राजेन्द्र महतोको जीवन : ‘ब्रान्डेड हेर्ने बानी छैन, धोती कुर्ता मेरो पहिचान हो’

1 min read

राजेन्द्र महतो नेपाली राजनीतिमा स्थापित नाम हो । २०४६ सालको जनआन्दोलनपछि उनी राजनीतिमा सक्रिय छन् । २०४६ सालबाट गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना परिषद्मा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका महतो २०४८ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट उम्मेदवार भएका थिए । तर, उनी नेपाली काँग्रेसकी नेतृ मीना पाण्डेसँग पराजित हुन पुगे । २०५१ को मध्यावधि चुनाव पनि महतोका लागि अनुकूल भएन । संसदमा प्रवेश गर्न उनले २०५६ सालको निर्वाचन कुर्नुपर्;यो ।

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोले २०६४ को पहिलो संविधान सभा चुनाव पनि आफ्नो पक्षमा पारेका थिए । तर, २०७० मा भएको दोस्रो संविधान सभाको चुनावमा महतो तत्कालीन तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भए ।

काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महतो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा पहिलोपटक मन्त्री बनेका थिए । त्यसपछि प्रथम संविधानसभाको चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी वाणिज्य तथा आपूर्तिमन्त्री भए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बने ।

नेपाली राजनीतिमा महतोलाई चतुर राजनीतिज्ञका रूपमा लिइन्छ । मधेस केन्द्रित दल निर्माण गरेर विभाजन र एकताका साक्षी बनेका महतो अहिले संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता छन् ।यिनै नेता महतोको जीवनका विभिन्न पाटाबारे रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो राजनीति 
२०४६ सालको आन्दोलनपछि म राजनीतिमा सक्रिय छु । त्यसभन्दा अगाडि र विद्यार्थी जीवनमा राजनीतिप्रति खासै रुचि थिएन । २०४६ सालबाट गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना परिषद्मा आवद्ध भएको थिएँ । पछि यो नै सद्भावना पार्टी भयो । यो पार्टीको सामान्य सदस्यबाट राजनीति सुरु गर्दा मैले संसदीय समितिको जिम्मेवारी पाएको थिएँ ।

त्यसपछि सोही पार्टीको महासचिव, उपाध्यक्ष हँुदै अध्यक्ष भएँ । म अहिले जसपामा छु । विभिन्न पार्टीसँग एकता गर्दै नाम फेर्दै जसपा अहिलेको अवस्थामा आएको हो ।२०४८ र ०५१ मा समेत चुनाव लडेको म २०५६ सालको चुनावमा संसद् छिरेँ । त्यो समयदेखि अहिलेसम्म प्रायः सांसद छु । ०५६ अगाडि उच्चस्तरीय नागरिकता समस्या समाधान आयोगमा रहेरसमेत काम गरेको थिएँ ।

२०६५ सालमा स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलोपटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएको थिएँ । त्यसपछि प्रचण्ड र माधव नेपालको सरकारमा पनि मन्त्री भएँ । चौथो पटक डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेको थिएँ ।मैले जहिले पनि सङ्घर्षको राजनीति गरें । आफ्नो मुद्दामा अडिग रहेँ । यसले मलाई राजनीतिमा पीडा र कष्ट मात्र मिल्यो ।

मेरो राजनीति काँग्रेस र कम्युनिस्टको जस्तो सत्ताका लागि होइन । अन्तिम प्राप्ति त सत्ता होला । अधिकार पहिचानपछि मात्र मेरो सत्ताको कुरा आउँछ ।अहिलेको केपी ओलीको सरकार बन्दा तीन वर्षअघि राजपालाई सरकारमा सामेल गर्ने प्रयास भएको थियो । त्यो समय हामीले रेशम चौधरीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका विषय माग राखेका थियौँ । त्यो माग पूरा नभएपछि हामी सरकारमा गएनौँ ।

स्कुले जीवनमा कर्मचारी, त्यसपछि डाक्टर र  वकिल बन्ने सोच आयो । राजनीति गर्नुभन्दा अगाडि बिजनेस पनि गर्थें । बिजनेस गर्दागर्दै राजनीतिमा होमिएको थिएँ । त्यसपछि यसैमा छु । बिजनेस गर्दा राजनीति मेरो बसको कुरो होइन जस्तो लाग्थ्यो ।

बहुदलपछि विचारको राजनीति हुन थाल्यो । मैले पनि यो रोजेँ । सानैदेखि आफूले भोगेका विभेद लगायत विभिन्न पीडा निराकरण र अधिकार प्राप्तिका लागि राजनीतिमा होमिएँ । राजनीतिमा लागेपछि मेरो जीवन प्रायः आन्दोलनमा बित्यो । अधिकार प्राप्तिको लडाइँमा जनताले मलाई आस्थाको केन्द्रका रूपमा समेत लिन्छन् ।

मेरो राशि
 मेरो राशि ‘तुला’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने पनि गर्छु । ज्योतिषीले धेरै कुरा भनेका छन् । तीमध्ये राज्यको उच्च तह पनि पर्न सक्छ । त्यसका लागि कर्म गर्दैछु ।

मेरो खाना
 दाल, भात, तरकारी र अचार मेरो मनपर्ने खाना हो । माछामासु पनि मन पर्छ । खान्न भन्ने बानी छैन । रेस्टुरेन्टमा  साथीभाइ र परिवारसँग जान्छु । रेस्टुरेन्टको मम, कफी, चिकन, मटन, भेजिटेरियन जे पनि मनपर्छ, खान्छु । पकाउन रुचि छ । मीठो पकाउने भनेको सब्जी हो ।

फिटनेस
 फिट्नेसका सवालमा सजग छु । प्रत्येक दिन एक घण्टा मर्निङ वाक गर्छु । बाहिर निस्कने वातावरण भएन भने घरमै ट्रेडमिलमा दौडिन्छु । त्यसपछि समय भए प्राणायाम पनि गर्छु ।सन् २००४ मा बाबा रामदेवको प्राणायाम सिकेको थिएँ । त्यो समयदेखि नियमित गर्छु । ट्रेडमिल बाहेकका एक्सरसाइजका सामान घरमा छन् । ती प्रयोग गर्दिनँ ।

खेलकुद
 खेलकुदमा रुचि छैन । पहिले पनि थिएन । विद्यार्थी समयमा फुटबल, भलिबल, कबड्डी जस्ता खेल अलिअलि खेलियो । पुरस्कार जित्ने, राम्रो खेल्ने खेलाडी भने होइन । अहिले कहिलेकाहीँ समय र साथी मिले भने ब्याडमिन्टन खेल्छु । त्यो एक्सरसाइजका लागि मात्र हो ।

पोशाक
 धोती, कुर्ता, ज्वारीकोट मेरो मनपर्ने पोशाक हो । यी पहिरन सजिलो लाग्छ । मेरो पहिचान पनि हो । धेरै जाडोमा म धोती लगाउँदिनँ । कोट, पाइन्ट नै प्रयोग गर्छु । ह्याट, टोपी केही लगाउने बानी छैन ।मेरो मनपर्ने पहिरन रङ सेतो हो । त्यसपछि कालो कलर मनपर्छ । पहिरनमा धोतीकुर्ता रेडिमेड किन्छु । कोट, पाइन्ट सिलाउँछु । पहिरनमा ब्रान्डेड हेर्ने बानी छैन । मन परेको किन्छु । केही उपहार पनि आउँछन् ।

मोबाइल
मसँग आइफोन ब्रान्डको एउटा मोबाइल छ । यो लिएको ४ वर्ष भयो । छिटोछिटो मोबाइल फेर्ने बानी छैन, नबिग्रिएसम्म फेर्दिनँ । फोन गर्ने, म्यासेज गर्ने, अनलाइन पढ्ने, युट्युब हेर्ने, भाइबरलगायत मोबाइलमा चलाउँछु । ट्विट गर्ने मेरो बानी छैन । मोबाइल उपयोगी हो, डिस्टर्ब गर्ने साधन भन्ने पनि लाग्छ । अहिलेसम्म मोबाइल उपहार पाएको छैन ।

टीभी
 टीभी त पहिले धेरै हेर्थें, अहिले समय छैन । टीभीमा मैले हेर्ने भनेका देशविदेशका समाचार हुन् । डिस्कभरी र जिओग्राफी च्यानल मनपर्छ । तर, हेर्र्न समय छैन ।

चलचित्र
 विद्यार्थी जीवनमा चलचित्र धेरै हेर्थें । हाईस्कुल पढ्दा राति लुकेर चलचित्र हेर्न जान्थेँ, हरेक शनिबार हेर्थें । फिल्म हेरेको थाहा पाए स्कुलमा शिक्षकले कुट्नुहुन्थ्यो ।

त्यतिबेला हेर्ने भनेको हिन्दी फिल्म हो । मैले केही समयअगाडि एउटा फिल्म हेरेको थिएँ । करिब २० वर्षपछि मैले त्यो फिल्म हेरेको हुँ । ऐतिहासिक र क्रान्तिकारीखालका  फिल्म मनपर्छ । त्यसपछि मनपर्ने भनेको पारिवारिक र सेन्टिमेन्टल हो ।

अध्ययन
 अध्ययनमा रुचि छ । प्रायः महापुरुषहरुको जीवन पढ्छु । इतिहास, समसामयिक विषय र घटनाका पुस्तक पनि पढ्छु । राजनीतिक लेख पनि मनपर्छ । बिहान र बेलुका अध्ययन गर्छु । दिउँसो मोबाइलबाट अनलाइनमा उपलब्ध पढ्छु । अहिले पढेको पुस्तक यही भन्ने छैन । जे होस् केही केही पढिरहेको हुन्छु । पुस्तक किनेर पढ्ने बानी छ । अधिकार र पहिचानको सङ्घर्षसम्बन्धी पुस्तक बढी पढ्छु ।

विवाह
 २०३७ सालमा मैले बुबाआमाले खोजेकी केटीसँग विवाह गरेको हुँ । उनलाई पहिलोपटक विवाह मण्डपमै देखेको थिएँ । विवाहपछि उनीसँग बसेको त्यो प्रेम अहिले पनि चल्दैछ । बाहिर कहिल्यै प्रेम गरिएन । हाम्रो समयमा त्यस्तो चलन पनि थिएन ।

गीत सङ्गीत
 गीत सङ्गीत मनपर्छ, सुन्छु । १९८० दशकका हिन्दी गीतहरु राम्रा छन् । नेपाली पनि कतिपय गीतहरु राम्रा लाग्छन् । सेन्टिमेन्टल, गजल खालका गीतहरु बढी सुन्छु । एक्लो हुँदा र लामो यात्रामा निस्किएको समय गीत सङ्गीतमा रमाउँछु ।

भूल
जीवनमा काम गर्ने सिलसिलामा जानी नजानी भूलहरु हुन सक्छन् । भूल नहुन त काम नगरी बस्नुपर्छ । काम गर्ने सिलसिलामा भूल हुन्छन् । त्यो सुधारेर अगाडि बढ्ने हो । पछुताउनुपर्ने भूल भने अहिलेसम्म भएको छैन भन्ने लाग्छ ।

मापसे
अहिले मापसे गर्दिनँ । धेरै पहिले अर्थात राजनीतिमा आउनुपूर्व र विद्यार्थी जीवनपछि व्यावसायीको जीवनमा थियो । त्यो समय पार्टी र साथीहरुसँग कहिलेकाहीँ अलिअलि लिन्थेँ । राजनीतिमा आएपछि मापसे छोएको छैन । मन पर्दैन पनि । मापसे कसैले गिफ्ट दियो भने लिन्छु र त्यो अर्काेलाई गिफ्ट दिन्छु ।

रोग
 रोग अहिले दुईवटा छन् । १५ वर्षदेखि ब्लड प्रेसर र १० वर्षदेखि सुगरबाट पीडित छु । यी रोगका लागि नियमित औषधि खाँदैछु । अन्य समस्या केही छैन ।

घुमघाम
 राजनीतिक कामले घुमघाम भइरहेको हुन्छ । मधेसका प्रायः जिल्ला पुगेको छु, हाम्रो कार्यक्षेत्र पनि हो । पछिल्लो समय सङ्गठन राष्ट्रभरि विस्तार भएको छ । पहाड र हिमालका जिल्ला जाने प्रयासमा छु । घुमघामका लागि प्राकृतिक सौन्दर्यले भरिएका, ऐतिहासिक ठाउँ मनपर्छ । विदेशमा करिब २ दर्जन देश घुमेँ होला ।

 फुर्सद
 फुर्सद पनि छैन, काम पनि छैन । राजनीतिमा भएकाले भेटघाट, इन्टरभ्यु जस्ता कार्र्यक्रममा समय बितिरहेको हुन्छ । यो क्रममा केही उपलब्धिमूलक काम पनि भएको हुँदैन । फुर्सद पनि हुँदैन । यसलाई के भन्ने ?

भाषण
 काम नै मेरो भाषण गर्ने हो । मेरो भाषण एग्रेसिभ हुन्छ । सुधार्ने प्रयास गरे पनि बानी भएको त्यस्तै भइहाल्छ । विस्तारै सुधार पनि गर्दैछु । हामी जहिले पनि आन्दोलनमै रहने न हो । आन्दोलनका लागि एग्रेसिभ नै भाषण नै चाहिन्छ । पब्लिकले त्यही रुचाउँछन् । एग्रेसिभ भए पनि मेरो भाषणमा विषयवस्तु हुन्छन् ।

सपना
 नेपाल सबै नेपालीको बनोस्, देशमा सबै नेपालीप्रति समान व्यवहार होस्, अधिकार र पहिचान सबै नेपालीले पाऊन्, देशमा सुशासन र समृद्धि होस् भन्ने मेरो सपना हो । यो प्राप्तिका लागि म लागिपरेको छु । नेपाल सबै नेपालीको बनाउनुपर्छ ।

मृत्यु
 अन्तिम सत्य भनेकै मृत्यु हो । यो संसारमा आएको छ भने त्यसले एक दिन जानैपर्छ । यसमा कुनै दुविधा छैन । मैले जे कर्म गरेको छु त्यो भने मरेपछि पनि बाँकी रहन्छ । त्यसैले पनि राम्रो कर्ममा छु ।

रोगी भएर, दुःख पाएर, ओछ्यानमा थलिएर मर्नु नपरोस् भन्छु । जहिलेसम्म बाँचिन्छ स्वस्थ भएर बाँच्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसका लागि बानी व्यवहार, खानपिन, व्यायाम हरेक कुरामा ध्यान दिँदैछु । अरूका लागि  पनि यही सुझाएँ ।

Facebook Comments Box
error: Content is protected !!