कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीन आक्रोशित

1 min read

एजेन्सी । अमेरिकाले चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने निर्णय गरेपछि चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे आफ्ना गुप्तचर निकायलाई थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । राष्ट्रपति बाइडेनको यस निर्देशनको चीनले कडा शब्दमा निन्दा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकामाथि भाइरसलाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ । उसले कोरोना भाइरस र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ ।

अमेरिकी गुप्तचर निकायले यसअघि नै एक गोप्य प्रतिवेदन तयार पारेको र उक्त प्रतिवेदनमा कोरोना भाइरस देखिएको भनिएको मितिभन्दा एक महिना पहिले नै वुहान इन्स्टिच्युटका अनुसन्धानकर्ता बिरामी भएको दाबी गरेको छ । यो कुरा अमेरिकी सञ्चारमाध्यमबाट बाहिर आएको हो ।

कोभिड– १९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताउँदै आएका थिए, तर यसको पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । केही वैज्ञानिकहरूले उक्त भाइरस कुनै जनावरबाट मानिसमा सरेको हुन सक्ने बताउँदै आएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् । तर विश्व स्वास्थ्य संगठनले भने यो भाइरस प्रयोगशालाबाट चुहिएको हुन सक्ने सम्भावना नै न्यून रहेको बताउने गरेको छ ।

पढ्नुहाेस्-

चिनियाँ प्रयोगशालाबाटै कोरोना भाइरस फैलिएको दावी, अनुसन्धान गर्न बाइडेनको निर्देशन

Facebook Comments Box
error: Content is protected !!