तोकिएकै समयमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)|

1 min read

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । शनिबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको समेत बताउनुभयाे।

सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको दाबी गर्नुभयाे । उहाँले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नुभयाे। ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ,’ उहाँले दोहोर्‍याउनुभयाे।

 सम्बोधनको पूर्णपाठ :

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,
संवैधानिक आयोगका प्रमुखज्यूहरू,
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,
राष्ट्रसेवक कर्मचारीहरू,
विशिष्ट अतिथिहरू,
र, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

आज हामी गणतन्त्र दिवस मनाउँदै छौँ। गणतन्त्र दिवस नेपाली जनताको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर, आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौं। कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौँ। विवाह, ब्रतवन्ध, चाडपर्व र जात्राहरु समेत मनाउन सकिरहेका छैनौँ। यस्ता कुनै पनि पर्व यस महामारीका कारण हाम्रो घरदैलोमा खुसी लिएर आउन सकिरहेका छैनन्। यतिबेला कोरोनाको कहर विश्वव्यापी रुपमा साझा समस्या बनेको छ। त्रासदीको यस्तो अवस्थामा हामी गणतन्त्र दिवस यस रुपमा मनाउन बाध्य भएका छौँ।

गणतन्त्र दिवसका अवसरमा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिन जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफनो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने हाम्रा अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु। गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु।

Facebook Comments Box
error: Content is protected !!