एमसीसीसँग नेपाल ३८ रनले पराजित

1 min read

काठमाडौं : नेपाल भ्रमणमा रहेको इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपाली यू–१९ क्रिकेट टिम पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको एक दिवसीय क्रिकेटमा नेपाली यू–१९ क्रिकेट टिम ३८ रनले पराजित भएको हो।

नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि पहिलो ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनायो। उसका तिन ब्याट्स्म्यानले अर्धशतक बनाए।ओपनर वील रोड्स्ले सर्वाधिक ९३ रन जोडे। उनले ४ छक्का र १३ चौका हिर्काएका थिए। त्यस्तै टोम वेट्लीले र माइल्स हामोन्डले समान ६५ रन बनाए।

नेपालका लागि शेर मल्ल र सागर ढकालले समान २/२ विकेट लिए भने आकाश चन्द र कुशल मल्लले १/१ विकेट हात पारे। त्यस्तै हरि चौहानले क्यालम ज्याक्सनलाई रनआउट गरे।

३३५ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको नोक्सानीमा २९६ रन जोड्यो। विशाल लक्ष्य पछ्याएको नेपालका लागि हरि चौहानले अर्धशतक बनाए। उनले ६० बलको सामना गर्दै १ छक्का र ५ चौकाको मद्दतमा ५२ रन जोडेका हुन्। त्यस्तै ओपनर रित गौतमले ४५ रनको योगदान गरे।

नेपाललाई सम्मानजनक योगफलमा पुर्‍याउन आकाश चन्द र अरुण ऐरीले समान ३० रन जोडे भने शेर मल्लले नटआउट २८ रन जोडे। मल्लले २४ बलमा ३ चौका हिर्काए।नेपालले ३७ रन एक्स्ट्रा पाएको थियो।

Facebook Comments
error: Content is protected !!