नेपालले प्राविधिक क्षमता र संस्थाहरू पोलेर खाईसकेको छ – भीम उपाध्याय

1 min read

भीम उपाध्याय। बाढी, डुबान, पहिरो, वर्षातको पानी ब्यवस्थापन, खानेपानी ब्यवस्थापन, निर्माण तथा प्रोजेक्ट ब्यवस्थापन, ठेक्का तथा खरिद ब्यवस्थापन, घरायसी ढल ब्यवस्थापन, दिसा ब्यवस्थापन, नदी स्वच्छता ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, सडक दुर्घटना ब्यवस्थापन, सीमा तथा जग्गा ब्यवस्थापन, सरकारी धनसम्पत्ति, सरकारी जग्गा जमिन संरक्षण तथा ब्यवस्थापन, राष्ट्रिय सम्पत्ति ब्यवस्थापन जस्ता प्राविधिकीय ब्यवस्थापनमा देखिएको लथालिंगेपनाले नेपाल भन्ने देश प्राविधिक दृष्टिले बिश्वकै तन्नम् बनिसकेको, भैसकेको अवस्थामा रहेको प्रमाणित गर्दैन र?

सरकारको जलउत्पन्न प्रकोप नियन्त्रण विभाग खाइसकियो, जल तथा उर्जा आयोग वर्षौंदेखि कुम्भकर्णे निद्रामा छ । सहरबस्तिका समग्र चरित्र र समस्या हेर्ने, व्यवस्थित गर्ने कुनै सक्षम सरकारी प्राविधिक शक्तिशाली निकाय छैनन् । बजेट हत्याउन पाए सबै निकायहरू जे काम गर्न पनि कुस्ताकुस्ति गर्छन् र जसले सॉठगॉठ गर्न सक्छ उसले अर्थबाट सरोकार र विज्ञता नभएको निकायले पनि जति पनि वजेट हत्याउन सक्छ र मज्जाले ठेक्का लगाएर बजेट खर्च गर्छ । नेपालको भौतिक संरचना विकास संस्कृति एवं ब्यवहार विगत ३ दशकदेखि यस्तै यही रहदै आएको छ ।

तर, प्रकृति भने कुनै मूर्ख नेपाली नेता, प्राविधिज्ञ वा योजनाकार वा सरकारको आदेश निर्देशनले चल्दैन। प्रकृतिले आफ्नो काम निष्पक्ष तरिकाले गर्दै रहन्छिन् । अहिले नेपालीको बर्षेनीको निरन्तरको पुनरावृत्त प्राकृतिक बिपत्तिहरू भोगाई बिगतको कुकर्मको कुफल नै हो, यो भाग्य हामी आफैले वनाएका हौं ।
छैन अरूलाई कुनै दोष! जैसा करनी वैसा भरनी !

नेपाल विश्वमा नै उच्च विपद् उन्मुख मुलुक हो । बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औंमा छ भने जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथोमा। भूकम्पीय जोखिमका दृष्टिले ११ औंमा छ भने बहुप्रकोपीय विपद् जोखिमका दृष्टिले २० औंमा।
तर राज्यको यी कुनै कुरामा चिन्ता गांभिर्यता छैन। दैवको प्रकोप, दैवीप्रकोपको अगाडी मानिसको केही चल्दैन भन्ने दर्शनले रामभरोसे चलिरहेको छ। कोरोनाले मरोस् कि बाढीले, डुबानले मरोस् कि भुकम्पले, आगलागीले मरोस् कि चट्याङले, सडक दुर्घटनाले होस्।

कि करेन्ट लागेर मरोस्, सर्पले टोकेर मरोस् कि भुस्याहा कुकुरले, आ त्मह त्या गरेर मरोस् कि रक्सीले, चुरोट खाएर मरोस् कि पिटपाट गरेर । मर्ने मरिरहन्छन्, काल आयो, मर्यो भन्यो बस्यो। निकम्माहरूको पेट पाल्न गरिबमाथि जाबो टिनको सानो बुकुरोको, कुखुरीको भालेको, बाख्राको पनि कर तिर्दै बेकामे बोझ राजनीति र प्रशासनलाई घिटिघिटी टिकाउन, जोगाउन, बचाउन र पाल्न परेको छ। महारोगीहरूको उपचार गरिगरी जिउदो राखेर आफूमाथि कुशासन गर्ने फुटेको कर्म बेहोर्नुपरेको छ। नेपालीको अहिलेको पुस्ता कुनै पूर्व जुनिको पापको फल भोगिरहेको हुनुपर्छ, मुक्तिको कुनै निकास पाउनै सकेनन्। ” पुर्व सचिव उपाध्याय हाल समाज परिवर्तनको लागि सामाजिक सन्जालमा समसामाहिक बिषयमा लेखन तथा विश्लेषण सक्रिय हुनुहुन्छ ।

Facebook Comments
error: Content is protected !!