म ओरिजिनल माओवादी चाहिँ होइन : प्रचण्ड

1 min read

काठमाडौं। लामो समय माओवादी पार्टी तथा दश बर्षे सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले विस्तारै आफ्नो भित्री पोल खोल्न थालेका छन् । दश बर्षे शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले आज विराटनगरमा एक कार्यक्रममा बोल्दै आफु ओरिजिनल माओवादी नभएको बताए । माओवादलाई मार्ग निर्देशक सिद्धान्त मान्दै चिनियाँ नेता माओ त्सेतुङको दीर्घकालीन जनयुद्धको अभ्यास गरेर नेपालमा आफ्नो राजनीतिक स्थान सुरक्षित गरेका प्रचण्डले आफु माओवादी नभएको बरु चौथो महाधिवेशनको मदन भण्डारी भएको बताए।

करिब डेढ बर्ष अघि माओवादी पार्टीको विघटन गरेर तत्कालीन एमालेसँग पार्टी एकता गरेर माओवाद त्यागेका प्रचण्डले औपचारिक रुपमा भने पहिलो पटक आफु माओवादी नभएको बताएका हुन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो खुलासा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम, मसाल र माओवादी नभएको बताए।

उनले झापा वि’द्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । ‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ, तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन प्रचण्डले भने।

Facebook Comments
error: Content is protected !!