कैलालीको ज्यूँदो ईतिहास : बद्रिनाथ भण्डारी

1 min read

दीर्घराज उपाध्याय :- मान्छे जिउँदो हुँदा उसंग कति सम्पत्ति थियो ? त्यसको चर्चा उ जिउँदो छँदासम्म मात्र हुन्छ । मरेपछि चर्चा हुने त उसले समाजका लागि के छोडेर गयो ? त्यो पो हो । संसार जित्ने महत्वाकांक्षा बोकेर हिँडेको नेपोलीयनले मृत्यु अघि भनेका थिए–मेरो मृत्युपछि सबैले देख्नेगरी मेरा हातहरुलाई झुड्याएर मेरो लाश लैजानु । अर्थात् संसार जित्ने महत्वाकांक्षी नेपोलियनले पनि संसारबाट खाली हात विदा भएको सबैले हेरुन । बुझुन । र जीवनको यो अन्तिम सत्यलाई आत्मसात गरुन । उनले मृत्युअघि भनेको अन्तिम वाक्यले पनि त्यही सन्देश दिन्छ । यो त भयो, नेपोलियनको कुरा ।

कुनै बेला कैलालीमा पनि यस्ता व्यक्तिहरु थिए, जो सूर्योदयदेखि सूर्यास्तसम्म अर्काको जमीनमा टेक्दैनथे । अर्थात जहाँ टेक्यो, त्यो उसैको थियो । नभए उसैको हुन्थ्यो ।तर तिनै व्यक्तिहरुको जीवनको उत्तराद्र्ध अत्यन्त पीडादायी भयो । र एउटा सानो घेरामा खुम्चिएर गुमनाम मृत्यु भोग्नु प¥यो ।तर समाजका लागि बाँच्नेहरु । र, जिउदो छँदा समाजका लागि सोच्नेहरुको त जीवन खेर जादैन ।  मृत्यु पर्यन्त पनि त्यस्ता व्यक्ति बाँचिरहन्छन, युगौयुगसम्म । मान्छेको मन र मस्तिष्कमा । कर्मयोगी मानिसका लागि सम्पत्ती, समय र उमेरले कुनै महत्व राख्दैन । बस कर्म गरिरहन्छन । गरिरहन्छन । त्यस्तै कर्मयोगी व्यक्ति हुन्, बद्रिनाथ भण्डारी ।

उमेरले शतक छुन लागिसक्यो । उनलाई सय वर्ष टेक्न पाँच वर्ष बाँकी छ । र उनको उर्जा र समाजसेवा गर्ने उत्कट चाहना भने अझै उस्तै छ । बद्रिनाथ भण्डारीको जन्म वि.स.१९८३ बैशाख २७ गते डोटीको निरौली गाँउ पञ्चायतमा भयो । कुञ्जरमणी भण्डारी र ईन्द्रादेवीका ६ सन्तान थिए । उनी काईला । उनका बुवाआमा खेतीपाती गर्थे । खान लाउन पुग्थ्यो । ११ वर्षको हुँदा अक्षरारम्भ गरेका उनले घरमैै कखरा शुरु गरे । पण्डित चुडामणीबाट बाह्रखरी सिके ।वि.स.१९९६ साल । उनी १३ वर्षका थिए । भतिजा डिल्लीराज भण्डारीसँग उनी काठमाडौं गए।

डिल्लीराज दरवार हाईस्कुलमा अंग्रेजी पढ्थे । उनी त्यही हाईस्कुलको मुन्तिर रहेको संस्कृत पाठशालामा अमरकोष घोक्थे । पुरै देश नेपाल भइसकेको थिएन । काठमाण्डौं मात्र नेपाल मानिन्थ्यो । एक वर्षको अध्ययनपछि उनी नेपालबाट मधेश फर्के । उनका जेठा बाको धनगढीको जालीमा जमिन्दारी थियो । उनी त्यही बस्थे । उनलाई त्यही बेला सरेटोले समात्यो । मलेरियालाई सरेटो भनिन्थ्यो । सरेटोबाट ज्यानै जोगाउन मुश्किल हुन्थ्यो । त्यसबाट बाँच्ने भाग्यमानी । झण्डै दुई वर्ष थलिएका उनी भाग्यमानी निस्किए । विस्तारै तंग्रिए । मधेशमा मलेरियाको डर । त्यही डरले मान्छे पहाड उक्लिन्थे । फेरि हिउँदमा मधेश झर्थे । उनी भने मलेरिया लागेपछि पहाड उक्लिएका थिए । मलेरिया ठिक भएपछि उनी बाख्रा चराउन जान थाले ।

पढ्ने रहर अधुरो भयो । उनका जेठा बाका जेठा छोरा रघुनाथ भण्डारी राणा सरकारका डिठ्ठा थिए । उनले राजापुरको भन्सारको ठेक्का लिएका थिए । बेलौरी भन्सारको ठेक्का पनि उनकै थियो । त्यतिबेला राणााहरुले भन्सार ठेक्कामा दिन्थे ।  ठेकेदारले कर उठाएर राणालाई बुझाउथे । भन्सार थिएन । मालपोत थिएन । भण्डारी नै भन्सार थिए । र मालपोत पनि । राणा सरकारका प्रतिनिधि पनि उनै थिए । बद्रिनाथ पहाडबाट फेरि मधेश झरे । र सोझै दाई रघुनाथलाई भेट्न राजापुर पुगे ।  त्यहाँ छदा उनको बिहाको कुरा चल्यो । दाईले बिहा गर्ने हो भनेर सोधे । उनले टाउको हल्लाए । हुन्न भनेनन ।

रघुनाथ दाईले भारत सिंगाहीमा कन्या भएको मात्र सुनाएन । मेघनाथ र कित्थु ओझाका हातमा पत्र दिएर उनलाई पनि संगै पठाए । पत्रमा बासुदेवी उप्रेतीलाई सम्बोधन गरिएको थियो । कैलाली र कञ्चनपुरको वन विभागका प्रमुख उप्रेतीसंग रघुनाथको राम्रो चिनाजानी थियो । उप्रेतीकी नातिनी कृष्णादेवी नै उनका लागि रोजिएकी कन्या थिईन । उप्रेतीले पत्र पढे । र नातिनी दिन राजी भए । बिहाको मिति तय भयो । उनीहरु तीनै जना घर फर्के । त्यसको केही समयपछि १२ लहरु र दुई घोडासहित बद्रिनाथको जन्त बिउसाहाबाट सिंगाही लाग्यो । जन्ति २० जना जति थिए । जन्ती एक दिनमा पहलवान गौडी । दोस्रो दिन सिंगाही पुगे ।
उनको उमेर १६ थियो । उनकी दुलही कृष्णादेवी नौ वर्षकी । बिहा के हो ? थाह थिएन । त्यसको ज्ञान नभई बिहा गरे । तर बिहा गर्दा उनी दंग थिए । सानै उमेरकी दुलही हुनाले  केही समयपछि उनलाई माईतीमै छाडेर आए ।

त्यसपछि उनी पढ्न दाइको ससुराली डोटीको पुन्ना गए । त्यहाँ भाषा पाठशाला थियो । उनले भाषा पाठशालामा ऐन श्रेस्ता र मध्यमा पढे । र लागे, काठमाडौं । जागीर खान राणाको दरवारमा चाकरी गर्नुपथ्र्यो ।उनी सहित ६÷७ जनाको समूह दिनहुँ दरवारका बाहिर गएर टहलिन्थ्यो । त्यहाँ हाजिर लगाउथे । अनि कैयौ दिनपछि दरवारको बार्दलीबाट बबर सम्शेरले उनीहरुलाई देखेपछि सोध्थे । यिनीहरु को हुन् ? किन आएका हुन् ? जागीर माग्न आएका हुन भनेर दरवारका कर्मचारीको जवाफपछि बबर सम्शेरले केहीलाई तत्काल जागीर दिन्थे । केहीलाई पछि आउन भन्थे ।

उनका केही साथीले बैदारको जागीर पाए । उनलाई भने दरवारको चाकरी गर्न मन लागेन । र हाजिर लगाउन जान छोडि दिए ।उनी काठमाडौंमा डेरा गरी बस्थे । त्यही बेला उनका भाई डिपी भण्डारी पढ्न काठमाण्डौं आए । उनका चिनेका एक जना साथी थिए, सीताराम खत्री । खत्री अंग्रेजीमा अब्बल थिए । भाई डिपीलाई अंग्रेजी सिकाउन उनले खत्रीलाई आफ्नै डेरामा बास दिए । त्यो पनि निशुल्क । शर्त थियो, भाईलाई अंग्रेजी सिकाउने ।उनका भाईले ६ कक्षा काठमाडौंबाट पास गरे । त्यसपछि हरीद्धार गएर एसएलसी गरे र देहरादुनबाट आईए । काठमाडौंबाट बिए । एमए । र विद्यावारिधी ।

उनका तिनै भाई पछि डा. डिपी भण्डारीका नामले चिनिए । भाई हरिद्धार गएपछि उनी बनारस गए । एसएलसी पास गर्ने धोको सहित । साथमा दुई जनासाथी थिए, बैतडीका ईन्द्रलाल र बिराटनगरका काफ्ले ।छ महिना ट्युसन पढेपछि त्यहाँ एसलसी दिन पाईन्थ्यो । मिहिनेत गर्ने त्यहि तयारीमा पास हुन्थे । उनका साथी ईन्द्र पास भए । काफ्ले फेल । उनी भने बीचमै पढाई छोडेर कैलाली फर्के ।२०१० सालमा उनका भाईहरु अलग भए । अंशबण्डामा भाईहरुलाई मौजा भाग परे । उनलाई बिउसाहाको मौजा भाग लाग्यो ।त्यसपछि उनको घुमफिर बन्द भयो ।  माइतीमा रहेकी पत्नी कृष्णादेवीलाई लिएर आए ।

बिहा गरेको केही वर्षसम्म उनीहरुबीच बोलचाल भएन । उनी बोल्न खोज्थे । उनकी दुलही भाग्थिन । १५ वर्षको उमेरमा उनकी पत्नीबाट पहिलो सन्तानका रुपमा छोरा जन्मिए । र पछि उनका दुई छोरा र दुई छोरी थप जन्मिए । उनलाई अंशमा १५ बिगाहा मिलेको थियो । उनले त्यसमा खेतीपाती शुरु गरे । गाईपालन गरे । मिहिनेत गरे । उत्पादन राम्रो भयो । त्यही बेचेर उनको आर्थिक अवस्था मजबुत हुँदै गयो । धनगढीमा पनि जग्गा जोड्दै गए । केही वर्षमै धनगढीमा ८ बिगाहा जग्गा जोडे । उनले दुई सय रुपैयाँ बिघा जमिन जोडेका थिए ।

उनी जमिन्दार त थिए । तर उनी र अरु जमिन्दारका बीचमा धेरै अन्तर थियो । उनले रवाफ देखाउँदैनथे । सरकारले महाजनी प्रथा अन्त्य गरेर महाजनहरुलाई नेपालबाटै निकालेको थियो । उनले नै महाजनका काम शुरु गरे । उनी गाँउभरीको खाद्यान्न किनेर बेच्थे ।२०२० सालमा उनले व्यवसायमा हात हाले । टुकटुके मील चलाउन थाले । त्यतिबेलासम्म नागरिकताको महत्व थिएन । र आवश्यकता पनि थिएन । मिल चलाउन नागरिकता चाहिन्थ्यो । उनले नागरिकता लिए । नागरिकता नम्बर थियो, २५ । अर्थात कैलालीमा नागरिकता लिने उनी २५ औं व्यक्ति थिए ।

जमिन्दारहरुको युग
त्यतिबेला जमिन्दारको जमिन्दारी र भूगोललाई तप्पा भनिन्थ्यो । कैलालीमा थुप्रै तप्पाहरु थिए । बोगटान तप्पा । रैकवार तप्पा । परिहार तप्पा । धनगढी रैकवार तप्पाका रुपमा चिनिन्थ्यो । त्यो बेला जमिन्दारको बोलवाला थियो । सरकार भने पनि उनै । कानून भने उनै । जमिन्दारले जे गर्थे । त्यही कानून हुन्थ्यो । मलवारा क्षेत्रमा मल्लहरुको जमिन्दारी थियो । मलवारा पश्चिम पनि थुपै्र जमिन्दारहरु थिए । छिमानन्द महतो, रामदिन महतो, देशराज महतो, कुकु चौधरी, माघु चौधरी पनि यस क्षेत्रका कहलिएका जमिन्दार थिए । उनीहरु पाँचै जनासंग हात्ती थिए ।

जमिन्दारहरुको हात्तीको खाना पनि गाउँलेले व्यहोर्थे । केही जमिन्दार राम्रा थिए । केही जमिन्दार बद्मास । र बदनाम पनि । सबैभन्दा बद्नाम र बदमास थिए, देशराज महतो । उनले जुन महिला मन पराए, त्यसलाई लैजान्थे । कसैले उनको प्रतिकार र प्रतिवाद गर्न सक्दैनथे । देशराज त गुण्डा थिए । उनले कसैको खसीबोका मन परे त्यो पनि छोड्दैनथे । उनको मुड ठिक भए, त्यसको पैसा दिन्थे । नत्र सित्तैमा लिन्थे ।उनी दुधुवा नेशनल पार्कमा रेल चढ्न जाँदा लस्कर सहित जान्थे । उनी आउने खवर पाएपछि रेल रोकिन्थ्यो । टीटीले राजा साहव आ रहे है भनेर रेल रोक्थे । रेलमै शिकार गर्थे ।

उनी शौखिन थिए । उनले आफ्नो घर पनि लखनउबाट कारिगर र निर्माण सामग्री ल्याएर बनाएका थिए । उनको घरमा काम गर्नेहरु लखनउबाट ल्याउथे ।उनले एक जना महिलालाई निर्मम तरिकाले मारे । त्यस घट्नालाई दवाउन देशराजले गुरुङ थरका थानेदारलाई दुई गाउँ दिए । पछि गुरुङ अवकाशपछि हसुलियामा नै बसे ।
मलवारा पश्चिममा अर्का कहलिएका जमिन्दार थिए, डिल्लीराज भण्डारी । जग्गा र गाउँका हिसावले उनी बराबर कोही थिएनन् ।  रघुनाथ भण्डारीको कैलालीमा १४०० बिगाहा जमिन थियो । उनको शेषपछि त्यो जग्गा र मौजाको मालिक भए, डिल्लीराज भण्डारी ।

तर उनी यही सिमित थिएनन् । उनको जमिन्दारीअन्तर्गत १६ गाँउ  थिए । त्रिनगर, हरैया, लालपुर, गेटा, जाली, डुमलिया, उर्मा, उर्मी, बौनिया, तारानगर (साडेपानी), झरोखा, थवही, बिक्राहा, पहलवानगौडीमा पनि उनको जमिन्दारी थियो ।उनका पहाडमा १२ गाउँ थिए । र मधेशमा १६ गाउँ । उनी पहाड जादा उनलाई पु¥याउन दर्जनौँ लहरुको लस्कर पहाडको फेदिसम्म पुग्थ्यो । र त्यहाँ उनको स्वागतका लागि पहाडका मान्छेहरु पहिलेदेखि नै तयार भएर बसेका हुन्थे । मधेश झर्दा पनि उनी लस्कर सहित झर्थे ।जमिन्दार मौजाका मालिकमात्र हुन्थेनन् । मौजाभित्र बस्ने सबै व्यक्तिका मालिक पनि हुन्थे ।

मौजाका मालिक मनमौजी हुन्थे । मनमर्जी गर्थे । जमिन्दारहरु राजा त थिएनन् । तर उनको जिन्दगी कुनै राजाको भन्दा कम हुन्थेन । उनीहरुको शान शौकत गजवको हुन्थ्यो ।यस्तै जिन्दगी बाँचेका थिए, डिल्लीराज भण्डारी । उनीमाथि आफ्नी श्रीमती मारेको आरोप लाग्यो । उनी केही दिन थुुनिए । सर्जिमनमा बस्नेहरुले उनले हत्या गरेको दावी गरे । पछि दोस्रो सर्जिमन भयो । उनीमाथि लागेका आरोपहरु पुष्टि भएनन्, र उनी छुटे । यद्दपि डिल्लीराज भण्डारीलाई यो घट्नाले मृत्युपर्यन्त पनि छोडेन ।

मृत्युअघि उनको त्यो बैभव र सत्ता रहेन । भूमिसुधार लागु भएपछि सरकारले उनीबाट जमीन खोस्यो । १४०० सय बिगाहाका मालिकसंग ५६ बिगाहा मात्र बच्यो । उनले यहीबीचमा बौनिया, जाली, निरौलीका विद्यालयहरुलाई सयौ बिगाहा जमिन दिए । भनिन्छ, खड्कबहादुर सिंहले डिल्लीराज भण्डारीकै जग्गा सरकारीकरण गर्न भूमि सुधार ऐन ल्याए । पहिले भण्डारी र सिंहबीच राम्रो सम्बन्ध थियो । पछि सम्बन्ध बिग्रियो । सिंह भूमि सुधारमन्त्री भए । र मन्त्री भएपछि सिंहले भूमि सुधार ऐन ल्याए । त्यसको सबैभन्दा ठूलो असर भण्डारीलाई पर्यो । भण्डारीलाई तह लगाउन सिंहले भूमि सुधार ऐन ल्याएको आरोप लगाउनेहरु पनि छन् ।

जमिन्दारहरु राणा शासकका लागि काम गर्थे । पोत उठाउथे । उठाएको कर शासकलाई बुझाउँथे । जमिन्दारहरुले पटवारी राख्थे । पटवारीले पोत उठाउने काम गथ्र्यो । उसले त्यो काम वाफत मासिक तीन रुपैयाँ पाउथ्यो । र जमिन्दारले पाँच रुपैयाँ । एक बिगाहा जग्गाको तीन रुपैया १३ आना पोत उठाईन्थ्यो । गाउँभरिको पोत उठाएर जमिन्दारले सरकारलाई बुझाउनुपथ्र्यो । पोत उठाउन नसके उसको जमिन्दारी खोसिन्थ्यो । पोत उठाउन नसक्ने थुप्रै राना जमिन्दारको जमिन्दारी खोसिएको थियो ।

उहिलेको कैलाली र कञ्चनपुर
कैलाली र कञ्चनपुरमा रानाहरुको वस्ती थियो । तर रानाहरु एक ठाउँमा लामो समय बस्थेनन् । उनीहरु सरिरहन्थे । नेपालबाट थुपै्र रानाहरु भारतमा बसाई सरे । मलेरियाको प्रकोप रहुञ्जेल तराईमा बसाई सरेर आउनेहरु खासै हुन्थेनन् । सरकारले अमेरिकाको सहयोगमा २०१७ सालमा डिडिटी पाउडर छर्केपछि मलेरिया नियन्त्रणमा आयो । र त्यसपछि मधेशमा पहाडबाट झर्ने क्रम तिब्र भयो ।
२०२३ सालमा राजा महेन्द्रले चारकोशे लालझाडी बन फाँडेर बस्ती बसाए । बिभिन्न जिल्लाबाट मान्छेहरु यहाँ कञ्चनपुरमा आए ।पहिले कैलाली र कञ्चनपुर एउटै गोश्वाराअन्तर्गत थिए । सदरमुकाम थियो, बेलौरी ।

२०१५ सालको निर्वाचन हुँदा दुवै जिल्ला एउटैमा थिए । यहाँका उम्मेदवार थिए, लोकेन्द्र बहादुर शाह । जिल्ला अलग भएपछि धनगढी सदरमुकाम भयो । कैलालीमा त्यतिबेला चलेका बजार थिए, मालाखेती, चौमाला, सत्ती, भजनी ।
त्यसबेला कारागार, अञ्चलाधीश र सेती अञ्चल अस्पतालको पक्की भवन थियो । त्यसबाहेक धनगढीमा पक्की घर थिएन । फुसका छाप्रा थिए । सदरमुकामको बाटोमा बर्षायाममा हिलोले गोरु गाडा पनि गुड्न सक्थेनन् । बजारमा दिउँसै स्याल भेटिन्थे ।

कैलाली जंगलैजंगल थियो । र गाउँहरु टाढा टाढा थिए । एक गाउँबाट अर्को गाउँ जान जंगल पार गर्नुपथ्र्यो । गाउँबाट धनगढी आउन बाटोमा पर्ने जंगलमा बाघको डर हुन्थ्यो । त्यसले मान्छेहरु एक्लो हिँड्दैने । ७० वर्ष पुरानो धनगढी फर्केर सम्झिदा उनी चकित पर्छन । ओहो, समय कति फेरिएछ । कति विकास भएछ । दंग पर्छन । मनमनै भन्छन्, विकास त भएकै हो ।

समाजसेवामा बद्रिनाथ
सरकारले २०२१ सालमा महाजनी प्रथा अन्त्य ग¥यो । महाजनहरु भारतीय थिए । अधिकांश बरेलीका मुसलमानहरु । उनीहरु वर्षभरि गाउँलेलाई नून, तेल र घरायसी सामग्री दिन्थे । र त्यसवाफत बाली भित्र्याएपछि खाद्यान्न उठाउथे । प्रत्येक गाउँमा महाजन हुन्थे । महाजनी प्रथा उन्मुलन गरेपछि उनीहरुले पाउनु पर्ने पैसा उठाएर दिनुपर्ने भयो । सरकाले त्यसको जिम्मेवारी पञ्चायतका सभापतिलाई दियो । प्रत्येक गाउँबाट खाद्यान्न उठाएर धर्म भकारीमा राखिन्थ्यो । अनि त्यसलाई बेचेर महाजनको कर्जा तिर्न थालियो । उर्मा गाँउ पञ्चायतका सभापतिले यो काम गर्न सकेनन । र त्यो पद बद्रिनाथ भण्डारीलाई सुम्पिए । यसरी उनी निर्वाचित नभएरै २०२२ सालमा उर्मा गाँउ पञ्चायतमा पहिलो पटक सभापति भए । उनी त्यसपछि दुई पटक चुनाव जितेर सभापति भए । एक पटक हारे । पछि फेरि जिते । २०४१ सालसम्म उनी गाउँ पञ्चायत सभापति भए ।

पञ्चायत सभापति भएदेखि नै उनी समाजसेवामा सक्रिय भईसकेका थिए । सभापतिको तलव हुन्थेन । गाँउ पञ्चायतलाई गाडाकर र घर कर उठाउने अधिकार थियो । उनले दुई÷दुई रुपैया कर उठाउँथे । नी घोडा चढ्न सौखिन थिए । जुन बेला एक बिगाहा जग्गाको मूल्य तीन सय रुपैया थियो । उनले त्यो बेला ७ हजारमा बाजुराबाट जुम्ली घोडा किनेका थिए । उनको घोडा चढ्ने सौख २०४१ सालसम्म रह्यो । त्यसपछि भने घोडा चढ्न छोडे ।

उनले सभापति भएपछि श्रमदानबाट बाटो बनाए । तीन वटा स्कुल बनाए । डोटी निरौलीमा ६ कोठाको विद्यालय भवन बनाए । २०३७ सालमा कैलाली बहुमुखी क्याम्पस सञ्चालनका लागि एक हजार रुपैया सहयोग गरे ।  धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीको १३ वर्ष अध्यक्ष भएर सेवा गरे । मन्दिर परिसर भित्रको भवनको माथिल्लो तलामा आमाको नाममा बाचनालय बनाए । वडा नम्बर २ को रेडक्रस सोसाईटीको भवन निर्माणका लागि ११ धुर जमीन दिए । उनकै सहयोगले बैयाबेहडीमा बद्रिनाथ सामुदायीक भवन बन्यो । जसका लागि उनले एक कठ्ठा जमीन दिए ।

उनले कैलाली र डोटीका विद्यालय, पुस्तकालय, सामुदायीक अध्ययन केन्द्र, मन्दिर, साहित्यिक संस्था, सामाजिक संघसंस्था गरी झण्डैतीन दर्जन संस्थामा लाखौरुपैया सहयोग गरेका छन् । पुरस्कार र अक्षयकोष स्थापनामा समेत उनले लाखौं रुपैया सहयोग गरेका छन् ।डेढ दर्जनभन्दा बढि संघसंस्थामा आबद्ध उनी सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गरे वाफत दुईदर्जन भन्दा बढि संघसंस्थाबाट  सम्मानित भएका छन् । उनले कमाएको पूँजी यही हो । जीवनभर जोडेको घरजग्गा र सम्पत्तीबाट भन्दा पनि उनी सामाजिक क्षेत्रबाट पाएको सम्मान र कदरबाट सन्तुष्ट छन् ।

उनले धनगढीको बैयाबेहडीमा रहेको शारदा माध्यमिक विद्यालयलाई मात्रै १० लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन् । यसैगरी, विभिन्न विद्यालय, मठमन्दिर लगायतलाई उनले सहयोग गरेका छन् । उनले आफूले जीवनमा जोडेको सबै जग्गा,जमीन र सम्पत्ति छोराहरुलाई अंशबण्डा गरेर सुम्पीसके । बैंकको खातामा रहेको केही लाख रुपैयाको व्याजबाट उनले आफ्नो खर्च चलाउँछन् । र त्यही रकम समाजसेवामा लगाउँछन् । र उनी सास छदै बैंकमा रहेको बाँकी रकम पनि समाजसेवामा लगाउन चाहन्छन । साँचेर जाने त कृति पो हो । धन साँचेर को अमर भएको छ । उनले यही कुरा आत्मसात गरेका छन् ।

उनकी पत्नी कृष्णादेवीको २०६९ सालमा निधन भयो । पत्नी बियोगमा पनि उनले आफूलाई सम्हाले । र स्वर्गीय पत्नीको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गरे । परिस्थिति प्रतिकुल र पीडादायी भएपनि उनी बिचलित भएनन । समाजसेवा नै पीडामा मल्हम बन्यो ।

कैलालीको विकासका साक्षी

उनी धेरै पढेनन । परिस्थिति र समयले पढ्ने चाहना पुरा हुन दिएन । तर उनी कैलाली र डोटीको ईतिहास र बिकासक्रम बुभ्mन चाहनेहरुका लागि विश्वविद्यालय हुन् । उनी कैलालीको ज्यूँदो ईतिहास हुन् । र हुन्, कैलालीको विकासको साक्षी । उनले राणा शासन भोगे । २००७ सालको प्रजातान्त्रिक आन्दोलन देखे । २०१५ सालको पहिलो निर्वाचनमा उनले भाग लिए । डोटीमा उनका दाई हिरालाल भण्डारी काँग्रेस पञ्चायतका तर्फबाट उम्मेदवार थिए । र नेपाली काँग्रेसका उम्मेदवार शिवराज पन्त । उनका दाईलाई पन्तले भारी अन्तरले हटाए । काँग्रेसको लहरमा उनका दाई नराम्ररी पराजीत भए ।

उनले २०१७ साल देखे । २०३६ को जनमत संग्रहमा भाग लिए । २०४७ को आन्दोलन नजिकबाट हेरे । माओवादीको १० वर्षे सशस्त्र संघर्ष र २०६२÷६३ जनआन्दोलन त अझै ताजै छ । सबै परिवर्तकारी आन्दोलन, बिद्रोह र व्यवस्था परिवर्तन उनकै आँखा अगाडि भए । भन्छन्, व्यवस्था अहिलेको ठिक । अवस्था पुरानै ठिक । विकास त भयो । अहिले खुलेआम भ्रष्टाचार र लुट छ । पहिले यतिसाह्रो लुट र बेथिति थिएन ।

९५ वर्षको उमेरमा पनि उनी थाकेका छैनन् । गलेका छैनन् । उनी आफ्नो काम आफै गर्छन । उनलाई कसैको सहारा चाहिदैन । आँखाको शक्ति उस्तै छ । यो उमेरमा पनि उनका आँखाले चश्मा खोजेका छैनन । अक्षर चिन्छन । पढ्न सक्छन । लेख्न सक्छन । कहिलेकाही सामान्य बिरामी भएपनि अस्पतालमै भर्ना हुनु पर्ने गरी बिरामी भएका छैनन । रिस, राग,छलकपट, ईष्र्या नराख्नु ।  कसैलाई बिगार हुने काम नगर्नु । सूर्योदय हुनुअघि उठ्नु । सूर्ति, मदिरा, चुरोट नखानु । सत्कर्म गर्नु । यति गरे, मान्छे रोगी हुदैन । स्वस्थ रहनका लागि उनका टिप्स हुन ।
एउटै समस्या छ, निन्द्रा नपर्ने । उनी धेरै सुत्दैनन । कतिपय कुरा बिर्सिन्छन । तर पनि समाजसेवा भने बिर्सिदैनन् । यो उमेरमा पनि उनको समाजसेवा प्रतिको लगाव र रुचि साच्चिकै अनुकरणीय छ ।

उनी धर्ममा विश्वास गर्छन । भगवानलाई मान्छन । उनी भन्छन्, धर्मो रक्षति रक्षत । धर्मको रक्षा गरे । धर्मले सबैको रक्षा गर्छ । िन्दू धर्ममाथि आक्रमण भएकोमा उनी चिन्ता गर्छन । र देशलाई हिन्दू राष्ट्र बनाउनुपर्नेमा जोड दिन्छन । नेपालीको पहिचान हो, हिन्दु धर्म । धर्मले भन्छ, सञ्चय गरेर नराख । मान्छेमात्र यस्तो प्राणी हो । जसले सञ्चय गर्छ । सञ्चयले मोह जगाउछ । उनको ब्रह्मले भन्छ, मन सञ्चयमा अल्झिएपछि मृत्युपछि मुक्ति मिल्दैन । एउटा चन्द्रमाले सम्पूर्ण अँध्यारो हटाउँछ । ताराहरु हजारौ भए पनि अध्यारो हट्दैन । अध्यारो हटाउन नसक्ने ती ताराहरुको के काम ? उनको चाहना छ, आफ्ना सन्तानहरुले पनि चन्द्रमा झै उज्यालो छरून् । र त, सन्तानको हकमा उनी भन्छन्, सन्तान एउटै होस । कृति राखोस् ।

Facebook Comments
error: Content is protected !!