राष्ट्रपति र प्रधानमन्त्रीद्वारा टीका ग्रहण गर्न ‘इच्छुक’हरूलाई आह्वान !

1 min read

यसपालिको बडादसैंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफूकहाँ आउनेलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयले बडादसैंको अवसरमा टीका ग्रहण गर्न ‘इच्छुक’ विभिन्न पदाधिकारी र सर्वसाधारणलाई आह्वान गरेको छ।राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार विभिन्न ‘इच्छुक’ व्यक्तिहरूका लागि विजया दशमीका दिन असोज २१ गते शीतल निवासको गेट नं. १ खुल्ला रहनेछ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजेदेखि २ बजेसम्म सम्माननीय पदाधिकारी, उप-प्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सङ्घीय-संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभावहरूलाई टीका दिने कार्यक्रम तय गरेको छ।

त्यसैगरी, अन्य ‘इच्छुक’ सर्वसाधारणका लागि भने दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म राष्ट्रपतिले टीका दिने बताइएको छ। राष्ट्रपतिसँग टीका थाप्दा घुँडा मार्न लगाइएको भन्दै विवाद भएकोमा यसपालि सतर्कता अपनाइएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । सहसचिव भट्टराईले कसैलाई अनिवार्य नभनिएको र आउनेलाई लाइदिने कुरा भएको जानकारी दिए । उता प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिनेछन् । टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

Facebook Comments
error: Content is protected !!