यी पुराना मन्त्रिलाई ह’टाएर भीम रावल र जनार्दन शर्मालाई मन्त्री बनाउने ओलीको तयारी

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी ओली ठूलो रस्साकस्सीका बाबजुद आफ्नो कुर्सी बचाउन सफल भएका छन् । अब साढे दुई वर्षसम्म उनी नै प्रधानमन्त्रीमा कायम रहनेछन् । पार्टीको चैत २५–३० मा हुने महाधिवेशनसम्म उनी अध्यक्ष पनि रहनेछन् । महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने सर्तमा ओलीले आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउन सफल भएका हुन् । सम्भवतः अब साढे दुई वर्षसम्म ओलीको राजीनामा मागिने छैन ।

प्रचण्डलाई पार्टी चलाउने एकल अधिकार दिइएको भनिए पनि ओलीको सहमति चाहिने उल्लेख भएकाले फेरि पनि किचलो उठ्ने सम्भावना पनि छँदैछ । अबको केही दिनभित्र प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । सम्भवतः निषेधाज्ञा सकिएपछि मन्त्रीहरू हेरफेर हुनेछन् । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली नेकपाको विवाद समाधान गर्ने कार्यदलका चार सदस्यलाई मन्त्री बनाउने मनस्थितिमा छन् ।

त्यसमध्ये विष्णु पौडेल पार्टीको महासचिव पनि भएकाले उनले मन्त्री नबन्ने इच्छा जाहेर गरेका छन् । यस्तै, शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री पनि भएकाले उनी केन्द्रमा मन्त्री बन्ने छैनन् । दुवै ओली पक्षीय कार्यदलका सदस्य हुन् । बाँकी चार कार्यदल सदस्यमध्ये प्रचण्ड पक्षका जनार्दन शर्मा र पम्पा भुसाल मन्त्री बन्ने निश्चित जस्तै छ । शर्माले गृहमन्त्री पाए जाने नत्र नजाने मनस्थिति बनाएका छन् । भुसाललाई भने राम्रो मन्त्रालयको जिम्मेवारी दिइने छ ।

माधवकुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे मन्त्री बन्ने निश्चित जस्तै छ । रावलले त शनिबार राति नै सामाजिक सञ्जालमा कार्यदलले दिएका सुझावअनुसार पार्टी अघि बढ्ने र विवाद समाधान हुने अपेक्षा गरेर मन्त्री बन्ने लाइन प्रस्ट पारेका छन् । केही दिनअघि बसेको सचिवालय बैठकअघि रावलले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्नो अडान राखेको बुझिएको छ ।

सुरेन्द्र पाण्डे भने अर्थमन्त्री मनाउने भए जाने तयारीमा छन् । वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा सम्भवतः पदमा नरहने बताइएको छ । भदौ २० गतेसम्म उनलाई राष्ट्रिय सभामा मनोनीत गरे मात्रै उनको पद टिक्ने छ । नत्र पुनर्गठनमा उनी फालिने बताइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गराउने भएका छन् ।-रासस

Facebook Comments
error: Content is protected !!