेरैले अपांग बच्चा जन्माएको, बच्चाको हेरविचार गर्न नसकेको भन्दै निरुको कुरा काटे। बच्चाको भविष्यलाई लिएर पनि उनीहरुले अनेक टिकाटिप्पणी गरे। निरुलाई नराम्रो लागे पनि सक्दो स्याहार गरीरहेकी थिइन्। छोरा ठूलो हुदै जादाँ उसको शारिरीक र बौद्धिक विकास होला भनेर उनले पैसा जोगाएर कसरत गर्ने मसिन समेत किनेकी थिइन्।

उनले फेरि अर्को छोरी पाइन्। यसरी तीन सन्तान भइसकेकी उनी २०६८ सालमा चौथोपटक गर्भवती भइन्। यति बेला उनी २२ वर्षकी मात्र थिइन्। गाउँमा तिजको चहलपहल थियो। ‘हङकङको सारीले नेपालको धुलो उडायो गीत चर्चामा थियो।’ टिभीमा गीत हेर्दै निरु पनि राम्रो सारी लगाउने सपना बुन्थिन्। श्रीमानले पैसा पठाएपछि नयाँ सारी किन्ने उनले सासु र आफ्ना साथीहरुलाई सुनाइ सकेकी थिइन्।

साउनको महिना तीजको दिन ठूलो झरी परेको थियो। रातो सारीमा सजिएर तीजको गीत बजाएर निरु साथीहरुसँग घरभित्रै नाच्दै थिइन्। त्यही बेला निरुको मोबाइलमा एकोहोरो फोन बजिरहेको थियो। झरी र स्पिकरमा घन्केको गीतले निरुले फोनमा घन्टी बजेको सुनिनन्। निरुको फोन नउठेपछि उनको सासुको फोनमा घन्टी बज्यो। फोन उठाउने बित्तिकै सासु डाको छाडेर रुन थालेपछि मात्र निरुले तीजको गीत बन्द गरिन्। त्यो फोन निरुको जीवनको अपत्यारिलो सन्देश लिएर आएको थियो।

त्यो फोन निरुको देवरको थियो। उनले निरुको श्रीमान दिल्लीमा मरेको अवस्थामा फेला परेको जानकारी दिए। निरुले त्यो कुरा कसरी पत्याउन सक्नू? सकिनन्। श्रीमानको मृत्युको कुराले उनी होस गुमाएजस्तै भइन्। लगाएको कपडाको समेत होस नगरी उनी दिल्ली पुगिन्।

दिल्लीमा पुग्दा उनको श्रीमानको पोष्टमार्टम भइसकेको थियो। अन्तिम संस्कारका लागि राखिएको लासको छातीमा हात राख्दा मुटु कलेजो छुन पुगेपछि मात्र निरुले श्रीमानले छोडेर गएको विश्वास गर्न बाध्य भइन्।

१५ दिनको किरिया सकेर उनी घर फर्किन्। दिन नै रातजस्तै भइसकेको थियो। पेटमा हुर्किरहेको बच्चासहित तीन सन्तानको चिन्ताले उनी इन्तु न चिन्तु थिइन्। परिवार, छिमेकी र समाजको सदभावले आफ्ना घाउहरु भरिने आशा निरुलाइ थियो। तर उनको आँखाका आसु सुक्न नपाउदै गाउँमा निरुप्रति सदभाव जताउने भन्दा पनि कुरा काट्नेहरु बढी देखिए।

श्रीमान बितेको थाहा पाएर पनि रातो सारी लगाएर किन दिल्ली गएकी भनेर निरुलाई धेरैले केरकार गरे। तीजको समयमा नाच्दै गर्दा खबर सुनेर अचेतजस्तै भएकी निरु त्यही रातो सारीमा दिल्ली पुगेकी थिइन्। उनले जानेर त्यो सबै गरेकी थिइनन्। निरुको पीडालाई गाउँलेले झन बल्झाउने काम गरिरहे। गर्भको बच्चालाई समेत बुवा खाने सैतान भनेर गर्भपतन गर्न आफन्तले दबाब दिएका थिए। बज्रपात यतिमै रोकिएन सासु ससुरा छन् भन्ने आड भरोसाले उनले घरको दैलो टेकेकी थिइन्। सासु ससुरा उनलाइ ढाडस  दिनुको साटो जिम्मेवारीबाट पन्छिन खोजे। 

मलाई पहिलो पटक सासुससुरा आफ्नो नभएको महसुस भयो’, निरुले भनिन्। हुन पनि निरुका सासुससुरा आफ्ना थिएनन्। निरुको श्रीमानको आमाबुबा सानैमा बितेपछि काकाकाकीले उनलाई हुर्काएका थिए। निरुको श्रीमान बाचुन्जेल उनीहरुले आफ्नो सन्तानजस्तै व्यवहार र माया गरेका थिए। श्रीमान बितेपछि भने उनीहरुले निरुलाई अर्कै व्यवहार गर्न थाले। 

यहाँसम्मकी उनको श्रीमानको सम्पती १० कठ्ठा जग्गा पनि छोरा अपांग भएको नदिने भन्दै उनलाई अलग गरिदिए। परिवार र समाजको व्यवहारबाट अघाइसकेकी निरुलाई सघाउन उनका गरिब माइतीको क्षमताले पुगेन। त्यसैले ज्याला मजदुरी गरेर आफ्ना ४ सन्तान हुर्काउँदै छिन्। निरुको एकमात्र भरोसा स्थानीय सरकारले दिने एकल महिला भत्ताको थियो जुन त्यो बेला मासिक ५०० रुपिया मात्र थियो।

निरुको छोरीहरु पढाइमा तेज छन्। त्यही भएर जेठी छोरीलाइ नेपाल रेडक्रसले छात्रवृत्ति दिएको छ। यसले निरुलाई ठूलो राहत भएको छ। छोरीलाइ पढाउन पाएको सहयोगले निरुको आशा बढेको छ। छोराको उपचार र शिक्षाका लागि सहयोग खोज्न कहाँ जाने भन्ने उनलाई थाहा छैन। थाहा पाए पनि त्यहाँ जाने समय छैन। मजदुरी गर्न गइनन् भने साँझ उनको घरमा चुल्हो बल्दैन।३२ वर्षे निरु आशावादी हुँदै भन्छिन्, ‘छोरीका लागि जस्तै छोराका लागि पनि कतैबाट सहयोग पाए ठूलो राहत मिल्ने थियो,’ 

Facebook Comments Box
error: Content is protected !!