अचम्मको विद्यालय : ९ जना शिक्षक छन्, एक जना पनि विद्यार्थी छैनन्

1 min read

धनुषा – विद्यालयमा विद्यार्थी र शिक्षक अनिवार्य हुन्छन् नै । तर धनुषामा एउटा यस्तो सामुदायिक विद्यालय छ, जहाँ शिक्षक मात्रै छन्, एक जना पनि विद्यार्थी छैनन् । धनुषाको हंसपुर नगरपालिकाको मोरहामा रहेको श्री आधारभूत विद्यालयको अवस्था हो, यो । विक्रम संवत् २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एक जना पनि विद्यार्थी छैनन् । तर ९ जना शिक्षक शिक्षिका कार्यरत छन् ।कक्षा ६ सम्म पढाइ हुने यो विद्यालयको रजिष्ट्ररमा २ सय विद्यार्थी पढ्ने गरेको तथ्यांक भने छ । तर आठ वटै कक्षाको विद्यार्थीको हाजिर कपि हेर्दा कुनै पनि दिन एक जना पनि विद्यार्थीको उपस्थिति देखिँदैन । यति मात्र होइन, कुनै–कुनै कक्षाको हाजिर कपिमा असोज महिनाको हाजिरी सूचीका लागि ‘इन्ट्री’ समेत गरिएको छैन ।
विद्यार्थी नै नभएपछि शिक्षकहरु विद्यालयमा सधैँ हाजिर गरेर आफ्ना घर फर्केर निजी काममा लाग्छन् । गएको मंगलबार दिउँसो २ बजे विद्यालय बन्द थियो । नजिकै रहेको रुखको छहारीमा केही स्थानीय थकाइ मार्दै थिए । त्यहीँ भेटिनुभयो विद्यालयका प्रधानाध्यापक रामविलास मण्डल ।विद्यालय किन बन्द भएको प्रश्नको जवाफमा उहाँले विद्यार्थी नरहेको र सबै शिक्षक हाजिरी गरेर आ–आफ्नो घर गएको बताउनुभयो । उहाँले तत्कालै विद्यालयको कार्यालय खोल्नुभयो । हाजिरी रजिष्ट्ररमा सबै शिक्षकको हाजिरी थियो ।


विद्यालयको शिक्षकको नामावलीमा प्रधानाध्यापक रामविलास मण्डल, शिक्षकहरु रामेश्वर रजक, रामबली पजियार, शिक्षिका गीता बराल मण्डल र बालविकास शिक्षिका शशिकला मण्डल उल्लेख भएको थियो ।विद्यालयमा एक जना पनि विद्यार्थी नहुँदा आन्तरिक स्रोतबाट विद्यालयले मनोमानी दुई जना शिक्षक नियुक्त समेत गरेको छ । हरिनारायण मण्डल र नागेश्वर मण्डललाई निजी श्रोतबाट राखिएको छ । यस्तै कार्यालय सहायकका लागि विल्टु मण्डललाई राखिएको छ ।विद्यार्थी नै नरहेको यस विद्यालयमा शिक्षकको तलबभत्ताबापत मासिक १ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

विद्यार्थीको नाम छ, तर हाजिरी छैन
विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भने जिज्ञासामा प्रधानाध्यापक मण्डलले भन्नुभयो, ‘केही विद्यार्थी आउँछन् ।’  तर हाजिर कपिमा हेर्दा एक जना पनि विद्यार्थीको हाजिरी भेटिएन कक्षा ८ मा २८ विद्यार्थीको नाम छ । तर असोज महिनाको हाजिरी हेर्दा एकजना पनि विद्यार्थीको उपस्थिति छैन ।  कक्षा ७ मा २१ जना, कक्षा ६ मा २० जना, कक्षा ५ मा १२ जना, कक्षा ४ मा १६ जना, कक्षा ३ मा ३०जना, कक्षा २ मा २६ जना, कक्षा १ मा ५२ जना र बालविकासमा १६ जना विद्यार्थीको नामाकारण रजिष्ट्ररमा देखिन्छ ।  तर एकजना पनि विद्यार्थीको हाजिरी भएको देखिँदैन ।

छिमेकी गाउँको विद्यालयमा पढ्न जान्छन् विद्यार्थी
मोरहा गाउँमै रहेको यो निम्न माध्यमिक विद्यालयमा नपढेर त्यहाँका बालबालिका छिमेकी गाउँ झटियाहीमा रहेको रामजानकी माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । रामजानकी माविबाट पढेर फर्केका विद्यार्थीले यस मोहार निमाविमा पढाइ नहुँदा छिमेक गाउँको विद्यालमा पढ्न जाने गरेको बताएका छन् ।

विद्यालयको वार्षिक आम्दानी २ लाख ९२ हजार
पढाइ नै नहुने यस विद्यालयको वार्षिक आम्दानी २ लाख ९२ हजार रुपैयाँ रहेको छ । विद्यालयको रहेको एउटा पोखरीबाट वार्षिक २ लाख ८० हजार र  १४ कठ्ठा उब्जाउ जग्गा ठेक्काबापत १२ हजार रुपैयाँ वार्षिक आम्दानी आउने गरेको प्रधानाध्यापक मण्डलले बताउनुभयो ।प्रधानाध्यापकको गुनासो : पढ्नै आउँदैनन् विद्यार्थीप्रधानाध्यापक मण्डलले विद्यार्थी नै पढ्न नआएको गुनासो गर्नुभभयो । ‘मैले पटक–पटक व्यवस्थापन समिति र अभिभावकहरुलाई भेटेर गुनासो गरेँ । तर कसैले वास्ता गरेनन् । सहयोग गरेनन्’, प्रअ मण्डलले सुनाउनुभयो ।

अभिभावक आक्रोशित
पढाइ नहुँदा बालबालिकालाई छिमेकी गाउँमा पठाउनु परेको बाध्यताले स्थानीय बासिन्दा शिक्षक र राजनीतिकर्मीहरुमाथि आक्रोशित छन् । विद्यालयमा राजनीति बढी हुन थालेपछि स्थानीयहरुले आ–आफ्ना बालबालिकालाई अर्कै विद्यालयमा पठाउन थालेको बताउँछन् ।‘शिक्षकहरुलाई राजनीति गर्नबाट फुर्सद छैन, पढाउँदैनन् । कसले आफ्नो छोराछोरी र बालबालिकाको भविष्य बिगार्छ ? त्यसैले हामी बालबालिकालाई छिमेक गाउँको विद्यालयमा पठाउँछौँ’, स्थानीय भुखनी देवीले अक्रोशित हुँदै भन्नुभो ।

हेर्ने कोही छैनन्
विद्यालय अहिले स्थानीय जनप्रतिनिधिको निगरानीमा छ । तर हंशपुर नगरपालिका जनप्रतिनिधि निर्वाचित समयदेखि विवादित छ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित मेयर रामज्ञाम मण्डल र रेणु झाबीच विवाद चल्दै आएको छ । नगरपालिकाको केन्द्र सार्ने विषयमा गएको साउनको २१ गते झडप हुँदा  एकजना स्थानीयको ज्यान समेत गइसकेको छ । त्यही स्थानीयको मृत्यु प्रकरणमा मेयर पक्षले उपमेयर र उपमेयर पक्षले मेयरमाथि किटानी जाहेरी दिँदा अहिले दुवै जना फरार छन् ।

यसो भन्छ शिक्षा विकास समन्वय इकाई
यस विद्यालयको विषयमा जिल्लाको शिक्षा क्षेत्रमाथि निगरानी गर्ने शिक्षा विकास समन्वय इकाई अनभिज्ञ छ । इकाईका धनुषा प्रमुख बरखुप्रसाद रजकले  विद्यालयका प्रधानाध्यापकसँग बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
हंसपुर नगरपालिकामा समेत शिक्षा इकाई रहेकाले त्यस विद्यालयको अवस्थाको बारेमा जानकारी लिई जिल्लाबाट एक प्रतिनिधि पठाएर विद्यालयमाथि छानबिन गरी कारबाही गर्ने उहाँको भनाइ छ ।

Facebook Comments
error: Content is protected !!