चिनियाँ ब्रुमर चलाउन ड्राइभर पाएन काठमाडौं महानगरपालिकाले

काठमाडौं : चीनको छेङ्दु नगरपालिकाले काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएको ब्रुमर दुई महिनादेखि कार्यालय प्रांगणमा थन्किएको छ। ब्रुमर चलाउनका लागि चालक नपाएपछि ब्रुमर महानगरको वातावरण व्यवस्था विभागको प्रांगणमा थन्किएको हो। छेङ्दुले उपलब्ध गराएका ती ब्रुमर महानगरले असारमा काठमाडौं भित्र्याएको थियो। असारमा भित्र्याएका ब्रुमर चलाउनका लागि चालकको खोजी गरे पनि चालक नभेटाएको महानगरपालिकाले जनाएको छ। ती ब्रुमर तत्काल सञ्चालन आउने सम्भावना नरहेको काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले बताए। ‘चालकको खोजी भइरहेको छ। तालिम दिनको लागि चालक पनि भेटिएको छैन’ उनले भने। इटालियन ब्रुमर कम्पनीलाई नयाँ ब्रुमरको चालक व्यवस्था गरिदिन आग्रह गरिएको डंगोलले बताए।

सबै ब्रुमरको चालक एकै कम्पनीको भए ब्रुमर चलाउन सहज हुने उनको विश्वास छ। इटालियन कम्पनीलाई नयाँ ब्रुमर चालकलाई तालिम दिनको आग्रह पनि गरिएको डंगोलको भनाइ छ। नयाँ ब्रुमर चालकलाई महानगरपालिकाले पारिश्रमिक दिने व्यवस्था गर्ने उनले बताए। ‘इटालियन कम्पनीको निर्णय पर्खिरहेको छौँ। त्यहीअनुसार महानगरले अर्को व्यवस्था गर्छ,’ उनले भने। पहिलेको ब्रुमर चालकलाई भने कम्पनीले पारिश्रमिकको व्यवस्था गरिरहेको छ। यसअघि यी ब्रुमर यातायात कार्यालयमा दर्ता नहुँदा पनि समस्या रहेको तर अहिले उक्त समस्या समाधान भएको उनले बताए। उनका अनुसार छेङदुले ब्रुमरसँग कागजपत्र नपठाउँदा यातायात विभागमा दर्ता हुन सकेको थिएन। अहिले ब्रुमरका कागजपत्र प्राप्त गरी यातायात कार्यालयमा दर्ता गराइसकिएको छ। उनले चालक भेटेलगत्तै ब्रुमरहरू उपत्यकाको सडक सफा गर्नका लागि प्रयोगमा ल्याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!